अमेरिका, बोस्टन। नेपाली पात्रो अनुसार आज असोज २० गते असोज शुक्ल चतुर्दशी अर्थात् नेपालीहरुको महान चाड बडादसैँको अन्तिम दिन कोजाग्रत पूर्णिमा। आजको दिनसम्म बडादसैँको टीका लगाउने गरिन्छ। आजको दिन बडादसैँको दौरानमा स्थापना गरिएका नवदुर्गाको मूर्ति, जमरा तथा अन्य माटाका सामग्रीहरु नदी वा जलासयमा विसर्जन गर्ने गरिन्छ। कोजाग्रत पूर्णिमा सकिएसंगै यस वर्षको बडादसैँ पनि सकिन्छ।

जमरा राख्ने दिन घटस्थापनादेखि टिका लगाउने दिन दशमीसम्मको दश दिनलाई बिषेश मानिन्छ। यद्यपि, पूर्णिमाको दिनसम्म टीका लगाएर हर्षोल्लासका साथ बडादसैँ मनाउने चलन छ। हिन्दु धर्मग्रन्थ अनुसार आश्विन शुक्लपक्षको प्रतिपदा अर्थात घटस्थापनादेखि नवमीसम्मको हरेक दिन नव दुर्गाको भिन्न भिन्न स्वरुपको पूजा, अर्चना, साधना र आराधना गरी दशमीको दिन मान्यजनबाट टिका, जमरा, प्रसाद र आशीर्वाद ग्रहण गर्ने परम्परा चलिआएको छ।

बडादसैँको मूल मर्म असत्यमाथि सत्यको विजय रहेको छ। वैधिक सनातन धर्मग्रन्थ अनुसार, दुर्गा भवानीले महिषासुर नामक असुर र भगवान् रामले रावणलाई वध गरेर असत्य माथि सत्यको विजय भएको धार्मिक मान्यतामा यो चाड हर्षोल्लासका साथ मनाउने गरिन्छ। यस अर्थमा धार्मिक दृष्टिकोणले बडादसैँको मूल मर्म शक्ति र सत्यको पूजा, अर्चना, साधना र आराधन हो। यही मर्मलाई केन्द्रमा राखेर नेपाल लगायत विश्वभर छरिएर रहेका नेपालीहरुले यस वर्षको बडादसैँ मनाए।
यसै क्रममा, अमेरिकामा रहेका नेपालीहरुले पनि नेपाल र नेपालीको पहिचान बोकेको बडादसैँ आफ्नो अवस्था अनुसार व्यवस्था मिलाएर सक्दो हर्षोल्लासका साथ मनाए। उनिहरुले जागीर, काम, व्यवसाय, अध्ययन, घरयासी व्यवहार, सामाजिक अभियानलगायत व्यस्त दैनिकीलाई सक्दो उचित व्यवस्थापनको प्रयास गर्दै हरसम्भव बडादसैँ हर्षोल्लासका साथ मनाउने प्रयास गरे।
नेपालमा गोर्खा घर भइ बिगत १५ वर्षदेखि अमेरिकाको बोस्टनमा सपिवार बसोबास गर्दै आइरहेका मिलन गुरुङले यस वर्षको बडादसैँ हर्षोल्लासका साथ मनाएको प्रतिक्रिया दिएका छन्। बडादसैँको मुखैमा मातृभूमि नेपालमा घटेको घटनाले भने निकै दु:खी तुल्याएको उनले बताए। अमेरिकाको बोस्टन सहरका लागि नेपाल सरकारको पर्यटन प्रवर्धक समेत रहेका गुरुङले पारिवारिक तथा सामाजिक जमघटसंगै बडादसैँ रमाइलोसंग मनाइएको बताए। नेपाल र नेपालीको पहिचान बोकेको बडादसैँ धार्मिक, सांस्कृतिक, सामाजिक, पारिवारिक, परम्परा, रितिथिति आदिका दृष्टिकोणले निकै महत्वपूर्ण रहेको बताउदै चाडको महत्व र गरिमालाई आत्मसात् गर्दै मनाउने प्रयास गरिएको उनले बताए।
नेपालको मकवानपुर जिल्ला हेटौंडा-६ चौघडा घर भएका कथाकार तथा समाजसेवी श्यामप्रसाद श्रेष्ठले यस वर्षको बडादसैँ अमेरिकाको टेक्सास राज्यमा मनाए। उनि श्रीमती शुशीला देवी श्रेष्ठका साथ अमेरिकामा रहेका दुइ छोराहरु साहस श्रेष्ठ (माइलो) र विश्वास श्रेष्ठ (कान्छो)को परिवारसंग भेटघाट गर्न बडादसैँको मुखैमा अमेरिका आएका थिए। दुइ वर्ष अघि पनि अमेरिकामा बडादसैँ मनाउने अवसर प्राप्त गरेका श्रेष्ठ दम्पतीले यस वर्ष पनि परिवारसंगै बडादसैँ मनाउन पाए। अमेरिकामा रहेका दुई छोराहरु, बुहारी, नाती, नातिना, इष्टमित्रहरुसंगको भेटघाट, घुमाइ र बडादसैँ मनाइ महत्वपूर्ण र रमाइलो हुनुका साथै यादगार रहेको श्रेष्ठले बताए। बडादसैँकैबीच सपरिवार न्यूयोर्क घुमघाममा व्यस्त रहेका श्रेष्ठले नेपालमा जस्तो बडादसैँको रौनकको अनुभूति अमेरिकामा नभएतापनि अवस्था अनुसार व्यवस्था मिलाएर दुइ छोराहरुको परिवारसंगै बडादसैँ मनाउन पाएकोमा खुशी व्यक्त गरे।

नेपालमा पाल्पा तान्सेन जन्मथलो भइ काठमाण्डौं बस्दै आएका सुरेन्द्र नापित १४ वर्ष अघि सपरिवार अमेरिका भित्रिएका थिए। श्रीमती, एक छोरा, एक छोरी र आफू सहित चार सदस्य परिवारका मूली नापितले विगतमा झैँ यस वर्षको बडादसैँको दौरानमा पनि धर्म संस्कृति, रितिरिवाज, परम्परा, चालचलन आदि अनुसार धार्मिक क्रियाकलाहरु गरिनुका साथै भेटघाट, खानपीन र रमाइलो गरी बडादसैँ मनाइएको बताए। बडादसैँ भरको दैनिकी निकै व्यस्त रहेको जनाउदै उनले यस वर्ष झण्डै ५० जनालाई टीका लगाइदिएको बताए।

लामो समयदेखि अमेरिकाको न्यू योर्क बस्दै आएका बिरेन्द्र मानन्धरको यस वर्षको बडादसैँ सामान्य नै रह्यो। सपरिवार नेपालमै रहेका कारण उनले बडादसैँमा नेपालमा रहेका परिवार, ईष्टमित्र, साथी भाइहरुको सामिप्यता र चाडको रौनकताको अभाव खड्किएको बताए। यद्यपि, बडादसैँका बेला न्यू योर्कमा रहेका साथीभाइहरुसंग भेटघाट र शुभकामना आदानप्रदान गर्नुका साथै विजयादशमीको दिन स्थानीय हिन्दू मन्दिरमा गएर बडादसैँको टीका ग्रहण गरेको मानन्धरले बताए।
नेपालको काठमाडौंबाट गत वर्ष अमेरिका आइ हाल भर्जिनिया बसोबास गरिरहेका गणेश कुमार मानन्धरले पारिवारिक शोकका कारण यस वर्षको बडादसैँ नमनाइएको बताए। श्रीमती मीरा मान्धरसहित अमेरिका आएका उनले स्वर्गीय दिदीको आत्माको चिरशान्तिको कामना गर्दै नेपालमा हुने बडादसैँको रौनकता र महत्वको स्मरण गरे। बडादसैँका बेला पहिलो पटक प्रवासमा हुनु, परिवार शोकमा हुनु, नेपालमा दु:खद घटना घट्नु र परिवारमा रहेका चार दस्यहरु( दम्पती र दुइ छोराहरु) पनि ३ तिर भएको अवस्थाले बडादसैं भर मनमा खिन्नता छाएको मानन्धरले बताए। मानन्धर दम्पती अमेरिका भित्रिएको छोटो समय भएतापनि भर्जिनियामा रहेका प्रवासी नेपाली समाजसंग भिज्ने र सामाजिक क्रियाकलापहरुमा सक्रिय रहने गतिले भने तिब्रता लिइरहेको छ।
पछिल्लो समय अमेरिकामा पनि बडादसैँ लगायत विभिन्न नेपाली चाड पर्वहरुले प्राथमिकता पाउदै गएका छन्। र, ति चाड पर्वको रौनकता बढ्दैगइरहेको छ। धार्मिक, सांस्कृतिक, पारिवारिक तथा सामाजिक महत्वलाई प्राथमिकता दिदै चाडपर्वहरु मनाउने प्रयास भैरहेको छ। धार्मिक स्थलहरु र नेपाली समुदायका संघ संस्थाहरुले चाड पर्वहरुको महत्व र गरिमालाई थप उचाइमा पुर्याउन महत्वपूर्ण भूमिका खेलिरहेका छन्।













प्रतिक्रिया