मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
बोस्टन   
मनोरञ्जन   
मुख्य समाचार   

तिमल्सिनाको तीज विशेष गीत ”तीज आयो…” सार्वजनिक

तिमल्सिनाको तीज विशेष गीत ”तीज आयो…” सार्वजनिक


अमेरिका, बोस्टन। नेपाली गीत/सङ्गीतको क्षेत्रमा उदाउदै गरेकी गायीका शुशिला बस्नेत तिमल्सिनाको तीज विशेष गीत ‘तीज आयो साथी/सङ्गी हो…छम्म छम्म नाच्नी हो, लचक्क लचक्क कम्मर भाँच्नी हो…’ सार्वजनिक भएको छ। नेपालीहरुको नारी विशेष चाड हरितालिका तीज नजिकिदै गर्दा सातौं साङ्गीतिक सौगात स्वरुप उनको तीज केन्द्रित उक्त गीत सार्वजनिक भएको हो।

जनक रावलको शब्द/सङ्गीत रहेको यस गीतमा तिमल्सिनाको मुख्य स्वर रहेको छ भने, उनलाई बिमला रिजाल र बिमला परियारले कोरसमा स्वर दिएर साथ दिएका छन्। गीतलाई नेपाल र अमेरिकाको बोस्टन स्थिति पशुपतिनाथ तथा बुद्ध मन्दिरमा छायाङ्कन गरिएको छ। गीतमा माइती र चेली बिचको सम्बन्ध, चाडको मर्म, महत्व, नेपालीपन, पहिचान, धर्म, संस्कृति, परम्परा, रितिरिवाज आदिलाई समेट्ने प्रयास गरिएको छ भने, त्यसलाई गीतका शब्द, सङ्गीत, गायन, नृत्य र छायाङ्कनले जीवन्त बनाउने प्रयास गरिएको छ। गुणस्तरीय छायाङ्कन, सुन्दर दृश्यहरु, कर्ण प्रीय स्वर /सङ्गीत र मन छुने शब्दहरुका कारण यस पटकको तीजमा यस गीतले दर्शक/श्रोताहरुको मन जित्न सक्ने र गीतले आफ्नो अलग पहिचान राख्न सक्ने गायिका तिमल्सिनाले अपेक्षा गरेकी छिन्।

Advertisement
ADVERTISEMENT

तिमल्सिनाले झण्डै १० महिना अघि सेप्टेम्बर, २६,२०२४ मा आफ्नो पहिलो साङ्गीतिक सौगात स्वरुप ‘तिम्रो मायाको छहारीमा…’ गीत सार्वजनिक गरेकी थिइन्। अमेरिकाको बोस्टन क्षेत्रमा हुने नेपाली साङ्गीतिक कार्यक्रमहरुमा आफ्नो प्रस्तुति पस्कदै आएकी उनले लगतै दोश्रो साङ्गीतिक सौगातको रुपमा ‘धेरै दिन भैसकेछ…’ सार्वजनिक गरेकी थिइन्।

श्रोता/दर्शकबाट प्राप्त सकारात्मक उत्प्रेरक प्रतिक्रयाहरुका कारण साङ्गीतिक साधनामा होमिएकी उनले आफ्नो तेश्रो साङ्गीतिक सौगत स्वरुप ‘राधाकृष्ण…’ सार्वजनिक गरेकी थिइन्। उनी बोस्टन स्थित पशुपतिनाथ तथा बुद्ध मन्दिरमा हरेक आइतबार साँझ हुने भजन कीर्तन र अन्य धार्मिक कार्यक्रमहरुमा हुने भजन कीर्तन कार्यक्रममा भजन गाउदै आइरहेकी छिन्। यसैगरी उनको गीत ‘ तिम्रो मन… ‘ र सलाम छ मायालाई…’ पनि श्रोता/दर्शक सामु सार्वजनिक भैसकेका छन्।

बाल्यकालदेखि नै साङ्गीतिक क्षेत्रमा रुची राख्दै आएकी तिमल्सिनाले नेपाल रहदा र अमेरिका आइसकेपछि पनि विविध कारणले आफ्नो रुचीलाई सोचे जसरी अभियानका रुपमा अघि बढाउन सकेकी थिइनन्। तर, उनले गीत/सङ्गीतप्रतिको समर्पणलाई भने निरन्तरता दिइनै रहेकी थिइन्। यतिबेला भने उनले आफ्नो गीत सङ्गीतप्रतिको मोह र समर्पणलाई अभियानकै रुपमा अगाडि बढाइरहेकी छिन्।

उनि भन्छिन्, ‘सोखका रुपमा प्रारम्भ भएको मेरो गीत/ सङ्गीतको यात्रा, साधनासंगै समर्पण उन्मुख भइरहेको छ। नेपाली गीत/सङ्गीतको क्षेत्रमा केही योगदान पुर्याउ भन्ने हुटहुटी जागेको छ। सक्दो प्रयास गरिरहेको छु। गरिरहने छु।’

वर्ष दिन भित्रै आधा दर्जन गीतहरु गाएर सार्वजिक गरिसकेकी गायिका तिमल्सिनाले श्रोता/ दर्शकहरुबाट प्राप्त प्रतिक्रियाहरु उत्साह जनक रहेको र त्यसले आफूलाई थप सक्रिय रहन उत्प्रेरित गरिरहेको बताइन्। आगामी दिनमा नेपाली सङ्गीतको विविध विधामा गीतहरु गाएर सार्वजनिक गर्ने आफ्नो योजना रहेको उनले बताइन्।

गायिका तिमल्सिनाले नजिकिदै गरेको तीजको शुभकामना व्यक्त गर्दै आफ्नो तीज विशेष पहिलो गीत सुनेर र हेरेर प्रतिक्रिया दिन दर्शक/श्रोताहरुलाई अनुरोध समेत गरेकी छिन्।

शेयर गर्नुहोस:

2.4k
Shares