अमेरिका, बोस्टन। नेपाल अमेरिका पत्रकार संघ(नेजा)ले अमेरिकाको बोस्टनमा विविध क्रियाकलापहरु गरेर समुदायसंगै नेजा स्थापना दिवस मनाएको छ। नेजा स्थापना दिवस मनाउने क्रममा गत अप्रिल २० तारिख आइतवारका दिन 594 Washington Street, Braintree,MA-02184 स्थित पशुपतिनाथ बुद्ध फाउण्डेशन अफ न्यू इङ्गल्याण्ड(प्याब्फोन)को सामुदायिक भवनमा अन्तरक्रिया, शुभकामना आदानप्रदान र शान्ति दीप प्रज्वलन गरिएको थियो। उक्त कार्यक्रममा न्यू इङ्गल्याण्ड क्षेत्रमा क्रियाशील नेपाली समुदायका संस्थाहरुका प्रमुख तथा प्रतिनिधिहरु एवम् सामाजिक व्यक्तित्वहरुको सहभागिता रहेको थियो। समुदायसंगै नेजा स्थापना दिवस मनाएर आपसी सम्बन्धलाई थप मजबुत बनाउने र सहभागीहरुबाट अमूल्य सुझावहरु सङ्कलन गर्ने कार्यक्रमको मुख्य उद्देश्य रहेको थियो।
फोटो सौजन्य : सुरेन्द्र नापित ।
प्रमुख कार्यक्रम अन्तर्गत, सहभागीहरुले ‘सामुदायिक उत्थानमा हाम्रो एकता’ विषयमा केन्द्रित रहेर अन्तरक्रिया गरेका थिए। कार्यक्रमको प्रारम्भमा नेजाका उत्तर-पूर्व क्षेत्रीय संयोजक सुपेन्द्र बस्नेतले सहभागीहरुलाई स्वागत गर्दै कार्यक्रमको मूल उद्देश्य, महत्व र औचित्यका बारेमा प्रकाश पारेका थिए। उनले नेजाको पृष्ठभूमिसहित स्थापना दिवसका बारेमा संक्षिप्त जानकारी दिदै अन्तरक्रियाका लागि विषयवस्तु ‘सामुदायिक उत्थानमा हाम्रो एकता’ प्रवेश गराएका थिए। सहभागीहरुले उक्त विषयवस्तु उपर आफ्ना धारणहरु राख्दै प्रवासी नेपाली समुदायको उत्थानका लागि सामुदायिक संघ संस्थाहरु र प्रेस जगतबिचको एकता अपरिहार्य रहेकोमा विशेष जोड दिएका थिए। आफ्नो संस्थागत उद्देश्यहरु प्राप्तिका लागि सामुदायिक संस्थाहरु स्वतन्त्र रुपमा सक्रिय रहिरको भएतापनि, सामुदायिक उत्थानका लागि भने सबै संस्थाहरुका बिच पर्याप्त एकता नभएको सहभागीहरुको जिकिर थियो।
फोटो सौजन्य : सुरेन्द्र नापित ।
अन्तरक्रियाको क्रममा सहभागीहरुले अत्तोपत्तो नभएको नेजाले केही वर्षदेखि समुदायसंगको सामिप्यता, सामाजिक सक्रियता र सामुदायिक उत्थानमा खेलिरहेको भूमिका साँच्चै कदरयोग्य भएको बताउदै धन्यवाद व्यक्त गरेका थिए। बेला बखतमा नेजाले विविध कार्यक्रमहरु गरेर न्यू इङ्गल्याण्ड क्षेत्रमा क्रियाशील नेपाली समुदायको संघ संस्थाहरुलाई एकै थलोमा छलफलका लागि जुटाएर आपसी सद्भाव, सामिप्यता, सहकार्यलाई मजबुत बनाउन अहम भूमिका खेलिरहेको सहभागीहरुको भनाइ थियो। उनिहरुले न्यू इङ्गल्याण्ड क्षेत्रमा रहेका नेपाली समुदायलाई विशेष प्राथमिकता दिएर समाचार लेख्ने पत्रकार सुपेन्द्र बस्नेत र हिमालय खबर मेडिया परिवारलाई विशेष धन्यवाद दिएका थिए। न्यू इङ्गल्याण्ड क्षेत्रमा सक्रिय पत्रकारहरुको संख्या एकाध मात्र भएकाले सक्रिय पत्रकारहरुको संख्या बढाउन नेजाले उपयुक्त व्यक्तित्वहरु छनोट गरेर आवश्यक तालिम दिने व्यवस्था गर्नु पर्नेमा वक्ताहरुले जोड दिएका थिए। सहभागिहरुले सामाजिक उत्थानमा प्रेसको अहम भूमिका रहने जिकिर गर्दै आगामी दिनमा पनि नेजाले वर्तमानमा झैं महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा व्यक्त गरेका थिए।
फोटो सौजन्य : सुरेन्द्र नापित ।
सहभागीहरुको प्रतिक्रिया र अपेक्षालाई सम्बोधन गर्दै नेजाका उत्तर-पूर्व क्षेत्रीय संयोजक सुपेन्द्र बस्नेतले सामुदायिक उत्थानका लागि आवश्यक पर्ने एकता, सहयात्रा र सहकार्यमा नेजा प्रतिबद्ध रहेको र आफ्नो तर्फबाट सक्दो भूमिका निर्वाह गर्ने बताए। सामुदायिक संघ संस्थाहरुको क्रियाशिलताको प्रशंसा गर्दै संयोजक बस्नेतले संस्थाहरु अझ एकताबद्ध भएर काम गरेमा उपलब्धि छिटो र बढि प्राप्त हुने बताए। उनले गत वर्ष बोस्टनमा सम्पन्न भएको नेजाको १७औं साधारणसभाको स्मरण गर्दै साधारणसभा सफलतापूर्ण सम्पन्न गर्न न्यू इङ्गल्याण्डवासी नेपाली समुदायको संघ संस्थाहरु, सामाजिक व्यक्तित्वहरु र समग्र समुदायले पुर्याएको योगदानका लागि धन्यवाद व्यक्त गरेका थिए। संयोजक बस्नेतले अन्तरक्रियाका क्रममा उठेका प्रश्नहरु, जिज्ञासाहरु, सल्लाह सुक्षावहरु समग्र प्रेस, पत्रकारिता, नेजा र नेपाली समुदायका लागि अमूल्य रहेको बताए। कार्यक्रममा कवि प्रकाश खड्काले पत्रकार र नेजाको महत्व, खेलिरहेको भूमिका, नेपाल र नेपालीप्रति प्रवासी नेपालीहरुको श्रध्दालाई केन्द्रमा राखेर लेखिएको कविता वाचन गरेका थिए। कवि खड्काले निकै गहन र भावनात्मक शब्दहरु समेटेर लेखेको मन छुने कविता वाचन गर्दै गर्दा सहभावीहरु निकै भावुक भएका थिए।
कार्यक्रमको दौरानमा सहभागीहरुले नेपाल अमेरिका पत्रकार संघ,(नेजा)को स्थापना दिवस र नेपाली नयाँ साल विक्रम संवत् २०८२ को आपसमा शुभकामना आदानप्रदानसमेत गरेका थिए। शुभकामना व्यक्त गर्ने क्रममा सहभागीहरुले नेपाल अमेरिका संघ(नेजा) खास पत्रकारहरुको छाता संस्था बन्न सकोस्, संस्थागत गरिमा अझ उचाइमा पुग्न सकोस् भन्दै आगामी मे १० र ११ तारिख लस भेगासमा हुन गइरहेको नवौं अधिवेशनको पूर्ण सफलताको कामना गरेका थिए।
कार्यक्रममा, अमेरिकाको म्यास्याच्युसेट्स राज्यका लागि नेपालका अवैतनिक वाणिज्यदूत प्रल्हाद केसी, बोस्टन सहरका लागि नेपाली पर्यटन प्रवर्धक मिलन गुरुङ, पशुपतिनाथ बुद्ध फाउण्डेशनको कार्यसमितिका अध्यक्ष बिरोचन नेपाल, उपाध्यक्ष द्वय एलिना श्रेष्ठ र मिलन कुमार कार्की, एनआरएन, एनसिसि,अमेरिकाका पूर्व सल्लाहकार दीनबन्धु भट्ट, जिबिएनसिका अध्यक्ष सन्दिप भट्टराई, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, बोस्टन च्याप्टरका अध्यक्ष अभि गजुरेल, उपाध्यक्ष प्रकाश खड्का, ब्लड डोनर्स अफ अमेरिकाका केन्द्रीय उपाध्यक्ष महेश्वर पन्त, म्यासाच्युसेट्स च्याप्टर अध्यक्ष राम थापा, मगर संघ, म्यासाच्युसेट्स च्याप्टरका अध्यक्ष देवराज पुन, नरउड लायन्स क्लवका अध्यक्ष जालप्रसाद घिमिरे, मेट्रो वेष्ट नेपाली कम्युनिटीका कोषाध्यक्ष सङ्गीत निरौला, बोस्टन तमु समाजका पूर्व अध्यक्ष तथा सल्लाहकार मिन गुरुङ, सामाजिक कार्यमा क्रियाशील व्यक्तित्वहरु विजय शर्मा, सिन्धु पोखरेल, अरुणा कार्की, मणिराम पोखरेल, रञ्जु पुन, सारदा भट्ट, आभा गजुरेल, सुरेन्द्र नापित लगायतकाको सहभागिता रहेको थियो।
शान्ति दीप प्रज्वलन
फोटो सौजन्य : सुरेन्द्र नापित ।
नेपाल अमेरिका संघ(नेजा) १८ वर्ष पुरा गरेर १९ वर्ष प्रवेश गर्दै गरेको अवसर पारेर अमेरिकाको बोस्टन सहर स्थित पशुपतिनाथ बुद्ध मन्दिरमा शान्ति दीप प्रज्वलन गरिएको थियो।
फोटो सौजन्य : सुरेन्द्र नापित ।
अमेरिकाको म्यासाच्युसेट्स राज्यका लागि नेपाल सरकारको अवैतनिक वाणिज्यदूत प्रल्हाद केसी र नेजाका उत्तर-पूर्व संयोजक सुपेन्द्र बस्नेतले संयुक्त रुपमा शान्ति दीप प्रज्वलन गरेका थिए। शान्ति दीप प्रज्वलन कार्यक्रममा विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु र भक्तजनहरुको सहभागिता रहेको थियो।
फोटो सौजन्य : सुरेन्द्र नापित ।
शान्ति दीप प्रज्वलनको क्रममा सहभागीहरुले मन्दिरमा स्थापित पशुपतिनाथ, बुद्ध लगायत भगवानहरुको दर्शन तथा पूजा गर्दै विश्व शान्ति र मङ्गलको कामना गरेका थिए। धार्मिक कर्म दीप प्रज्वलनलाई विधिपूर्वक सम्पन्न गर्न मन्दिरका पुरोहित पण्डित गोकुल कंडेलले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। कार्यक्रमको दौरानमा सहभागी भक्तजनहरुले भजन टोलीसंगै भजनकीर्तन गर्नुका साथै सामुहिक आरती गरेका थिए।
प्रतिक्रिया