मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
ग्लोबल नेपाली   
बोस्टन   
मुख्य समाचार   

प्याब्फोनको सहयोगार्थ आयोजित देउसी भैलो सम्पन्न(फोटो फिचरसहित)

प्याब्फोनको सहयोगार्थ आयोजित देउसी भैलो सम्पन्न(फोटो फिचरसहित)

दान स्वरुप ५५ हजार डलर बढि आर्थिक सहयोग सङ्कन


  • प्याब्फोनद्वारा आयोजित देउसी भैलो कार्यक्रम सम्पन्न।
  • दान स्वरुप ५५ हजार डर बढी आर्थिक सहयोग सङ्कलन।
  • कार्यक्रम स्थल नेपालमय बन्यो।
  • सहभागीहरुको उत्साहजनक उपस्थित।

अमेरिका, बोस्टन। नेपालीहरुको माहान चाड तिहारको अवसरमा अमेरिकाको न्यु इङ्गल्याण्ड क्षेत्रमा बसोबास गर्ने प्रवासी नेपालीहरुले सामूहिक ”देउसी भैलो” खेलेका छन्। बोस्टन स्थित प्रवासी नेपालीहरु आबद्ध संस्था पशुपतिनाथ बुद्ध फाउण्डेशन अफ न्यू इङ्गल्याण्ड (प्याब्फोन)द्वारा संस्थाको सहयोगार्थ आयोजित ‘बृहत् देउसी भैलो-२०२५” कार्यक्रममा सहभागी भइ सामूहिक देउसी भैलो खेलेका हुन्।

संस्थाका लागि आर्थिक सहयोग सङ्कलनको मुख्य आधार बनाएर हरेक वर्ष आयोना गर्दै आइरहेको देउसी भैलो कार्यक्रमलाई प्याब्फोनले यस वर्ष पनि निरन्तरता दिएको हो। उक्त बृहत् देउसी भैलो कार्यक्रम गत अक्टोबर १९, २०२५ आइतवारका दिन प्याब्फोनको आफ्नै सामुदायिक भवनमा सम्पन्न भएको हो।

धार्मिक, सांस्कृतिक, रीतिरिवाज, परम्परा, नेपालीपन र नेपाली पहिचानको दृष्टिकोणले निकै महत्वपूर्ण मानिने चाड तिहारको अवसरमा धर्म, संस्कृति, परम्परा आदिको संरक्षण, संवर्धन र प्रवर्धन गर्ने र संस्था सञ्चालनका लागि आर्थिक सहयोग सङ्कलन गर्ने ”बृहत् देउसी भैलो -२०२५” कार्यक्रमको मुख्य उद्देश्य रहेको थियो।

विगतमा झैं यस वर्ष पनि दाताहरुले देउसी भैलोमा यथाशक्य दान गरेका थिए। दाताहरुले गरेको दान स्वरुप ५५ हजार डलर आर्थिक सङ्कलन भएको र थप दाताहरुबाट पनि दान प्राप्त हुने क्रम जारी नै रहेको प्याब्फोनको कार्यसमितिका अध्यक्ष ध्रुव घिमिरेले जानकारी दिए।

देउसी भैलो कार्यक्रमलाई साङ्गीतिक माहोल सहित प्रभावकारी, मनोरञ्जनात्मक र उत्सवमय बनाउन, बोस्टन लोक सुसेली समूह, प्याब्फोन भजन कीर्तन टोली र अन्य कलाकारहरुले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। उनिहरुले आफ्नो गला र कलाको भरपूर उपयोग गर्दै नेपाली गीत सङ्गीतको माध्यमबाट चाडको मर्म, महत्व र गरिमालाई दर्शाउने प्रयास गरेका थिए।

कलाकारहरुले ”दियो बाली साँझको…” बोलको चर्चित गीत गाएर साङ्गीतिक देउसी भैलो कार्यक्रमको पर्दा खोलेका थिए। कलाकारहरुले दोश्रो सौगात स्वरुप ” जहाँ छन् बुद्धका आँखा ….” गीत गाएका थिए। यस क्षणमा कलाकारहरु लगायत सहभागीहरुले नेपाल र नेपालीहरुलाई स्मरण गर्दै श्रध्दा भाव प्रकट गरेका थिए। देउसी भैलो खेल्ने क्रममा कलाकारहरुले चर्चित नेपाली लोक भाकाका गीतहरु सिरिमा सिरी नि कान्छा…, कान्छी हे कान्छी…, आगे आगे तोपैको गोला, झम्के फुली, कान्छी मट्याङ ट्याङ, सानी सानी ए झिल्के नानी लगायत दर्जन बढी गीतहरु गाएका थिए।

दोहोरी भाखामा देउसी भैलोका टुक्काहरु गाउदै भट्याउदै दाताहरुलाई दानका लागि गरिएको अनुरोधका क्षण निकै आकर्षक र रोमाञ्चक थियो। नेपालकै झझल्को दिने गरी दाताहरुले दिएको दान दक्षिणाहरु नाङ्लोहरुमा राखेर प्रदर्शन गर्दै देउसे भैलीहरुले आशिष् दिदाको क्षण-धर्म, संस्कृति, परम्परा, रितिरिवाज, परम्परा, नेपालीपन तथा पहिचान आदिका दृष्टिकोणले निकै महत्वपूर्ण र कदरयोग्य रहेको भनी सहभागीहरुले प्रतिक्रिया दिएका छन्। उक्त साङ्गीतिक माहोल सहितको देउसी भैलोमा सहभागीहरुले पनि सक्रिय सहभागिता जनाउदै देउसी भैलो खेल्दै रमाउदै आपसमा तिहारको शुभकामना आदानप्रदान गरेका थिए।

कार्यक्रम स्थलमा शृजित नेपाली साङ्गीतिक माहोल, सहभागीहरुको नेपालीपन तथा पहिचान दर्शाउने भेषभुषा, नेपाली भाषा, दान दक्षिणा, मन्दिरको धार्मिक वातावरण आदिले कार्यक्रम स्थल नेपालमय बन्न पुगेको थियो।

प्याब्फोन(PABFONE)सञ्चालक समितिका अध्यक्ष ध्रुव घिमिरेले कार्यक्रम लक्ष्य र उद्देश्य अनुसार सफलतापूर्वक सम्पन्न भएकोमा निकै खुशी व्यक्त गरे। देउसी भैलो कार्यक्रमलाई समापन गर्ने क्रममा उनले कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न प्रत्यक्ष परोक्ष रुपमा साथ सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरेका थिए। धन्यवाद मन्तव्य व्यक्त गर्ने क्रममा अध्यक्ष घिमिरेले मन्दिर सबैको भएको र मिलेर अघि बढ्नु पर्नेमा जोड दिदै भने, ”यो मन्दिर तपाईं हामी सबैको हो। सबैले यसरी नै मिलेर एकसाथ काम गर्यो भने नहुने यहाँ केही पनि छैन। र, खुशी लागेको छ। यहाँहरुको साथ समर्थन सदैव रहिरहोस्।”

अध्यक्ष घिमिरेले गत वर्ष भन्दा २० हजार बढि दान स्वरुप आर्थिक सहयोग जुटाउन सफल भइएकोमा निकै खुशी व्यक्त गर्दै आगामी दिनहरुमा अझैं बढी प्रवासी नेपालीहरुलाई समेट्दै प्रभावकारी कार्यक्रमहरु गरेर संस्था र मन्दिरको गरिमालाई थप उचाइमा पुर्याउन एकजुट भएर लागिपर्ने बताए।

संस्थाका महासचिव परशुराम फुयालले सञ्चालन गरेको बृहत् देउसी भैलो कार्यक्रमको पहिलो सत्र अन्तर्गत संस्थाका कोषाध्यक्ष सञ्जय तिमल्सिनाले स्वागत मन्तव्य व्यक्त गरेका थिए। यसैगरी, बोर्ड अफ ट्रस्टीजका अध्यक्ष सुशील पौडेलले संक्षिप्त रुपमा संस्थाको विगतदेखि वर्तमानसम्मको यात्राका बारेमा जानकारी गराएका थिए भने, कलाकारहरुको तर्फबाट कार्यक्रम संयोजक सुन्दर गुरुङले देउसी भैलो कार्यक्रमका बारेमा विशेष प्रकाश पारेका थिए।

सामुदायिक भवन जोड्ने र त्यसमा पशुपतिनाथ तथा बुद्ध मन्दिर स्थापना गर्ने महत्वकांक्षी लक्ष्य राखेर सन् २०१२ मा स्थापना भएको यस संस्थाले, संस्थालाई आवश्यक पर्ने अर्थको जोहो गर्न स्थापना कालदेखि नै हरेक वर्ष देउसी भैलो खेल्दै आइरहेको छ। देउसी भैलो कार्यक्रम प्याब्फोनको प्रमुख वार्षिक क्रियाकलापको रुपमा स्थापित भएको छ।

 

शेयर गर्नुहोस:

1.5k
Shares