अमेरिका, बोस्टन। अमेरिकाको म्यासाच्युसेट्स राज्यमा ‘नेपाल डे-२०२५’ भव्यताका साथ मनाइएको छ। न्यू इङ्गल्याण्ड क्षेत्रमा बसोबास गर्ने प्रवासी नेपालीहरुले नेपाली हुनुमा गर्व गर्दै र नेपाल र नेपालीप्रति सम्मान प्रकट गर्दै ‘नेपाल डे-२०२५’ हर्षोल्लासका साथ भव्य रुपमा मनाएका हुन्।
ग्रेटर बोस्टन नेपाली समुदाय (जिबिएनसि) र एभरेट सिटीले संयुक्त रुपमा आयोजना गरेको ‘नेपाल डे-२०२५’ कार्यक्रम यही जुलाई २०,२०२५ आइतबार एभरेट सिटी स्थित ग्लेन्डल पार्क(Glendale Park)मा आयोजना गरिएको थियो।
नेपालीपन, नेपाली पहिचान, नेपालीत्व, सामुदायिक एकता र मनोरञ्जनमा ‘नेपाल डे’ कार्यक्रम केन्द्रीकृत रहेको थियो। नेपाली हुनुमा गर्व गर्दै नेपाल र नेपालीप्रति सम्मान प्रकट गर्नु, नेपाल र नेपालीलाई चिनाउनु, सामुदायिक एकतालाई थप मजबुत बनाउनु र सहभागीहरुलाई मनोरञ्जन दिलाउनु कार्यक्रमको मुख्य उद्देश्य रहेको थियो। अपरान्ह १२ बजेदेखि सुरु गरिएको कार्यक्रम साँझ अबेरसम्म सञ्चालन भएको थियो।
कार्यक्रमको प्रारम्भमा जिबिएनसिका महासचिव अजय ढकालले संस्था र ‘नेपाल डे’ का बारेमा संक्षिप्त जानकारी गराउदै सहभागीहरुलाई संस्थाको तर्फबाट स्वागत गरेका थिए। उपाध्यक्ष सोनाम छिरिङ शेर्पा, अश्मी पोखरेल, सजना अधिकारी, वर्षा बुढाथोकी र शृजना पौडेलले संयुक्त रुपमा सञ्चालन गरेको विविध साङ्गीतिक कार्यक्रमको पहिलो कोसेली स्वरुप नेपाली क्लास बोस्टनका विद्यार्थीहरुले नेपाल र अमेरिकाको राष्ट्रिय गान गाएका थिए। बालबालिकाहरुले राष्ट्रिय गान गाउदै गर्दा सहभागीहरुले पनि साथ दिदै नेपाल र अमेरिकाप्रति श्रध्दा अर्पण गरेका थिए।
कार्यक्रममा एभरेट सिटिका मेयर कार्लोस डिमारियाको सहभागिता रहेको थियो। उनले कार्यक्रमलाई सम्बोधन गर्दै एभरेट सिटीका लागि नेपाली समुदायले खेलेको सकारात्मक भूमिकाको प्रशंसा गरेका थिए। कार्यक्रमको सफलताको कामना गरेका मेयर कार्लोसलाई जिबिएनसिका अध्यक्ष सन्दिप भट्टराईले नेपाली ढाका टोपी शिरमा पहिराइदिएर सम्मान प्रकट गरेका थिए। कार्यक्रममा एभरेट सिटिको इडिआइ विभागकी निर्देशक क्याथी ड्राइनको पनि उपस्थिति रहेको थियो। उनले कार्यक्रमको सफलताको कामना गरेकी थिइन्।
कार्यक्रमको मुख्य आकर्षण विविध साङ्गीतिक कार्यक्रम रहेको थियो।साङ्गीतिक कार्यक्रमको मूख्य आकर्षण नेपाली गीत सङ्गीतको क्षेत्रका चर्चित गायक राजु लामा थिए। उनले आफ्ना चर्चित गीतहरु गाएर कार्यक्रम स्थललाई नेपालमय बनाएका थिए।
गायक लामाले आफ्नो चर्चित गीतहरु मेरो नेपाल, पर्खाइमा भिज्यो सिरानी, हल्लै हल्लाको सन्सार, नतानु त तानु तानु लाग्ने, उँभो उँभो खासा, तिमीलाई देखेर, बादल पारीको देशबाट, सायद तिम्रो बाटोमा लगायत गीतहरु प्रस्तुत गरेका थिए। यसैगरी, न्यू योर्कको ‘द एन्जेल व्याण्ड’ का साथै स्थानीय कलाकारहरुले उक्त मञ्चलाई साझा गर्दै आ-आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए। कार्यक्रममा कलाकारहरुलाई साथ दिदै सहभागीहरुले भरपूर मनोरञ्जन लिएका थिए।
कार्यक्रमको अर्को आकर्षणको पाटो थियो नेपाली स्वादका परिकारहरु र नेपाल र नेपालीको पहिचान तथा नेपालीपन झल्काउने स्टलहरु। नेपाली स्वाद दिलाउने विभिन्न खानाका परिकारहरुका ८ वटा, संस्थागत ५ वटा र अन्य १२ वटा गरी कूल २५ वटा स्टलहरु राखिएको थियो। त्यसैगरी, बालबालिकाहरुको मनोरञ्जनका लागि एभरेट सिटिको सहयोगमा खेल्ने सामग्रीहरुको पनि प्रबन्ध गरिएको थियो।
कार्यक्रम आयोजक संस्था जिबिएनसिका अध्यक्ष तथा कार्यक्रम संयोजक सन्दिप भट्टराईले कार्यक्रम हर्षोल्लासका साथ सफलतापूर्वक सम्पन्न भएको प्रतिक्रिया दिदै खुशी व्यक्त गरेका छन्। ‘नेपाल डे’ मा भएको प्रवासीहरुको उत्साहजनक बृहत सहभागिताले सामुदायिक एकतालाई थप मजबुत बनाउन र नेपाल र नेपालीको पहिचानलाई उजागर गर्दै थप उचाइमा पुर्याउन ‘नेपाल डे’ ले महत्वपूर्ण भूमिका खेलेको उनले दाबी गरे। कार्यक्रमका बारेमा प्रतिक्रिया दिदै उनले भने, ‘ कार्यक्रम सफलतापूर्व सम्पन्न भयो। नेपाली समुदायको बृहत् सहभागीले सामुदायिक एकतालाई थप मजबुत बनाएको छ। र, नेपाल र नेपाली पहिचानलाई थप उचाइमा पुर्याउन महत्वपूर्ण भूमिका खेलेको छ भन्ने हामीले महसुस गरेका छौं। कार्यक्रमबाट हामी निकै उत्साहित उत्प्रेरित भएका छौं।’
अध्यक्ष भट्टराईले यसका लागि सहयोगी संस्था एभरेट सिटी, अन्य संघ संस्थाहरु, कार्यसमिति, सदस्यहरु, प्रेस, कलाकारहरु लगायत सबै सहयोगी तथा प्रायोजकहरुलाई धन्यवाद दिएका छन्।

कार्यक्रममा संसारकै उच्च शिखर सगरमाथा ५ पटक र ८ हजार मिटर उचाइका ७ र के-२ सहित ८ वटा हिमालहरु आरोहण गरी नेपालको नाम विश्वमा चिनाउने पर्वतारोही पूर्णिमा श्रेष्ठप्रति सम्मान प्रकट गरिएको थियो। उनले गत वर्ष १३ दिनमा ३ पटक सगरमाथा चडेर महिलाको नाममा विश्व कीर्तिमान कायम गर्न सफल भएकी थिइन।
यसैगरी, कार्यक्रमको दौरानमा जिबिएनसिले एभरेट सिटीकी इडिआइ विभागकी निर्देशक क्याथी ड्राइन र दिपेन्द्र सुवेदीलाई नेपाली समुदायको उत्थानका लागि महत्वपूर्ण योगदान पुर्याएको भन्दै कदर स्वरुप प्रशंसा पत्र प्रदान गरेको थियो।
जिबिएनसिले समरभिल सिटिको साथमा सन् २०१२ बाट ‘नेपाल उत्सव’ मनाउन सुरु गरेको थियो। बिचमा विविध कारणले रोकिएको कार्यक्रम सन् २०१७ मा दोस्रो र सन् २०१९ मा तेस्रो ‘नेपाल उत्सव’ मनाइएको थियो। सन् २०१९ पछि भने विश्वव्यापि कोरोना कहरका कारण ‘नेपाल उत्सव’ आयोजना गर्न सकिएको थिएन। कोरोना कहरपछि सन् २०२२ मा चौथो ‘नेपाल उत्सव’ मनाइएको थियो। गत सन् २०२३ मा भने कार्यक्रम स्थल र नाममा परिवर्तन गरि एभरेट सिटिसंगको सहकार्यमा खुला मैदानमा बृहत ‘नेपाल डे’ मनाइएको थियो। जो निकै भव्य रुपमा सम्पन्न भएको थियो। गत वर्ष पनि यस कार्यक्रमलाई निरन्तरता दिइएको थियो। वर्षातले कार्यक्रम विथोलेका कारण सञ्चाल भइरहेको कार्यक्रम बिचैमा स्थगित गर्नु परेको थियो।














प्रतिक्रिया