अमेरिका, बोस्टन। नेपाली पात्रो अनुसार नेपाली नयाँ वर्ष विक्रम संवत २०८२ को पहिलो दिन अर्थात बैशाख १ गते तदनुसार अप्रिल १३ तारिखबाट सुभारम्भ हुदैछ। यही अवसरमा नेपाल र नेपाल बाहिर रहेका नेपालीहरुले विविध कार्यक्रमहरु गर्दै नेपाली नयाँ वर्षलाई स्वागत गर्दैछन्। यसै सिलसिलामा अमेरिकाको क्यालिफोर्निया राज्यको सान फ्रान्सिस्को बेएरियामा बृहत् ‘प्रथम नयाँ वर्ष मेला-२०८२’ आयोजना हुने भएको छ। उक्त मेला क्यालिफोर्निया स्थित प्रवासी नेपालीहरुको संस्था ‘नेपाली एशोसियन अफ नर्दन क्यालिफोर्निया(न्यान्स)ले आयोजना गर्न लागेको हो।
न्यान्सले उक्त मेला यही अप्रिल १३ तारिख आइतवारका दिन स्थानीय अन्य क्रियाशिल नेपाली संघ संस्थाहरुसंगको समन्वयमा 369 Chesley Ave, Richmond,CA स्थित नेपाली कम्युनिटि सेन्टरमा आयोजना गर्न लागेको हो। साङ्गीतिक माहोलकाबिच हुने उक्त मेला, मध्यान्ह १२ बजेदेखि राती ८ बजेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।
नेपाली नयाँ वर्षको अवसर पारेर विगतमा पिकनिक कार्यक्रमको आयोजना गर्दै आएको न्यान्सले, यस वर्ष भने वृहत् कार्यक्रम गरेर नेपाली नयाँ वर्ष मनाउन लागेको हो। नेपाली मौलिक कला संस्कृति र परम्पराको संरक्षणसँगै नेपालीका स्वामित्वका व्यवसाय र नेपालीमुलका व्यवसायीको प्रवर्धन गर्ने मेलाको मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ।
मेला आयोजक संस्था न्यान्सका अध्यक्ष प्रीतेश कार्कीका अनुसार मेलाको सम्पूर्ण तयारी पूरा भैसकेको छ। उनले प्रेस विज्ञप्ति जारी गर्दै नेपालीपन, पहिचान र नेपालीत्व झल्किने गरी मेलाको आवश्यक सम्पूर्ण तयारी पूरा गरिसकिएको जनाएका छन्। अध्यक्ष कार्कीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘हामी भुगोलका आधारमा टाढा रहेपनि भावनात्मक रुपमा नेपाली परम्परा, भाषा, संस्कृति र परिकारबाट टाढा रहन सक्दैनौं। यही सोचमा आधारित भएर मेलामा हामीले विभिन्न खालका गतिविधिमार्फत् अविस्मरणीय प्याकेज पस्किनेगरी विभिन्न कार्यक्रम तय गरका छौ।’
मेला आयोजकले जनाए अनुसार मेलामा नेपालीपन, पहिचान र परम्परा झल्किने विभिन्न परिकारका ३ फुड ट्रकसहितका कुल ६ वटा फुड स्टल रहनेछन्। भने नेपाली स्वादका सेलरोटी, सेकुवा, नेवारी छोइला, मम, बोबा ड्रिङ्सलगायत खानेकुराका स्टलहरु रहने भएका छन्।त्यसैगरी, मेलाका अन्य आकर्षणहरुमा नेपाली उत्पादनका पोशाक एवं जुत्ता, विभिन्न नेपाली खाद्य वस्तु, नेपालीले पुर्याउँदै आएका घरजग्गा कारोवार परामर्श सेवा, मनी ट्रान्सफर सेवा, ज्योतिष परामर्शलगायतका २० भन्दा बढी स्टल, बालबालिकाका लागि विभिन्न खेल, डिजे र फोटोग्रफी रहने छन्।
मेला अवधि अर्थात् दिनभर विभिन्न धार्मिक र मौलिक भजन, योगा, नृत्य, गायन तथा साहित्यीक कार्यक्रमसमेतले मेलालाई थप रौनकता थप्ने मेला आयोजकको दावी छ। चर्चित पप गायिका नलिना चित्रकारको विशेष साङ्गीतिक प्रस्तुति रहने मेलामा, २५ भन्दा बढी राष्ट्रिय र स्थानीय स्तरका कलाकारहरुको प्रस्तुति रहनेछन्। मेलालाई आफु र आफ्ना सन्नतीका लागि पनि विशेष अवसर ठानेर उपस्थित भइदिन सबैलाई निम्तो दिदै अध्यक्ष कार्कीले मेलालाई भव्य र सभ्य रुपमा सफल पार्न आवश्क साथ सहयोगका लागि सबैलाई अपिलसमेत गरेका छन्।
‘यो विशेष कार्यक्रम बेएरियामा बसोबास गर्ने सम्पूर्ण व्यक्ति र संघसंस्थाबीच हातेमालोबाट मात्रै सफल र भव्य बन्नेछ। यसका लागि पत्रकारमार्फत हामी आम बेएरियावासी नेपालीहरुमा मेलामा सहभागी भइदिन हार्दिक आमन्त्रण गर्दछौं। मेलालाई भव्य, व्यवस्थित र सफल पार्दै नयाँ वर्ष २०८२लाई विशेष स्वागत गर्न सबैसँग आग्रह गछौ।’ प्रेस विज्ञप्तिमा भनिएको छ, ‘माइलौ टाढाको कर्मभुमीमा बसेर पनि नेपाली संस्कृति, परम्परा, पोषाक र परिकारसँग हामी नजिक छौ। यस्ता कुरामा हाम्रा सन्ततीको पनि उत्तिकै भावनात्मक प्रेम रहोस् भन्ने सबैको चाहना हुन्छ। हाम्रा सन्ततीलाई हाम्रो पहिचान देखाउने, मौलिकता सिकाउँने र नेपालीत्वसँग साक्षातकार गराउँने यो भूमिमा यति वृहत अवसर हतपती जुट्दैन। यो मेलालाई आफु र आफ्ना सन्नतीका लागि पनि विशेष अवसर ठानेर उपस्थित भई आनन्द लिनुहुन सफल बनाउन पत्रकारमार्फत सबैसँग हार्दिक आग्रहसमेत गर्दछौं।’
यसै अवसरमा न्यान्सले सामुदायिक भवन खरिद अभियानका क्रममा साथ सहयोग गर्नेहरुको अमूल्य योगदानको स्मरण गर्दै प्रवासी नेपाली समुदायलाई सक्दो सहयोगका लागि अनुरोधसमेत गरेको छ। न्यान्सको अगुवाइमा जोडिएको नेपाली कम्युनिटि सेन्टरलाई पूर्णता दिन आवश्यक पर्ने आर्थिक जोहोका लागि सबैसंग सहयोगको अपिल गरिएको न्यान्सले जनाएको छ।
प्रतिक्रिया