अमेरिका, लस भेगास। नेपाल अमेरिका पत्रकार संघ(नेजा)को नवौं अधिवेशन अमेरिकाको पश्चिम क्षेत्र नेभाडा राज्यको लस भेगसमा सुरुहुदै छ। संघको विधानमा व्यवस्था भए अनुसार, तीन महिना अघि नै तय गरिएको यस अधिवेशन आज मे १० र भोली मे ११ तारिख(शनिबार र आइतबार) पर्यटकीय सहरका रुपमा चिरपरिचित सहर लस भेगसस्थित प्यालेस स्टेशन होटमा हुन लागेको हो।
नेजाका अध्यक्ष सुरज भण्डारीले दिएको जानकारी अनुसार उक्त अधिवेशनमा नेजाको वर्तमान कार्यसमितिको तर्फबाट महासचिव र कोषाध्यक्षद्वारा वार्षिक प्रतिवेदन प्रस्तुत गरिने, त्यस उपर आवश्यक छलफल गरिने र पारित गरिने छ भने, संघको अन्य महत्वपूर्ण विषयहरुमा पनि आवश्यक निर्णय लिइने छ। अधिवेशनकै दौरानमा नेजाले नियमित रुपमा प्रकाशन गर्दै आइरहेको ‘प्रयास’ प्रकाशित गर्नुका साथै पत्रकारिता क्षेत्रमा अमूल्य योगदान गरेका २ पत्रकारहरुलाई सामुदायिक पत्रकारिता पुरस्कार र २ पत्रकारहरुलाई नेजा-एनआरएनए पत्रकारिता सम्मान प्रदान गरिने भएको छ। यसैगरी, यस अधिवेशनले संस्थाको विधान अनुसार आगामी २ वर्षीय कार्यकाल (सन् २०२५-२७) का लागि नयाँ कार्यसमितिसमेत चयन गर्ने छ। नयाँ कार्यसमिति चयन गर्नका लागि यस अघि नै संस्थाका संस्थापक अध्यक्ष गिरीश पोख्रेलको संयोजकत्वमा तारा रावल, मोहन सिंह लामा, रामेश्वर भण्डारी र गोपाल गर्तौला सदस्य रहेको निर्वाचन समिति गठन गरेर जिम्मेवारी प्रदान गरिसकिएको छ। निर्वाचन समितिका संयोजक पोख्रेलले विधान अनुसार निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी पूरा गर्न निर्वाचन समिति आवश्यक तयारीमा जुटिरहेको बताएका छन्।
नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माको प्रमुख अतिथ्यतामा उद्घाटन हुने नवौं अधिवेशनमा सहभागिता जनाउनका लागि अधिकांशका पाहुनाहरु र संघका सदस्यहरु कार्यक्रम स्थलमा आइपुगिसकेका र आउने क्रम अझैं जारी रहेको अध्यक्ष भण्डारीले बताए। अधिवेशनको कार्यतालिका अनुसार अधिवेशनको उद्घघाटन आज ४ बजे हुदैछ। उद्घाटन कार्यक्रम समापन पश्चात् संघको १८ औं वार्षिक साधारणसभाको बन्दसत्र सुरु गरिनेछ। र, बन्दसत्र सकिए लगत्तै आगामी कार्यकालका लागि नयाँ कार्यसमिति चयन गर्न निर्वाचन प्रक्रिया अगाडि बढाइने भएको छ। कार्यतालिका अनुसार अधिवेशन मे ११ मा सम्पन्न गरिने लक्ष्य राखिएको छ।
नेजाका अनुसार, संघमा हालसम्म २ जना मानार्थ सदस्य, ६३ जना आजीवन सदस्य र १२४ जना साधारण सदस्य रहेका छन्। अधिवेशन अन्तर्गत हुने साधारणसभा र निर्वाचन प्रक्रियामा मताधिकारसहित भाग लिनका लागि भने संघको विधान अनुसार निर्धारित समय अवधिभित्र आफ्नो नाम दर्ता गरेका ८१ जना सदस्यहरु मात्र योग्य रहेका छन्।र, ४ जना सदस्यहरुले पर्यवेक्षकको रुपमा सहभागिता जनाउन पाउने भएका छन्।
प्रतिक्रिया