मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल नेपाली   
बोस्टन   
मुख्य समाचार   

एनआरएनए अमेरिकाको छात्रवृति पाउनेहरुको नाम सार्वजनिक

एनआरएनए अमेरिकाको छात्रवृति पाउनेहरुको नाम सार्वजनिक

१६ जना विद्याथीहरुले पाए छात्रवृति, जनही १ हजार डलर दिइने


अमेरिका, बोस्टन। गैरआवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद्(एनआरएनए,एनसिसि)अमेरिकाले यस वर्ष अर्थात सन् २०२५ का लागि संघद्वारा प्रदान गरिने छात्रवृति प्राप्त गर्न सफल अमेरिकाको विभिन्न विश्वविद्यालयहरुमा अध्ययनरत नेपाली मूलका विद्यार्थीहरुको नाम सार्वजनिक गरेको छ।

संघका युवा उपाध्यक्ष अनुप खनाल संयोजक रहेको विद्यार्थी, युवा र खेलकूद समितिले छात्रवृति प्राप्त गर्न सफल विद्यार्थीहरुको नाम सार्वजनिक गरेको हो। गत अप्रिल २६ तारिख शनिवार घोषणा कार्यक्रमको आयोजना गरेर सामाजिक सञ्जालमार्फत छात्रवृति प्राप्त गर्न सफल विद्यार्थीहरुको नाम सार्वजनिक गरिएको थियो। जस अनुसार छात्रवृति प्राप्त गर्नका लागि निवेदन दिने ३३४ जना विद्यार्थीहरु मध्य १६ जना विद्यार्थीहरु छात्रवृति प्राप्त गर्न सफल भएका छन्। जस मध्य आवेदन दिने विद्यार्थीहरुको अनुपातका आधारमा मध्य-पशिचिम क्षेत्रबाट-३, उत्तर-पूर्वबाट-४, दक्षिणबाट-६ र पश्चिमबाट-३ जना छानिएका छन्। छात्रवृतिका लागि छनोट भएका विद्यार्थीहरुलाई संघले जनही एक हजार डलर नगद प्रदान गर्ने भएको छ।

संघको छात्रवृति पाउने विद्यार्थीहरुको नाम छनोट गर्नका लागि डाक्टर निर्जल सापकोटाको नेतृत्वमा डाक्टर दीप एन महत्व, सुमना दवाडी र प्रेम सुवेदी रहेको छनोट समिति बनाइएको थियो। घोषणा कार्यक्रमको दौरानमा, छनोट समितिले आवेदक विद्यार्थीहरुको शैक्षिक स्तर, जुनियर सेनियर, व्यक्तिगत तथ्याङ्क, अतिरसिक्त क्रियाकलापहरु, आवश्यकताको आधार र नेपाली समुदायलाई पुर्याएको योगदानलाई मुल्याङ्कनको मुख्य आधार बनाएर १६ जनाको छनोट गरिएको छनोट समितिका चेयर डाक्टर सापकोटाले जानकारी दिएका थिए। विद्यार्थीहरुलाई अध्ययनमा लाग्ने खर्चमा केही राहत प्रदान गर्दै उनिहरुलाई अध्ययनमा थप प्रोत्साहित गराउने उद्देश्यले एनआरएनए, एनसिसि, अमेरिकाले हरेक वर्ष छात्रवृति प्रदान गर्दै आइरहेको छ।

छात्रवृति प्राप्त गर्न सफल विद्यार्थीहरु।

घोषणा कार्यक्रममा छनोट समितिले सार्वजिक गरे अनुसार वर्ष २०२५ को छात्रवृति प्राप्त गर्न सफल विद्यार्थीहरुमा अन्जिला देशमारु (युनिभर्सिटी अफ साउथ डाकोटा), बिधत्री अमात्य(युनिभर्सिटी अफ सिन्सिनाटी), प्रथम राज भुजेल (युनिभर्सिटी अफ विस्कन्सिन, ग्रिन वे), आयुषा पोखरेल(बार्नार्ड कलेज अफ कोलम्बिया युनिभर्सिटी), प्रजिता श्रेष्ठ(युनिभर्सिटी अफ म्यारील्यान्ड, बाल्टिमोर काउन्टी), रुशिल निधि नेपाल (युनिभर्सिटी अफ रोड आइल्याण्ड), दिवश पन्त (युनिभर्सिटी अफ बफेलो),मनोज बगाले(फिस्क युनिभर्सिटी), शुभांशु पोखरेल(युनिभर्सिटी अफ केन्टकी), प्रभिन बजगाई (युनिभर्सिटी अफ साउथर्न मिसिसिप्पी), सुस्मा लम्साल (टेक्सास स्टेट युनिभर्सिटी), एलिना दहाल(युनिभर्सिटी अफ लुइजियाना),रमिका पाण्डे (फिस्क युनिभर्सिटी), मौसहम बिष्ट (ब्रिघम यंग युनिभर्सिटी-आइडाहो), अनुभव अधिकारी(द कलेज अफ आइडाहो) र अन्जली कार्की(युनिभर्सिटी अफ आइडाहो) रहेका छन्।

छात्रवृत्ति विजेताहरूको नाम घोषणा गर्ने कार्यक्रममा एनआरएनए, एनसिसि, अमेरिकाका अध्यक्ष डाक्टर अर्जुन बन्जाडेले एनआरएनको विभिन्न कामहरु मध्यको एक महत्वपूर्ण काम छात्रवृति वितरण रहेको बताए। उनले प्रादन गरिने छात्रवृतिको मूल्य केवल पैसा मात्र नभएर गौरवको विषय पनि भएको जिकिर गरे। विद्यार्थीहरु एनआरएनएको सदस्य बन्न नसकेपनि उनिहरुलाई एनआरएनए अभियानमा जोडाउन छात्रवृति कार्यक्रम एम महत्वपूर्ण माध्यम बनेको बताए। घोषणा कार्यक्रममा संघका पदाधिकारीहरू, विभिन्न समितिका संयोजकहरु, संघ आबद्ध अन्य व्यक्तित्वहरु लगायतकाको सहभागिता रहेको थियो। उनिहरुले छात्रवृतिका लागि छानिएका विद्यार्थीहरूलाई बधाई ज्ञापन गर्दै उज्ज्वल भविष्यको कामनासमेत गरेका थिए।

छात्रवृत्ति प्राप्त गर्न सफल विद्यार्थीहरूले एनआरएनए, अमेरिकाद्वारा प्रदान गरिने छात्रवृतिले नेपाली मूलका विद्यार्थीहरुलाई केही हदसम्म आर्थिक राहत प्रदान गर्नुका साथै अध्ययनमा थप सक्रिय रहन प्रोत्साहन प्रदान गरेको प्रतिक्रिया दिएका छन्। संघद्वारा प्रदान गरिने छात्रवृतिले आफूहरुको शैक्षिक यात्रामा थप ऊर्जासहितको उत्प्रेरणा दिएको बताउदै उनिहरुले एनआरएनए, एनसिसि, अमेरिकालाई विशेष धन्यवाद दिएका छन्।

शेयर गर्नुहोस:

2.3k
Shares