अमेरिका, बोस्टन। नेपाली पात्रो अनुसार विक्रम सम्वत् २०८१ साल समाप्त भएर नयाँ वर्ष विक्रम सम्वत् २०८२ साल प्रारम्भ हुने दिन नजिकिदै छ। नेपाल र नेपालीको पहिचानका दृष्टिकोणले निकै महत्वपूर्ण रहेको उक्त नयाँ वर्ष प्रारम्भ हुन अब १५ दिन बाँकी छ। जसलाई स्वागत गर्न सारा नेपालीहरु आतुर देखिन्छन्।
नयाँ वर्ष नजिकिदै गर्दा यसको चर्चा परिचर्चाले नेपालभित्र मात्र नभएर नेपाल बाहिर पनि गति लिन थालिसकेको छ। चर्चा परिचर्चासंगै व्यक्तिगत, पारिवारिक र सामुदायिक रुपमा विविध कार्यक्रमहरु गरेर नयाँ वर्षलाई विशेष रुपमा मनाउन नेपालीहरु जुट्नथालिसकेका छन्।
यसैक्रममा, बोस्टन स्थित प्रवासी नेपालीहरुको संस्था ग्रेटर बोस्टन नेपाली कम्युनिटि(जिबिएनसि)ले नेपाली नयाँ वर्ष विक्रम सम्वत् २०८२ साललाई स्वागत गर्दै हर्षोल्लासका साथ सामुदायिक रुपमा मनाउने तयारी सुरु गरिसकेको छ। जिबिएनसिले नेपाली नयाँ वर्षलाई आफ्नो प्रमुख वार्षिक क्रियाकलापहरुमा प्राथमिकताका साथ समेटेर ‘बैशाखी साँझ’ कार्यक्रमको आयोजना गर्दै आइरहेको छ। जसलाई यस वर्ष पनि निरन्तरता दिदै ‘बैशाखी साँझ-२०८२’ आयोजना गर्न लागेको हो।
यस वर्ष नेपाली नयाँ वर्ष २०८२ को पहिलो दिन अर्थात ‘बैशाख १ गते’ अङ्ग्रेजी पात्रो अनुसार अप्रिल १४ तारिख सोमबार परेको छ। यस अवसरमा जिबिएनसिले आउदो चैत्र ३० गते तदनुसार अप्रिल १२ तारिख शनिबारका दिन ”बैशाखी साँझ-२०८२” कार्यक्रम आयोजना गर्ने गरी तयारी सुरु गरेको छ।
विशेष साङ्गीतिक माहोलका साथ मनाउन लागिएको बैशाखी साँझ 1 Revergreen Dr,Everett, 02149 स्थित Revergreen Park मा अपरान्ह १२ बजेदेखि साँझ ६ बजेसम्म सञ्चान गर्ने गरी आवश्यक तयारी भैरहेको आयोजकले जानकारी दिएको छ।
जिबिएनसिका अध्यक्ष सन्दिप भट्टराईका अनुसार नेपाली नयाँ वर्षलाई विशेष रुपमा स्वागत गर्दै उत्सवको रुपमा मनाइने भएको छ। अध्यक्ष भट्टराईले नेपाली नयाँ वर्षले नेपाल र नेपालीको पहिचान बोकेकाले प्रवासी नेपालीहरुका लागि निकै महत्वपूर्ण रहेको जिकिर गर्दै जिबिएनसिले हरेक वर्ष प्राथमिकताका साथ विशेष कार्यक्रमको आयोजना गरेर मनाउदै आएको बताए। ‘बैशाखी साँझ-२०८२’ कार्यक्रम जिबिएनसिको पहिचानका रुपमा स्थापित भैसकेको बताउदै उनले भने, ‘बैशाखी साँझ जिबिएनसिको पहिचान भैसक्यो। जसले प्रवासी नेपालीहरुलाई एकताबद्ध हुन महत्वपूर्ण भुमिका खेल्दैआइरहेको छ।’
नेपाली नयाँ वर्ष नेपालीहरुको एक पहिचानको महत्वपूर्ण पाटो भएको तर्क गर्दै अध्यक्ष भट्टराईले नयाँ वर्ष गर्वका साथ उत्सवका रुपमा मनाउनु पर्नेमा जोड दिए। उनले नयाँ वर्षको अवसरमा हुने कार्यक्रमहरुले प्रवासमा रहेका नेपालीहरुलाई एकबद्ध हुन, आपसमा सुमधुर सम्बन्ध स्थापना गर्न र सामुदायिक हितार्थ एकजुट हुन सुत्रधारको काम गरिरहेको जिकिर गरे। अध्यक्ष भट्टराईले उक्त बैशाखी साँझ-२०८२’ कार्यक्रमको निम्तो दिदै सपरिवार सहभागिता जनाउन प्रवासी नेपालीहरुलाई अनुरोधसमेत गरेका छन्।
स्थानीय नेपाली कलाकारहरु र डिजे मार्फत साङ्गीतिक माहोलको शृजना हुने कार्यक्रममा, सहभागीहरुले नेपाली पहिचानसहितका स्वादिष्ट परिकारहरु खादै मनोरञ्जनका साथ आपसमा शुभकामना आदानप्रदान गर्न पाउने भएका छन्। रिभरग्रिन पार्कको खुला मैदानमा हुने कार्यक्रममा सहभागिताका लागि आयोजकले नि:शुल्क प्रवेशको व्यवस्था गर्ने भएको छ।
प्रतिक्रिया