मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
बोस्टन   
मुख्य समाचार   

एनआरएनए, एनसिसि, अमेरिकाको निर्वाचन सुरु

एनआरएनए, एनसिसि, अमेरिकाको निर्वाचन सुरु

हालसम्म ४६७ मत खस्यो


अमेरिका, बोस्टन। गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद,(एनआरएनए, एनसिसि), अमेरिकाको घोषित निर्वाचन कार्यतालिका अनुसार मतदान सुरु भएको छ। संघको आगामी दुइ वर्षे कार्यकाल (सन् २०२५–२०२७)का लागि नयाँ कार्यसमिति चयनका लागि मतदान सुरु भएको हो।

संघको १३औं साधारण सभाले गठन गरेको निर्वाचन आयोगका सदस्य टुक रेग्मीको नेतृत्वमा अघि बढेको निर्वाचन प्रक्रिया अन्तर्गत आज अगष्ट १७, २०२५ बिहान १० बजे(पूर्वीय समय) आइतवारबाट मतदान सुरु भएको हो। निर्वाचन आयोगले निर्वाचन कार्य सम्पन्न गर्न अमेरिकाको म्यासाच्युसेट्स राज्यको बोस्टनमा निर्वाचन कार्यालय खडा गरेर काम गरिरहेको छ। प्रमुख टुक रेग्मीले दिएको जानकारी अनुसार बिहान १० बजेबाट सुरु भएको मतदान यो समाचार तयार पार्दासम्म ४६७ मत खसिसकेको छ।

निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार संघका मतदाताहरुले भोली अगष्ट १८,२०२५ सोमवारसम्म मतदान गर्न सक्ने छन्। यस अघि बासु फुलाराको नेतृत्वमा रहेको निर्वाचन आयोगले अगष्ट १६ र १७, २०२५ (शनिवार र आइतवार) निर्वाचन गर्ने निर्वाचन कार्यतालिका सार्वजिक गरेको थियो। तर, अचानक निर्वाचन मिति आउन दुइ दिन बाँकी छदा १४ अगष्ट,२०२५ मा प्रमुख निर्वाचन आयुक्त फुलारा आफ्नो जिम्मेवारीबाट पन्छिएपछि आसन्न निर्वाचन सम्पन्न गर्न सोही आयोगका सदस्य टुक रेग्मीलाई निर्वाचन प्रमुखको जिम्मेवारी सुम्पिएको थियो। रेग्मी नेतृत्वको निर्वाचन आयोगले पूर्व निर्धारित निर्वाचन कार्यतालिकालाई १ दिन पर धकेलेर अगस्ट १७ र १८, २०२५ (आइतवार र सोमवार) गर्न लागेको हो।

निर्वाचन प्रमुख रेग्मीका अनुसार जानकारी अनुसार मतदानका लागि मतदाताले संघद्वारा उपलब्ध गराइएको भोटिङ पोर्टल खोलेर त्यसमा निर्वाचन आयोगले उपलब्ध गराएको मतदान पिन नंबर र इमेल भर्नु पर्ने, त्यस पछि प्राप्त हुने मतपत्रमा उल्लेखित उमेदवारहरुलाई छनोट गरी निर्वाचन आयोगले आफ्नो मोबाइल नंबरमा पठाएको कोड नंबर टाइप गरेर मतपत्र बुझाउनु पर्ने छ।

आसन्न निर्वाचनमा, अध्यक्ष पदमा ४ जना, वरिष्ठ उपाध्यक्ष पदमा ३ जना, उपाध्यक्षमा १३ जना, महिला उपाध्यक्षमा ३ जना, युवा उपाध्यक्षमा ३ जना, महासचिवमा ३ जना, सचिव (खुला) मा ४ जना, महिला सचिव १ जना( निर्विरोध), कोषाध्यक्षमा ३ जना, सहकोषाध्यक्षमा १ जना(निर्विरोध), युवा संयोजकमा २ जना, महिला संयोजकमा २ जना र बोर्ड सदस्यमा २३ जनाको उमेदवारी परेको निर्वाचन आयोगले जनाएको छ।

संघले जनाए अनुसार संघको आसन्न निर्वाचनमा १३ हजार २ सय ८ मतदाताले मतदान गर्न पाउने भएका छन्। यस अघि सन् २०२३-२०२५ कार्यकालका लागि भएको निर्वाचनमा १३ हजार ६ सय ९१ मतदाता रहेका थिए। त्यस मध्ये ११ हजार २ सय ६७ मतदाताले मतदान गरेका थिए। जो कुल मतको ८२ दशमलव ३ प्रतिशत हो।

शेयर गर्नुहोस:

2k
Shares