मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
बोस्टन   
मुख्य समाचार   

तीन दिने विशेष कार्यक्रम गरी बोस्टनमा २५६९औं बुद्ध जयन्ती मनाउने तयारी

तीन दिने विशेष कार्यक्रम गरी बोस्टनमा २५६९औं बुद्ध जयन्ती मनाउने तयारी


अमेरिका, बोस्टन। अमेरिकाको बोस्टनमा ३ दिने विशेष कार्यक्रम गरी २५६९औं बुद्ध जयन्ती भव्यताका साथ मनाउने तयारी गरिएको छ। विगतमा झैं यस वर्ष पनि पशुपतिनाथ बुद्ध फाउण्डेशन अफ न्यू इङ्गल्याण्ड(प्याब्फोन)ले न्यू इङ्गल्याण्ड क्षेत्रमा क्रियाशील नेपाली समुदायका विभिन्न संघसंस्थाहरुसंग मिलेर विविध क्रियाकलापहरु गरी बुद्ध जयन्ती भव्यताका साथ मनाउन लागेको हो।

प्याब्फोन कार्यसमितिका अध्यक्ष बिरोचन नेपालले जानकारी अनुसार, २५६९औं बुद्ध जयन्ती विशेष रुपमा मनाउनका लागि आउदो मे १० देखि १२ तारिखसम्म 594 Washington Street, Braintree स्थित पशुपतिनाथ तथा बुद्ध मन्दिरमा ‘बुद्ध’ केन्द्रित विविध क्रियाकलापहरु गरिने भएको छ।

प्राप्त जानकारी अनुसार मे १० शनिबारका दिन बोस्टन तमु समाजको नेतृत्वमा विहान ९ बजेदेखि १ बजेसम्म बौद्ध गुरु तथा भन्तेहरुबाट भगवान बुद्धको विशेष पूजा  गर्नुका साथै विविध क्रियाकलापहरु हुने भएको छ। त्यैगरी, मे ११ तारिख आइतबार दिउसो ३ बजेदेखि ७:३० बजेसम्म न्यू इङ्गल्याण्ड क्षेत्रका क्रियाशील नेपाली समुदायका विभिन्न संघ संस्थाहरुसंगको सहकार्यमा पूजा, पाठ, प्रवचन, भजन कीर्तन र आरती गरिने छ।

तत्पश्चात् विशेष प्रस्तुतिका रुपमा डाक्टर अभि सुबेदी कृत बुद्ध सम्बन्धी नाटक ‘जीवनदेखि जीवनसम्म’ प्रदर्शन गरिने तयारी गरिएको छ। ग्रेटर बोस्टन नेपाली कम्युनिटीको आयोजनामा गत मार्च २३ तारिखबाट सुरु गरिएको ६ दिने(हरेक आइतबार) अभिनय प्रशिक्षण कार्यशालामा सहभागी प्रशिक्षार्थीहरुले उक्त नाटक मञ्चन गर्ने गरी तयारी गरिरहेका छन्। यसका लागि नाट्य कलाकार द्वय राजन खतिवडा र अरुणा कार्कीले मुख्य प्रशिक्षकको भूमिका निर्वाह गरिरहेका छन् भने, मणिराम पोख्रेल, प्रमिला कटुवाल कार्की, मिलनकुमार कार्कीलगायत रङ्गकर्मीहरुले सहयोगीको भूमिका निर्वाह गरिरहेका छन्।

कार्यक्रम तालिका अनुसार मे १२ तारिख सोमबार बुद्ध जयन्तीको दिन बौद्ध गुरु तथा भन्तेहरुको अगुवाइमा शरणागमन, शील प्रदान, सामूहिक रत्न मण्डल अर्पण, पञ्चोपचार पूजा, जप, ध्यान, बुद्ध ज्ञान तथा प्रवचन, पूजा, पूण्यानुमोदन, दान, गुरुमण्डल पूजा, माटो शोधन, सामूहिक चैत्य पूजा जस्ता धार्मिक क्रियाकलापहरु गरिने भएको छ। अध्यक्ष नेपालले बुद्ध जयन्तीको अवसरमा तय गरिएका तीनै दिनका कार्यक्रमहरुमा सहभागी भइदिनुहुन न्यू इङ्गल्याण्डबासी सबै नेपालीहरुलाई अनुरोध गरेका छन्।

यस वर्ष २०८२ साल बैशाष २९ गते अर्थात सन् २०२५, मे १२ तारिख सोमबार बुद्ध जयन्ती परेको छ। यस दिन नेपालको लुम्बिनीमा जन्मिएर कठोर तपस्या पश्चात् बुद्धत्व प्राप्त गरी समस्त जगतको कल्याणका लागि विश्वलाई शान्तिको अमूल्य दर्शन दिन सफल ‘बुद्ध’ को जीवनी, तपस्या, योगदान, ज्ञान, दर्शनको स्मरण गर्दै ध्यान, जप, पूजा, पाठ गरेर बुद्धप्रति श्रध्दा अर्पण गर्ने गरिन्छ।

देशको कुल जनसङ्ख्याको ८.२ प्रतिशत जनसङ्ख्या बुद्धका अनुयायीहरु रहेको देश नेपाल सहित भारत, चीन, भुटान, जापान, कोरिया, श्रीलङ्का, थाइल्याण्ड, बर्मा, कम्बोडिया, भियत्नाम लगायत देशहरुमा बुद्ध जयन्ती विशेष रुपमा मनाउने गरिन्छ। यसका अलावा विश्व भर छरिएर रहेका बुद्धका अनुयायीहरुले पनि विविध क्रियाकलापहरु गरेर यो दिवस मनाउने गर्दछन्। बुद्ध धर्म मान्ने र बुद्धको मार्ग पछ्याउने विश्व भर झण्डै ३५ करोड मानिसहरु रहेको अनुमान गरिएको छ।

शेयर गर्नुहोस:

2.7k
Shares