अमेरिका, बोस्टन।विश्वकै शिखर सगरमाथा, शान्तिका अग्रदूत बुद्ध, बिर गोर्खाली आदि को देश भनि चिनिने नेपाललाई अब ‘प्रेम भूमि’ को रुपमा विश्वभर चिनाउने साहित्यिक अभियान अमेरिकामा सुरु गरिएको छ। यस अभियानको दौडाहामा होमिएका साहित्यकारहरुले गत जुन १५ तारिख आइतबार बोस्टनमा आयोजित एक साहित्यिक कार्यक्रममा अभियानको बारेमा चर्चा र छलफल गरेका थिए। कार्यक्रममा साहित्यकारहरुले नेपाललाई ‘प्रेम भूमि’ का रुपमा विश्वभर चिनाउने साहित्यिक अभियान गौरवपूर्ण भएको जनाउदै अभियानमा जोडिन सबैलाई अपिल गरेका छन्।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज(अनेसास), बोस्टन च्याप्टरले आयोजना गरेको ‘स्वागत तथा साहित्यिक छलफल कार्यक्रम’मा बोल्दै अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुवेदीले नेपाली साहित्यका दिग्गज व्यक्तित्वहरु रहेको बोस्टनले समग्र नेपाली साहित्य र अनेसासको उत्थानमा अहम भूमिका निर्वाह गरिरहेको बताए। सम्बोधनका क्रममा उनले बोस्टन नेपाली साहित्यको विद्यापीठ नै भएको जिकिर गर्दै बोस्टनले नेपाली साहित्य क्षेत्रको विकासमा पुर्याएको योगदानको खुलेर प्रशंसा गरे। संस्थापक अध्यक्ष सुवेदीले नेपाललाई विश्वभर ‘प्रेम भूमि’ को रुपमा परिचित गराउन कवि कबिन्द्र सिटौलाले थालेको अभियानको तारिफ गर्दै अभियानलाई सफल बनाउन सबै एकजुट हुन अनुरोध गरे।
कार्यक्रमका अतिथि अनेसासका केन्द्रीय पूर्व अध्यक्ष मोहन सिटौलाले कवि कबिन्द्र सिटौलाको अभियान सफल बनाउनका लागि अभियानमा जोडिन सबैलाई आव्हान गरेका थिए। ‘मैले विश्व परिवर्तन गर्न सक्छु ‘ भन्ने भावले अभियानमा होमिएमा अभियान सफल हुने जिकिर गर्दै उनले सबै जुटे छिट्टै नै अभियान सफल हुने विश्वास व्यक्त गरे।
कार्यक्रममा ‘मेरो देश प्रेमको देश’ भन्ने सन्देश लिएर नेपाललाई ‘प्रेम भूमि’ का रुपमा विश्वभर चिनाउने अभियानमा होमिएका कवि कबिन्द्र सिटौलाले अभियानको ढाँचा, मूख्य उद्देश्य, औचित्य र लक्ष्यका बारेमा प्रकाश पारेका थिए। उनले प्रेमको सन्देश विश्वभर फैलाउदै नेपाललाई ‘प्रेम भूमि’ का रुपमा चिनाउने अभियान लिएर आफू विश्व दौडाहामा निस्किएको बताए। अभियान्ता सिटौलाले यस अभियानका दौरानमा विश्वभरबाट ‘प्रेम’ केन्द्रित एक लाख कविताहरु सङ्कलन गरेर विश्व रेकर्ड राख्दै नेपाललाई ‘प्रेम’ को देशको पहिचान दिलाएर चिनाउने अभियानको लक्ष्य रहेको बताए। उनले अभियानलाई सफल बनाउन सबैले अपनत्व ग्रहण गरेर साथ सहयोग गरिदिन अनुरोध गरे।
अनेसास बोस्टन च्याप्टरका अध्यक्ष अबि गजुरेलको अध्यक्षता रहेको कार्यक्रममा, अनेसासका पूर्व केन्द्रीय अध्यक्ष गोवर्ध्दन पूजा, वर्तमान कार्यसमितिका केन्द्रीय वरिष्ठ उपाध्यक्ष लालगोपाल सुवेदी, अनेसास बोस्टन च्याप्टरका निवर्तमान अध्यक्ष महेश्वर पन्त, पूर्व अध्यक्ष यम पौडेल, प्याब्फोनका अध्यक्ष बिरोचन नेपाल लगायतले कार्यक्रममा सम्बोधन गर्दै साहित्यिक अभियान ‘नेपाल-प्रेम भूमि’ को प्रशंसा गरेका थिए। उनिहरुले अभियानलाई सक्दो साथ दिने जनाउदै सफलताको कामना समेत गरेका थिए।
कार्यक्रमको दौरानमा साहित्यकार लालगोपाल सुवेदीले ‘प्रेम’मा केन्द्रित भएर लेखिएको आफ्नो कविता बाचन गरेका थिए भने साहित्यकार महेश्वर पन्तले सङ्गीतको साथमा आफ्नो गजल ‘मलाई दुखेको बेला’ प्रस्तुत गरेका थिए।
यसैबिच साहित्यकार लालगोपाल सुवेदीको काव्य कृति ‘ चेतन प्रवाहमा सारेगमप’ बिमोचन गरिनुका साथै साहित्यकार महेश्वर पन्तले आफ्नो कृति ‘उडेका पैताला’ र साहित्यकार प्रकाश खड्का(अभियान)ले आफ्नो पहिलो कविता संग्रह ‘अथक अभिलाषा’, सम्मान र सत्कार स्वरुप अतिथिहरुलाई प्रदान गरेका थिए।
कार्यक्रम आयोजक अनेसास बोस्टन च्याप्टरका महासचिव प्रतिक रावलले सञ्चालन गरेको र उपाध्यक्ष प्रकाश खड्काले पाहुना तथा सहभागीहरुलाई स्वागत गरेको कार्यक्रममा, अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुवेदी, पूर्व अध्यक्ष मोहन सिटौला र कवि कबिन्द्र सिटौलालाई अनेसास बोस्टन च्याप्टरले खादा लगाएर स्वागत गरेको थियो। यसै क्रममा, प्याब्फोनले पनि मन्दिरका पूजारी पण्डित गोकुल कंडेल मार्फत स्वस्तिवाचन गराएर स्वागत गरेको थियो।
प्रतिक्रिया