
कहाली लाग्दो
मृत्युलाई जितेर
म सडकमा आएको छु ।
म कथा सुनाउन चाहान्छु
निर्दोष नानीहरुको
म गीत गाउन चाहान्छु
थकित बा आमाहरुको ।
समयले मलाई लखेटि रहेको छ
आकाशे पुल माथि बसेर म
सारङ्गी रेटिरहेका गन्धर्व संग
जीवन बाँच्ने तरिका सिकिरहेछु
नजिकै रहेका दृष्टिविहीन युवा
संसार पढ्ने अभिलाषा व्यक्त गर्छन
युके्रन र गाजाको विभत्स कथा सुनाउदै
गाजा, हमास र नेता न्याहु
पुटीन र जेलेनिस्की
बङ्कर, युद्धपोत र ड्रोन
क्रुरताको पराकाष्ठा
नरसंहार प्रति खेद प्रकट गर्छन ।
म आँखा भएर पनि अन्धो रहेछु
मलाई थाहा छैन
युक्रेन र गाजा
इजरायल र प्यालेस्टाइन
रुस र अमेरीका
भारत र पाकिस्तान
अब मैले पढ्नु पर्छ
संसार बदल्ने पुस्तक ।
किन गरिन्छन युद्ध ?
आक्रमण प्रत्याक्रमण
युद्धले पीडा दिन्छ
देश ध्वस्त हुन्छ
मारिन्छन बालबालिका
वृद्ध बा आमाहरु
बग्छ रगतको खोलो
स्वार्थ बाझियो भन्दैमा
किन गर्छौ नरसंहार ?
बन्द गर युद्धहरु
मानवता रोइरहेको बेला ।
म नाङ्गो सडकमा छुु
मान्छेका हुलहरु सडकको छाती कुल्चेर
ओहोर दोहोर गरिरहेछन
विना संवाद
विना चिनजान
मौन जुलुस जस्तो
सबैको आ–आफ्नै गन्तव्य होला
गन्तव्य पुग्न कुदेका होलान मान्छेहरु ।
म मृत्यु जितेर
सडकमा आए पछि
मेरो जिन्दगी पढ्नेहरु
मेरो हृदयविदारक कहानी सुनेर
भयभीत हुन्छन
म डराउन्न
मेरो मृत्युमा रमाउनेहरु
आफै मृत्युको जालोमा फसेका छन
मृत्युलाई जित्न नसकी
तिनीहरु रोएर बाँच्छन
म हाँसेर बाँच्छु ।
सुन्दरहरैंचा –०६, दुलारी, मोरङ
९८४२०७३५२५












प्रतिक्रिया