मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
बोस्टन   
मुख्य समाचार   

प्याब्फोनद्वारा कलाकारहरु सम्मानित

प्याब्फोनद्वारा कलाकारहरु सम्मानित


अमेरिका, बोस्टन। अमेरिकाको बोस्टन स्थित प्रवासी नेपालीहरुको संस्था पशुपतिनाथ बुद्ध फाउण्डेशन अफ न्यू इङ्गल्याण्ड(प्याब्फोन) ले कलाकारहरुलाई सम्मान गरेको छ। प्याब्फोनले यही जुलाई २७, २०२५ आइतवार आफ्नै भवनमा एक कार्यक्रमको आयोजना गरी संस्थाको अभियानमा कलाकारिता मार्फत अमूल्य योगदान पुर्याएको भन्दै कलाकारहरुलाई सम्मान गरेको हो।  सम्मानित हुने कलाकारहरुमा देउसी भैलो, भजन कीर्तन र नाटक क्रियाकलापहरुमा सङ्लग्न भइ आफ्नो कलाकारिता मार्फत संस्थालाई योगदान पुर्याउने सयभन्दा बढि व्यक्तित्वहरु रहेका थिए।

सम्मानित हुने कलाकारहरुलाई संस्थाको कार्यसमितिका अध्यक्ष बिरोचन नेपाल, बोर्ड अफ ट्रस्टिजका अध्यक्ष सुशील चन्द्र पौडेल, बोर्ड अफ ट्रष्टिजका उपाध्यक्ष मिलन गुरुङ, कार्यसमितिकी वरिष्ठ उपाध्यक्ष एलिना श्रेष्ठ, पूर्व अध्यक्ष द्वय विष्णुमणि आचार्य र विष्णु कार्की लगायतले सम्मान स्वरुप खादा लगाउदै सम्मानपत्र प्रदान गरेका थिए।

कार्यक्रममा सम्मानित हुने कलाकारहरु, अतिथिहरु र सहभागीहरुलाई
कार्यसमितिका अध्यक्ष बिरोचन नेपालले स्वागत गरेका थिए। स्वागत मन्तव्यका क्रममा उनले संस्थाको इतिहासलाई स्मरण गर्दै संस्थालाई वर्तमान अवस्थामा पुर्याउन कलाकारहरुको अमूल्य योगदान रहेको उल्लेख गरेका थिए। उनकै अध्यक्षता रहेको कार्यक्रममा कलाकारहरु बिराज गुरुङ, रुक्मिणी कार्की, सुन्दर गुरुङ, नाट्यकर्मी राजन खतिवडालगायतले मन्तव्य व्यक्त गर्दै प्याब्फोनले कलाकारितालाई दिएको प्राथमिकता र सम्मानको प्रशंसा गरेका थिए। उनीहरुले प्याब्फोन र कलाकार एक अर्काको परिपूरक भएको र यसलाई आगामी दिनमा थप कसिलो बनाउनु पर्नेमा जोड दिएका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै बोर्ड अफ ट्रस्टिजका अध्यक्ष सुशील चन्द्र पौडेलले संस्थाको स्थापना कालदेखि हालसम्म कलाको सहारा निरन्तर रहिरहेको बताए। उनले संस्थाको विविध उद्देश्यहरु मध्यको एक महत्वपूर्ण उद्देश्य नेपाली संस्कृतिलाई संरक्षण गर्ने र भावी सन्ततिलाई हस्तान्तरण गर्ने रहेको उल्लेख गरे। कलाकारहरुले आफूमा रहेको कलालाई समाजका लागि प्रयोग गरेर अमूल्य योगदान पुर्याइरहेकोप्रति संस्था नतमस्तक भएको बताउदै अध्यक्ष पोखरेलले कलाकारहरुलाई धन्यवादसहित नमन व्यक्त गरे।

कार्यक्रमको अन्त्यमा, संस्थाको बोर्ड अफ ट्रस्टिजका उपाध्यक्ष मिलन गुरुङ र पूर्व अध्यक्ष विष्णुमणि आचार्यले धन्यवाद मन्तव्य व्यक्त गरेका थिए। सम्बोधनका क्रममा उनिहरुले कलाकारिताको माध्यमबाट संस्थाको अभियानहरुमा अमूल्य योगदान पुर्याउने सबै कलाकारहरुलाई संस्थाको तर्फबाट धन्यवाद व्यक्त गरेका थिए। उनिहरुले सबै नेपालीको ढुकढुकीका रुपमा रहेको प्याब्फोन अन्तर्गतको मन्दिर आकर्षणको केन्द्र बन्दै गइरहेको जनाउदै यसलाई कला, साहित्य, संस्कृति, धर्म लगायत केन्द्रको रुपमा विकास गर्नु पर्नेमा जोड दिएका थिए।

प्याब्फोनले गत वर्ष मार्च ३१ तारिखमा पनि संस्था स्थापना कालदेखि संस्थाको विकास गर्न र गरिमा बढाउन आर्थिक, भौतिक तथा नैतिक रुपमा योगदान पुर्याउने व्यक्तित्वहरुलाई एक बृहत् कार्यक्रमको आयोजना गरी सम्मान गरेको थियो। आगामी दिनमा हरेक वर्ष जुलाई महिनाको अन्तिम आइतवार कलाकारहरुले पुर्याएको योगदानको कदर गर्न उचित कार्यक्रम गर्ने भएको छ।

सन् २०१२ मा विधिवत् दर्ता भएसंगै आफ्नो संस्थागत उद्देश्यहरु प्राप्त गर्न संस्थाले पशुपतिनाथ तथा बुद्ध मन्दिर सञ्चालन गर्नुका साथै विविध धार्मिक गतिविधिहरु गर्दै आइरहेको छ। यसका अलावा अन्य सामाजिक कार्यहरुमा पनि क्रियाशिलता देखाउदै आइरहेको छ।

शेयर गर्नुहोस:

4.8k
Shares