अमेरिका, बोस्टन। जुन २२, २०२५ आइतबारका दिन अमेरिकाको बोस्टन सहर स्थित ऐतिहासिक तथा पर्यटकीय स्थान क्यासल आइल्याण्डमा नेपालीहरुको बृहत् भेला भएको थियो। ग्रीष्म ऋतुका बेला भएको उक्त बृहत भेलाले नेपाली समुदायको मेला नै लागेको जस्तो झल्को दिएको थियो।
प्रवासी नेपालीहरुको उक्त बृहत भेला गर्ने चाँजो पाँजो अमेरिकाको ग्रेटर बोस्टन क्षेत्रमा क्रियाशील प्रवासी नेपालीहरुको संस्था ग्रेटर बोस्टन नेपाली कम्युनिटि(जिबिएनसि)ले मिलाएको थियो। एकै थलोमा भेला भएर खानपानसहित मनोरञ्जन गर्दै आपसी आत्मीयता साटासाट गर्ने, एकताबद्ध हुने, भाइचाराको सम्बन्धलाई थप कसिलो र रसिलो बनाउने र नेपाल र नेपालप्रतिको श्रध्दा र सद्भावलाई अझ गाढा बनाउने भेलाको मुख्य उद्देश्यहरु रहेको थियो।
कार्यक्रममको दौरानमा जिबिएनसिको आयोजनामा गत मे मिहिनामा सम्पन्न भएको ‘अभिनय प्रशिक्षण कार्यशाला’ मा मूख्य प्रशिक्षकको भूमिका निर्वाह गर्ने रङ्गकर्मी राजन खतिवडा, संयोजनकारी भूमिका निर्वाह गर्ने रङ्गकर्मी मणिराम पोखरेल र प्रमुख सहयोगीको भूमिका निर्वाह गर्ने रङ्गकर्मी अरुणा कार्कीलाई कदर स्वरुप प्रशंसा पत्र प्रदान गरिएको थियो। उनिहरुकै महत्वपूर्ण योगदानमा गत मे ११ तारिख २५६९औं बुद्ध जयन्तीको दिन बोस्टनमा ‘जीवनदेखि जीवनसम्म’ नाटक सफलतापूर्क प्रदर्शन गरिएको थियो। जसले चौतर्फी चर्चा पनि पायो। उक्त कार्यशालामा प्रशिक्षण लिइ नाटकमा अभिनय गर्ने कलाकारहरुलाई पनि उनिहरुको मेहनत र योगदानको प्रशंसा गर्दै भेलामा प्रशंसा पत्र प्रदान गरिएको थियो। यसैक्रममा, कार्यक्रममा विभिन्न प्रकारका खाना तथा सरसामानहरु सौजन्य गरेर सहयोग गर्ने तथा आर्थिक सहयोग गर्नेहरुलाई पनि कदर स्वरुप प्रशंसा पत्र प्रदान गरिएको थियो।
जिबिएनसिले हरेक वर्ष यस प्रकारको बृहत भेलाको आयोजना संस्थाको प्रमुख कार्यका रुपमा गर्दै आइरहेको छ। ‘वनभोज’ नाम दिइएको उक्त बृहत भेलामा ग्रेटर बोस्टनको विभिन्न क्षेत्रमा बसोबास गर्ने झण्डै एक हजार प्रवासी नेपालीहरुको सहभागिता रहेको थियो।
अपरान्ह १२ बजेबाट सुरु भएको कार्यक्रम, साँझ अबेर सम्पन्न भएको थियो। कार्यक्रममा सहभागीहरुले नेपाली पन र पहिचानसहितका बिभिन्न स्वादिष्ट परिकारहरु खादै नेपाली गीत सङ्गीतमा नाच्दै गाउदै रमाएका थिए। यस अवसरको सदुपयोग गर्दै सहभागीहरुले ऐतिहासिक तथा पर्यटकीय क्षेत्रको रुपमा चिरपरिचित क्यासल आइल्याण्डको मनमोहक दृश्यहरु अवलोकन गर्न र संझनाका लागि सुन्दर तस्बिरहरु खिच्न पनि चुकेनन्।
जिबिएनसिका अध्यक्ष सन्दिप भट्टराईले कार्यक्रम भव्यताका साथ सम्पन्न भएको प्रतिक्रिया दिदै कार्यक्रम सफल बनाउन प्रत्यक्ष परोक्ष रुपमा साथ सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरेका छन्। उनले कार्यक्रमको दौरानमा देखिएका कमिकम्जोरीहरुलाई आगामी दिनहरुमा सुधार गर्ने प्रतिबद्धता जनाउदै आगामी दिनमा पनि सबैबाट यस्तै साथ सहयोगहरु प्राप्त हुने अपेक्षा व्यक्त गरे। अध्यक्ष भट्टराईले जिबिएनसिले हरेक वर्ष गर्दै आइरहेको ‘नेपाल डे’ आगामी जुलाई २०, २०२५ आइतबार एभरेट सिटी स्थित ग्लेन्डल पार्क(Glendale Park) मा आयोजना गर्ने गरी आवश्यक तयारी गरिरहिएको जानकारी दिदै उक्त कार्यक्रममा पनि सपरिवार सहभागी भइदिन सबै प्रवासी नेपालीहरुलाई चुले निम्तो समेत दिएका छन्।
प्रतिक्रिया