मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
बोस्टन   
मुख्य समाचार   

किर्तिमानी पर्वतारोही श्रेष्ठ अमेरिकामा सम्मानित

किर्तिमानी पर्वतारोही श्रेष्ठ अमेरिकामा सम्मानित


अमेरिका, बोस्टन। विश्वको सर्वोच्च शिखर सगरमाथा दुइ हप्ताभित्र तीन पटक सफलता पूर्वक आरोहण गरेर विश्व किर्तिमान राख्न सफल पूर्णिमा श्रेष्ठलाई अमेरिकाको बोस्टनमा सम्मान गरिएको छ।

गत अगस्ट २४,२०२५ आइतवारका दिन बोस्टनमा एक कार्यक्रमका बिच श्रेष्ठलाई सम्मान गरिएको हो। प्रेरणादायी, साहसिक र विश्व किर्तिमानी काम गरेको ठहर गर्दै अमेरिकाको म्यासाचुसेट्स राज्यका सिनेटर विल ब्राउनसबर्गरले सम्मान गरेका हुन्। उनले श्रेष्ठको कामको कदर गर्दै सम्मान स्वरुप सम्मानपत्र (Citation) प्रदान गरेका थिए।

कार्यक्रममा मन्तव्य व्यक्त गर्दै सिनेटर ब्राउनसबर्गरले, श्रेष्ठले प्राप्त गरेको सफलताप्रति निकै खुशी प्रकट गर्दै बधाई ज्ञापन गरेका थिए। फोटो पत्रकारिताबाट पर्वतहरुतिरको यात्रा सुरु गरेर सगरमाथा आरोहणसम्म गर्न सफल भएको र उनको काम पर्वतारोहण गर्नेहरुका लागि र विशेष गरी महिलाहरुका लागि प्रेरणादायी भएको उनले टिप्पणी गरे।

यसै क्रममा, अमेरिकाको बोस्टनका लागि नेपालका पर्यटन प्रवर्धक मिलन गुरुङले पनि श्रेष्ठलाई खादा लगाइदिएर र सम्मानपत्र प्रदान गरेर सम्मान प्रकट गरेका थिए। उनले कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठलाई बधाई तथा थप सफलताका लागि शुभकामना व्यक्त गरेका थिए। कार्यक्रममा सम्बोधन गर्दै पर्यटन प्रवर्धक गुरुङले पर्वतारोही श्रेष्ठको सफलताले गर्वको अनुभूति भइरहेको र त्यसले नेपालको पर्यटन प्रवर्धनमा महत्वपूर्ण योगदान पुर्याइरहेकाले उनलाई थप उत्प्रेरित गरिनु पर्नेमा जोड दिएका थिए।

कार्यक्रममा पर्वतारोही श्रेष्ठले आफ्नो फोटोपत्रकारिता यात्रादेखि सगरमाथा आरोहरणसम्मको यात्राको संक्षिप्त जानकारी गराएकी थिइन्। प्रस्तुतिका क्रममा उनले पर्वतारोहण अभियानका क्रममा असफल हुने कयौं बाधा, चुनौती तथा बहानाहरु हुदाहुदै पनि तिनलाई आफ्नो दृढ इच्छाशक्ति, सकारात्मक सोच, साहस, आँट, शारीरिक तथा मानसिक स्वस्थता, धर्यता, निरन्तरता आदिले चिरेर सफलता चुम्न सफल भएको बताइन्।

कार्यक्रममा सहभागीहरुले उनको पर्वतारोहण अभियानसंग सम्बन्धित रहेर जिज्ञासा तथा प्रश्नहरु राखेका थिए। ति जिज्ञासाहरु मेटाउने र प्रश्नको जवाफ दिने क्रममा श्रेष्ठले फोटो पत्रकार हुदै पर्वतारोही बन्दासम्म आफूमा नसोचेको चाहना, उर्जा, उत्प्रेरणा, आँट, साहस, शक्ति र लगशीलता उत्पन्न भएको र त्यसले गर्व गर्ने सफलता दिलाएको बताएकी थिइन्। पर्वतारोहण अभियानबाट आफूले सफलता मात्रै प्राप्त गरेको तर केही पनि नगुमाएको बताउदै उनले आफ्नो जीवनको भावी लक्ष्य नेपालमा रहेका ८ हजार मिटरभन्दा माथिका जम्मा १४ वटा शिखरहरु मध्य आरोहण गर्न बाँकी रहेका  छ वटा शिखरहरु पनि चड्ने रहेको जानकारी गराइन्। सन् २०२६ मा उत्तर अमेरिकाको सबैभन्दा उच्च शिखर अमेरिकाको अलस्का राज्यमा अवस्थित माउन्ट म्याककिन्ले (५,५०० मिटर उचाइ) आरोहण गर्न अमेरिका आउने तयारी गरिरहेको पर्वतारोही श्रेष्ठले जानकारी गराइन्।

नेपालको गोर्खा जिल्ला आरुघाटमा जन्मिएकी ३२ वर्षीया पूर्णिमा श्रेष्ठले फोटो पत्रकारिताको यात्रा हुदै सगरमाथको चुचुरोसम्म पुग्न सफल भएकी हुन्। ८ हजारभन्दा माथिका शिखरहरु चड्ने दृढ लक्ष्यका साथ पर्वतारोहण अभियानमा होमिएकी श्रेष्ठले, हालसम्म सगरमाथा सहित आठ वटा हिम पर्वतहरु : अन्नपूर्ण प्रथम, कञ्चनगंघा, ल्होत्से, मकालु, मनास्लु, धौलागिरी प्रथम र के टु सफलतापूर्वक आरोहण गरिसकेकी छिन्। यसै क्रममा, उनले ६,८१४ मिटर उचाइ भएको हिम पर्वत आमा डब्लम पनि आरोहण गरेकी थिइन्। उनले विश्वको सर्वोच्च शिखर सगरमाथा ५ पटक सफलतापूर्वक आरोहण गरिसकेकी छिन्।

यसैक्रममा उनले एकै आरोहण मौसममा (दुइ हप्ता भित्र) तीन पटक सगरमाथा आरोहण गर्ने पहिलो महिलाको किर्तिमान राखिसकेकी छिन् भने , हिमालयका दुइ सबैभन्दा चुनौतीपूर्ण चुचुराहरू अन्नपूर्ण प्रथम र धौलागिरी सफलतापूर्वक आरोहण गर्ने पहिलो नेपाली महिलाहरू मध्यकी एक सदस्य बन्न सफल भएकी छिन्।

नेपालमा आठ हजार मिटरभन्दा अग्ला हिमालको संख्या सगरमाथा सहित १४ वटा रहेका छन्। जसमा सगरमाथा (८८४८ मिटर), कञ्चनजंघा (८५८६ मिटर), ल्होत्से (८५१६ मिटर), मकालु ( ८४६३ मिटर), छ्यो यु (८२०१ मिटर), धौलागिरि प्रथम (८१६७ मिटर), मनास्लु (८१५६ मिटर), अन्नपूर्ण प्रथम ( ८०९१ मिटर), ल्होत्सेसार (८४०४ मिटर), यालुङ काङ (८५०५ मिटर), कञ्चनजंघा दक्षिण (८४७६ मिटर), कन्चनजंगा सेन्ट्रल (८४७३ मिटर), ल्होत्से मिडिल(८४१० मिटर) र यालुङ काङ बेस्ट (८०७७ मिटर) रहेका छन्। विश्व भरमा आठ हजार मिटर भन्दा माथिका चुचुराहरु भने २० वटा रहेका छन्।

शेयर गर्नुहोस:

3.4k
Shares