अमेरिका, बोस्टन। गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, (एनआरएनए, एनसिसि) अमेरिका यतिबेला वैधानिक सङ्कटको भुमरीमा परेको छ। बासु फुलाराको नेतृत्वमा रहेको निर्वाचन आयोगले आगामी दुइ वर्षे कार्यकाल (सन् २०२५–२७)का लागि तय गरेको निर्वाचन मितिको मुखैमा राजिनामा दिएपछि विवाद नै विवादको घेराबन्दीमा पर्दै आएको संघ थप वैधानिक सङ्कटमा परेको हो।
संघको १३औं साधारण सभाले बासु फुलारा निर्वाचन प्रमुख र प्रिय रन्जन दाहाल, बिनोद सुवेदी, टुक रेग्मी र खड्ग उप्रेति सदस्य रहेको निर्वाचन आयोग गठन गरेको थियो। त्यही निर्वाचन आयोगले अगस्ट १६ र १७, २०२५ मा निर्वाचन गर्ने गरी कार्यतालिका पनि सार्वजिक गरेको थियो। तर, निर्वाचन आयोगले अचानक निर्वाचन मिति आउन दुइ दिन बाँकी छदा १४ अगष्ट,२०२५ मा राजिनामा दिएको जनाउदै निर्वाचन सम्पन्न गराउने जिम्मेवारीबाट पन्छिएको छ। निर्वाचन आयोगका प्रमुख फुलाराले आफ्ना भनाइ सहित सामाजिक सञ्जाल मार्फत राजिनामाको विषय सार्वजनिक गरेका छन्। उनले निश्पक्ष, इमान्दार र समर्पित भएर निर्वाचन आयोग आफ्नो जिम्मेवारी पूरा गर्न लागिपर्दा पर्दै पनि सत्य, निष्पक्षता र समुदायको भलो सुनिश्चित गर्न निर्वाचन आयोगको शक्ति र श्रोत पर्याप्त नभएका कारण राजिनामा दिनुपरेको उल्लेख गरेका छन्। प्रष्टिकरण दिने क्रममा उनले पद त्याग कमजोरी नभएर शिद्धान्त र पेशागत इमानदारीका लागि उठाइएको दृढ कदम भएको जिकिर गरेका छन्।
यस सम्बन्धमा एनआरएनए, एनसिसि, अमेरिकाको कार्यकाल सन् २०२३-२५ का अध्यक्ष डाक्टर अर्जुन बन्जाडेसंग बुझ्दा उनले निर्वाचन आयोगका प्रमुख र सदस्यहरुको नाम उल्लेख गरी इमेल मार्फत राजिनामाको विषय उल्लेख गरिएको सामूहिक पत्र प्राप्त भएको बताए। उनले निर्वाचन आयोग गठन पश्चात् संघले प्रमुख र सदस्यहरुलाई सामुहिक नियुक्ति पत्र नदिइ छुट्टाछुट्टै आधिकारिक नियुक्ति पत्र दिएर जानकारी गराइएकाले, यदि पद त्याग गरिएकै हो भने सोही बमोजिम पत्र छुट्टाछुट्टै आउनु पर्ने तर त्यस्तो नभएका कारण प्राप्त सामुहिक इमेल उपर हालसम्म कारबाहीको कुनै प्रक्रिया अगाडि नबढाइएको बताए।
डाक्टर बन्जाडेले निर्वाचन आयोगले एकाएक राजिनामा दिएको विषयले संघमा असहज परिस्थिति उब्जिएको जनाउदै यस सम्बन्धमा आवश्यक छलफल गरेर छिट्टै ठोस कदम चालिने बताए। वर्तमानमा उब्जिएको समस्या समाधानका लागि संघका पूर्व अध्यक्षहरु, निर्वाचन आयोगका प्रमुख तथा सदस्यहरु, कार्यसमिति लगायत सरोकारवालाहरुसंग सम्पर्क र छलफल भइरहेको र यथासिघ्र आधिकारिक निर्णय गरेर संघ अगाडि बढ्ने डाक्टर बन्जाडेले बताए। उनले संघको वर्तमान असहज अवस्थाप्रति क्षमा माग्दै असहज परिस्थिति छिट्टै नै सहज परिस्थितिमा बदलिने विश्वास व्यक्त गर्दै केही समय धर्यधारण गरी सहयोग गर्न सबैलाई अनुरोध गरेका छन् ।
संघको वर्तमान कार्यसमितिको कार्य अवधि समाप्त हुने मिति नजिकिदै गर्दा संघको विधान अनुसार जुलाई ३१,२०२५ भित्र निर्वाचन सम्पन्न गरिसक्नु पर्छ भन्ने विषय निकै पेचिलो बनेकाले विवाद शृजना भएको थियो। फुलारा नेतृत्वको निर्वाचन आयोगले समय अभावको कारण देखाउदै अगस्ट १६ र १७, २०२५ मा निर्वाचन गर्ने गरी निर्वाचन कार्यतालिका सार्वजनिक गरेको थियो। तर, एनआरएनए, आइसिसिले फुलारा नेतृत्वको निर्वाचन आयोगलाई मान्यता नदिएर ३१ जुलाई, २०२५ भित्रै निर्वाचन सम्पन्न गर्ने कार्यभार सुम्पिएर डाक्टर राजेन्द्र घिमिरेको संयोजकत्वमा चिरञ्जीवी ढकाल, टिबी कार्की, प्रितम श्रेष्ठ, होम पाण्डे, प्रकाश सापकोटा र रजनी प्रधान सदस्य रहेको निर्वाचन आयोग गठन गरेको थियो। उक्त आयोगले गत जुलाई २७ र २८, २०२५ मा नै निर्वाचन सम्पन्न भैसकेको र निर्वाचनको क्रममा विभिन्न पदहरुका लागि एकल उमेदवारी परेको जनाउदै अध्यक्षका उमेदवार बिकास उप्रेतिसहित अन्य पदमा उमेदवारी दर्ता गरेकाहरुलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेको छ।












प्रतिक्रिया