अमेरिका, बोस्टन। संयुक्त राज्य अमेरिकाका लागि नेपालका नव नियुक्त राजदूत लोकदर्शन रेग्मी अमेरिका आइपुगेका छन्। नव नियुक्त नेपाली राजदूत रेग्मीले अमेरिका आइपुगेलगतै आफ्नो कार्यभार सम्हालेका छन्। आज मार्च २१,२०२५ सुक्रबारका दिन अमेरिकाको राजधानी वासिङ्टन डिसीस्थित नेपाली राजदूतावासको कार्यालय पुगेर उनले आफ्नो कार्यभार सम्हालेका हुन्।
रेग्मीले नियुक्त भएको झण्डै साँडे चार महिनापछि आफ्नो कार्यभार सम्हालेका हुन्। उनलाई नेपाल सरकारको मन्त्रिपरिषद्ले झण्डै आठ महिना अघि गत श्रावण १४,२०८१ मा अमेरिकाको राजदूतका लागि सिफारिस गरेको थियो भने, उक्त सिफारिसलाई संसदीय सुनुवाइ समितिले गत भदौं २७, २०८१ मा अनुमोदन गरेको थियो।
अमेरिकी सरकारले रेग्मीको नाम स्विकृति गरेलगतै राष्ट्रपति रामचन्द्र पौडेलले कात्तिक २५ गते उनीसँगै चीनका लागि राजदूत डाक्टर कृष्णप्रसाद ओलीलाई नियुक्त गरेका थिए । मंसिर १६ गते राष्ट्रपति पौडेलले रेग्मी लगायत जर्मनीका लागि राजदूत डाक्टर शैल रूपाखेती, अस्ट्रेलियाका लागि राजदूत चित्रलेखा यादव र साउदी अरबका लागि डाक्टर नरेशविक्रम ढकाललाई राष्ट्रपति भवनमा शपथग्रहण गराएका थिए । रेग्मी बाहेक अन्य नव नियुक्त राजदूतहरुले सपथग्रहण पश्चात् आआफ्नो कार्यक्षेत्रमा पुगेर जिम्मेवारी सम्हालेका थिए।
मुख्यसचिवसमेत भएर कार्य अनुभव बटुलिसकेका रेग्मी राजनैतिक भागबन्डाका क्रममा एमाले कोटाबाट राजदूत नियुक्त भएका हुन् । यसअघि उनी बेलायतका लागि राजदूत नियुक्त भएका थिए। त्यतिबेला पनि उनी एमालेकै कोटाबाट राजदूत बनेका थिए ।
अमेरिकाका लागि तत्कालीन राजदूत श्रीधर खत्रीलाई नेपाल सरकारले फिर्ता बोलाएपछि लामो समयसम्म अमेरिकाको राजधानी वासिङ्टन डिसी स्थिति नेपाली राजदूतावास राजदूत विहीन बन्न पुग्यो। २४ जेष्ठ, २०८१ मा बसेको तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल’ प्रचण्ड’ नेतृत्वको मन्त्रिपरिषद्को बैठकले, अमेरिका लगायत भारत, बेलायत,साउदी अरब, दक्षिण कोरिया, मलेसिया, स्पेन, डेनमार्क, इजरायल, कतार र पोर्चुगलका लागि नेपाली राजदूतहरुलाई फिर्ता बोलाउने निर्णय गरेको थियो।
प्रतिक्रिया