मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
बोस्टन   
मनोरञ्जन   
मुख्य समाचार   

बोस्टनमा ‘तमु ल्होछार साँझ-२०२५’ सम्पन्न(फोटो फिचरसहित)

बोस्टनमा ‘तमु ल्होछार साँझ-२०२५’ सम्पन्न(फोटो फिचरसहित)

कार्यक्रम स्थल नेपालमय बन्न पुग्यो


बोस्टन, अमेरिका। नेपाली पात्रो अनुसार यस वर्ष ‘तमु ल्होछार’ यही आउदो पौष १५ गते अर्थात डिसेम्बर ३० तारिख मङ्गलवारका दिन परेको छ। यस दिनलाई नेपाल लगायत विश्वभर छरिएर रहेका गुरुङ समुदायले आफ्नो विशेष पर्वका रुपमा मनाउने गर्दछन्।

Advertisement

यस दिनदेखि गुरुङ समुदायको नयाँ वर्ष शुभारम्भ हुन्छ।यस पटक गुरुङ समुदायले ‘‘सप्ह्री ल्हो(सर्प वर्ग)वर्षलाई विदाइ गर्दै त ल्हो (घोडा वर्ग) वर्षलाई स्वागत गर्दै छन्। आफ्नो जातीय पन तथा पहिचान बोकेको यस मौलिक चाडलाई हर्षोल्लासका साथ मनाउन गुरुङ समुदायले केही दिन अघिदेखि नै समय अनुकुलताका आधारमा विविध क्रियाकलापहरु तथा कार्यक्रमहरु गरिरहेका छन्। यसैसिलसिलामा, अमेरिकाको बोस्टन सहर स्थित बोस्टन गुरुङ समाजले हिजो डिसेम्बर २७,२०२५ शनिवारका दिन तमु ल्होछार विशेष कार्यक्रम ‘ल्होछार साँझ-२०२५’ भव्यताका साथ सम्पन्न गर्यो। सन् २०१७ मा स्थापना भएको यस संस्थाले हरेक वर्ष तमु ल्होछारको अवसरमा गर्दै आएको कार्क्रमलाई यस वर्ष पनि निरन्तरता दिएको हो।

”प्ये म्हस्याँ छ्या म्हमु,
छ्या म्हस्याँ ल्हुँ म्हमु,
ल्हु म्हस्याँ म्ही म्हमु ।”

अर्थात,
”शास्त्र हराए संस्कार हराउछ,
संस्कार हराए संस्कृति हराउछ,
संस्कृति हराए मानव अस्तित्व नै हराउछ।”

भन्ने मूल सन्देशका साथ आयोजित कार्यक्रम, संस्थाका अध्यक्ष सर्मेन गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो।

विशेषतः गुरुङ समुदायको भेषभुषा, भाषा, धर्म, संस्कृति, परम्परा, रितिरिवाज, चालचलन आदिको संरक्षण, सम्वर्धन एवम् प्रवर्धन गर्ने र मनोरञ्जन गर्दै आपसी सामुदायिक एकतालाई थप मजबुत बनाउने कार्यक्रमको मुख्य उद्देश्य राखिएको थियो।

कार्यक्रम स्थलको सजावट, नेपाली तथा गुरुङ समुदाय केन्द्रीत गीत सङ्गीत, कलाकारहरुको प्रस्तुतिहरु, भाषा, भेषभुषा, खानपानको व्यवस्था आदिले कार्यक्रम स्थल निकै रौनकमय र नेपालमय बनेको थियो। आफ्ना दिवङ्गत पुर्खाहरुलाई स्मरण गरी श्रध्दा अर्पण गर्दै शुभारम्भ गरिएको कार्यक्रममा, नेपाल र अमेरिकाको राष्ट्रिय गान गाएर सहभागीहरुले सम्मान प्रकट गरेपछि विविध साङ्गीतिक कार्यक्रमको पर्दा खोलिएको थियो।

कलाकारहरुले आफ्ना आकर्षक प्रस्तुतिहरु पस्कनु अघि संस्थाका अध्यक्ष सर्मेन गुरुङले स्वागत मन्तव्य व्यक्त गर्दै कार्यक्रमका अतिथि, सहयोगी, कलाकार तथा सहभागीहरुलाई संस्थाको तर्फबाट स्वागत गरेका थिए।

 

विविध साङ्गीतिक कार्यक्रमको पहिलो कोसेली स्वरुप कलाकारहरुले गुरुङ भाषाको गीतमा गुरुङ समुदायको पहिचान बोकेको विशेष नृत्य ‘सोरठी’ प्रस्तुत गरेका थिए। यसैगरी, विविध साङ्गीतिक कार्यक्रमको क्रममा कलाकारहरुले गुरुङ समुदायको अलावा नेपाली, तामाङ, तिब्बती लगायत भाषामा बनेका गीतहरुमा आफ्ना प्रस्तुतिहरु पस्किएका थिए। मञ्चबाट कलाकारहरुले एकपछि अर्को आफ्ना बेजेड कलाहरु प्रस्तुत गर्दा सहभागीहरुले उल्सासका साथ गाउदै, नाच्दै र रमाउदै कलाकारहरुलाई साथ दिएका थिए।


कार्यक्रमको अन्तिम चरणमा उपाध्यक्ष सरिता गुरुङ खड्काले कार्यक्रममा सहभागी भएका अतिथि, सहयोगी, कलाकार, सहभागीहरु लगायत अहोरात्र खट्ने संस्था परिवारलाई धन्यवाद व्यक्त गरेकी थिइन्। उनले सम्बोधनको क्रममा, कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकोमा निकै खुशी प्रकट गरेकी थिइन्।

सन्तोष गुरुङ, निसा गुरुङ, सरस्वती गुरुङ र अनुशा गुरुङले संयुक्त रुपमासञ्चालन गरेको कार्यक्रममा, कलाकारहरुको योगदानको उच्च कदर गर्दै संस्थाद्वारा प्रशंसा पत्र समेत प्रदान गरिएको थियो।

विविध साङ्गीतिक कार्यक्रमको अतिरिक्त कार्यक्रम स्थलमा नेपालीपन तथा पहिचान झल्किने विभिन्न नेपाली स्वादका परिकारहरुको पनि व्यवस्था गरिएको थियो। सहभागीहरुले साङ्गीतिक माहोलमा स्वादिष्ट परिकारहरुको स्वाद लिदै रमाउदै आपसमा शुभकामना समेत आदानप्रदान गरेका थिए।

कार्यक्रम तालिका अनुसार कलाकारहरुको प्रस्तुतिमा बिट मारिएपछि खाना खादै सहभागीहरुले डिजे मुकुन्द पोख्रेलको साङ्गीतिक प्रस्तुतिमा रमाएका थिए।

संस्थाका अध्यक्ष गुरुङले कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको प्रतिक्रिया दिएका छन्। उनले कार्यक्रम सफल बनाउन प्रत्यक्ष परोक्ष रुपमा योगदान पुर्याउने सबैलाई धन्यवाद दिदै आगामी दिनमा पनि यस्तै साथ र सहयोग प्राप्त हुने अपेक्षा गरेका छन्।

संस्थाका सल्लाहकार मिलन गुरुङले ल्होछार साँझले गुरुङ समुदायको मात्र नभएर समग्र नेपालीकै गौरव बढाएउन महत्वपूर्ण योगदान पुर्याएको र नेपाल ‘विविधतामा एकता’ भएको देश भएको कुरा पुष्टि गरिदिएको जिकिर गरे।

शेयर गर्नुहोस:

4.9k
Shares