अमेरिका, बोस्टन। ‘रक्तदान, जीवन दान’ भन्ने मूल नारालाई आत्मसात् गर्दै परोपकारी अभियानमा जुट्दै आइरहेको संस्था ‘ब्लड डोनर्स अफ अमेरिका’ को पाँचौं राष्ट्रिय अधिवेशन अमेरिकाको बोस्टन सहरमा हुने भएको छ। ‘छैठौं गजल उत्सव’ सहितको उक्त अधिवेशन आउदो जुलाई १९ र २०, २०२५ (शनिवार र आइतवार) म्यासाच्युसेट्स राज्यको बोस्टन सहर नजिकै 594 Washington Street, Braintree स्थिति पशुपतिनाथ बुद्ध फाउण्डेशन अफ न्यू इङ्गल्याण्ड(प्याब्फोन)को सामुदायिक भवनमा हुने तय गरिएको छ। अमेरिकाका लागि नेपाली राजदूत लोक दर्शन रेग्मीको प्रमुख आतिथ्यता रहने उक्त अधिवेशनले संस्थाको वार्षिक साधारण सभा र आगामी कार्यकालका लागि नयाँ केन्द्रीय कार्यसमिति चयन गर्ने कार्य सम्पन्न गर्नेछ।
बिडिएका केन्द्रीय उपाध्यक्ष महेश्वर पन्तका अनुसार अधिवेशनलाई भव्यताका साथ सम्पन्न गर्न केन्द्रीय उपाध्यक्ष महेश्वर पन्त संयोजक र उपाध्यक्ष टिका पौडेल, महासचिव डाक्टर शीरोज पोखरेल, केन्द्रीय सदस्य बिरोचन नेपाल, बोस्टन च्याप्टर अध्यक्ष राम थापा, आजीवन सदस्यहरु थानिरत्न कंडेल, सानु वर्मा, अन्जु थापा लगायत सह-संयोजक रहेको अधिवेशन मूल आयोजक समिति गठन गरी आवश्यक तयारी अगाडि बनाउन समितिलाई जिम्मेवारी सुम्पिसकिएको छ।
अधिवेशन संयोजक पन्तका अनुसार रक्तदान कार्यक्रम सहित अधिवेशनको उद्घाटन जुलाई १९, २०२५ शनिवार हुनेछ। रक्तदान कार्यक्रम बिहान ८ बजेदेखि अपरान्ह २ बजेसम्म गरिने र त्यस दौरानमा रक्तदानसंग सम्बन्धित छलफल तथा जनचेतनामूलक सन्देशहरु पनि प्रवाह गरिने भएको छ। १९ तारिख शनिवार साँझ साङ्गीतिक गजल गायन कार्यक्रम गरिने भएको छ।
कार्यक्रम तालिका अनुसार जुलाई २० तारिख आईतवारका दिन साधारण सभा अन्तर्गतका विभिन्न प्रस्तावहरु प्रस्तुत हुने, आवश्यक छलफल गरी त्यसलाई पारित गरिनुका साथै संस्थाको विधान अनुसार आगामी कार्यकाल(२०२५-२७) का लागि नयाँ कार्यसमिति समेत चयन गरिने छ। साथै, यसै दिन ‘ छैठौं गजल उत्सव’ कार्यक्रम हुने र त्यस उत्सवका दौरानमा गजलकारहरुले आ-आफ्ना गजलहरु बाचन गरेर अधिवेशनलाई सहित्यमय बनाउने कार्यतालिका रहेको अधिवेशन संयोजक पन्तले जानकारी दिए।
मानव कल्याणका लागि ‘रक्तदान अभियान’ लाई आफ्नो मूल मन्त्र बनाएर अघि बढिरहेको बिडिएको पाँचौं राष्ट्रिय अधिवेशन बोस्टनमा गर्ने निर्णय हुनु समग्र न्यू इङ्गल्याण्डबासी नेपाली समुदायकै गर्वको विषय भएको जिकिर गर्दै संयोजक पन्तले अधिवेशन सफल बनाउन आवश्यक साथ, सहयोग र सहभागिताका लागि सरोकारवाला सबैलाई अनुरोध समेत गरेका छन्।
रक्तदान बारे जनचेतना जगाउने, रगत संकलन गर्ने तथा रक्तदानसंग सम्बन्धित अन्य क्रियाकलापहरु गर्ने उद्देश्यका साथ सन् २००९ मा ब्लड डोनर्स अफ अमेरिका (बिडिए) को स्थापना भएको हो।
प्रतिक्रिया