”मनै नेपाली, तनै नेपाली !
कला-संस्कृतिमा, धनी नेपाली !”
भन्ने संस्थाको ल्होछार लक्षित मूल नारालाई सफलीभूत बनाउन गत जनवरी ३,२०२६ शनिवार साँझ अमेरिकाको म्यासाच्युसेट्स राज्यमा रहेका गुरुङ समुदायको संस्था बोस्टन तमु समाज निकै खटाइमा थियो। संस्थाले उक्त साँझ विगतमा झैं ‘तमु ल्होछार’ को अवसर पारेर ‘२४औं बोस्टन तमु ल्होछार’ कार्यक्रमको आयोजना गरेको थियो। आफ्नो समुदाय, संस्था, नेपाल र नेपालीको गर्विलो इतिहास र गरिमालाई थप उचाइमा पुर्याउन आयोजकले भरमग्दूर प्रयास गर्यो।

कार्यक्रमको मुख्य उद्देश्य नेपालमा रहेका विभिन्न जातजातिहरुको भाषा, धर्म, चाड पर्व, भेषभुषा, संस्कृति, परम्परा, रितिरिवाज आदिको संरक्षण, सम्वर्धन र प्रवर्धन गर्नुका साथै मनोरञ्जन गर्दै आपसी भाइचाराको सम्बन्धलाई थप कसिलो र रसिलो बनाउने रहेको थियो।
नेपाल, नेपाली, गुरुङ तथा अन्य नेपाली जातजातिहरुको पहिचान झल्काउने कार्यक्रम स्थलको सजावट, भेषभुषा, नेपाली साङ्गीतिक कार्यक्रम, नेपाली गीत सङ्गीत, नेपाली स्वादका स्वादिष्ट परिकारहरु आदिले बनाएको नेपाली माहोलमा खुलेर नेपाल गुन्जिएको थियो।

कार्यक्रमको मुख्य आकर्षण विविध साङ्गीतिक कार्यक्रम रहेको थियो। कार्यक्रमको प्रारम्भमा नेपाल र अमेरिकाको राष्ट्रिय गान गाएर दुबै देश र जनताप्रति श्रध्दा प्रकट गरिएको थियो। विविध साङ्गीतिक कार्यक्रम सुरु गर्नु अघि धर्म गुरु लामा सोनामद्वारा धार्मिक पाठ गराएर आफ्ना पूर्खाहरुलाई स्मरण गर्दै श्रध्दा अर्पण गरिएको थियो।

स्वागत मन्तव्य व्यक्त गर्दै अध्यक्ष रोबिन गुरुङ।
कार्यक्रमलाई अगाडि बढाउने क्रममा संस्थाका अध्यक्ष रोबिन गुरुङले अतिथि, कलाकार, सहयोगी, सहभागीहरु लगायतलाई कार्यक्रम आयोजक संस्था बोस्टन तमु समाजको तर्फबाट स्वागत गर्दै तमु ल्होसारको शुभकामना व्यक्त गरेका थिए।

साङ्गीतिक कार्यक्रमको पहिलो कोसेली स्वरुप संस्थाका सल्लाहकार सरदमणि गुरुङको रचना एवम् सङ्गीत रहेको दुइवटा गीत सार्वजनिक गरिएको थियो। ति गीतहरु चर्चित गायक जगदीश समाल र गायिका सपनाश्री परियारले गाएका थिए।
कार्यक्रमको दौरानमा स्थानीय कलाकारहरुले गुरुङ समुदायको अलावा नेपाली, नेवारी, तामाङ, तिब्बती लगायत भाषामा बनेका गीतहरुमा आफ्ना प्रस्तुतिहरु पस्किएका थिए। साङ्गीतिक कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाउन चर्चित गायक जगदीश समाल र गायिका सपनाश्री परियारले महत्वपूर्ण योगदान गरे। उनीहरुले नेपाल र नेपालीलाई सम्मान प्रकट गर्न ‘रातो र चन्द्र सूर्य, जङ्गी निशान हाम्रो…’ गीत गाउदा सहभागीहरु सभावुक हुदै नेपालप्रति श्रध्दा अर्पण गरेका थिए। उनिहरुले पुरानो चर्चित गीत ‘उनको प्रिति पहिले हो कि मेरो प्रिति पहिले …’ बोलको गीत गाएर साङ्गीतिक माहोललाई थप तताएका थिए। कलाकारहरुले एकपछि अर्को आफ्ना बेजोड प्रस्तुतिहरु प्रस्तुत गर्दै गर्दा सहभागीहरुले पनि साथ दिदै भरपूर मनोरञ्जन लिएका थिए।





उपाध्यक्ष :कला(आरती)गुरुङ धन्यवाद मन्तव्य व्यक्त गर्दै।
मञ्चबाट प्रस्तुत गर्न तय गरिएका साङ्गीतिक कोसेलीहरु सकिएपछि संस्थाकी उपाध्यक्ष कला(आरती) गुरुङले कार्यक्रम सफल बनाउ साथ दिने र सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरिन्। उनले धन्यवाद सम्बोधन गर्ने क्रममा, कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकोमा निकै खुशी प्रकट गर्नुका साथै सरोकावालाहरु सबैलाई धन्यवाद व्यक्त गरेकी थिइन्।


रोजित गुरुङ, सुजिता गुरुङ, अनमोल गुरुङ, प्रशीत गुरुङ, रोज्मि गुरुङ र शेवि गुरुङले संयुक्त रुपमा सञ्चालन गरेको कार्यक्रममा, डिजेको भूमिका सन्दिप भट्टराईले कुशलता पूर्वक निर्वाह गरेका थिए।
कार्यक्रममा नेपालीपन तथा पहिचान झल्किने विभिन्न नेपाली स्वादका परिकारहरुको पनि व्यवस्था गरिएको थियो। सहभागीहरुले साङ्गीतिक माहोलमा स्वादिष्ट परिकारहरु खादै, नाच्दै, गाउदै, रमाउदै आपसमा शुभकामना समेत आदानप्रदान गरेका थिए।


संस्थाका अध्यक्ष रोबिन गुरुङले प्रतिक्रिया दिदै कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकोमा खुशी व्यक्त गरे। कार्यक्रम अपेक्षा गरिएको भन्दा बढी व्यवस्थित र गुणस्तरीय रहनुका साथै लक्षित उद्देश्यहरु प्राप्त गर्न सफल रहेको संस्थाको ठम्याई रहेको उनले बताए। अध्यक्ष गुरुङले सबैको साथ र सहयोगमा कार्यक्रम सफल बनाउन सम्भव भएको टिप्पणी गर्दै सबैलाई धन्यवाद सहित आभार प्रकट गरे। सहभागीहरुले पनि कार्यक्रम अत्यन्त आकर्षक, मनोरञ्जनात्मक, सभ्य, भव्य र नेपालमय भएको प्रतिक्रिया दिदै आयोजकलाई धन्यवाद दिएका छन्।
दुइ नेपाली गीत सार्वजनिक, गीतका स्रष्टाहरु सम्मानित

‘२४औं बोस्टन तमु ल्होछार’ कार्यक्रमको अवसर पारेर बोस्टन तमु समाजले तयार पारेको दुइ वटा नेपाली गीत ‘पातालैमा आकाशैमा लाग्यो इन्द्रेनी…र शिरमा टोपी कम्मरमा पेटी…’ सार्वजनिक गरिएको थियो। नेपाली गीत सङ्गीतको संरक्षण, संवर्धन र प्रवर्धन गर्न सक्दो भूमिका निर्वाह गर्ने उद्देश्यले संस्थाद्वारा उक्त गीतहरु निर्माण गरी सार्वजनिक गरिएको संस्थाले जनाएको छ। उक्त गीतहरुलाई गायक जगदीश समाल र गायिका सपनाश्री परियारले गाएर सार्वजनिक गरेका थिए। गीत निर्माण गर्ने संस्था बोस्टन तमु समाजले उक्त गीतहरुका स्रष्टाहरुको योगदानको कदर गर्दै रचना तथा सङ्गीतकार सरदमणि गुरुङ, गायक जगदीश समाल र सपनाश्री परियारलाई सम्मान गरेको थियो। निकट भविष्यमै उक्त गीतहरुलाई छायाँङ्कन गरिने योजना रहेको संस्थाले जनाएको छ।
कार्यक्रमका केही तस्बिरहरु :
















प्रतिक्रिया