अमेरिका, बोस्टन। ४० वर्ष अघि तस्करहरुले नेपालबाट चोरी गरी अमेरिका पुर्याएको शेषनागसहितको बुद्धको मूर्ति आज नेपाल फिर्ता लगिदै छ। अमेरिकाको वासिङ्टन डिसी स्थित नेपाली दूतावासले सिकागो राज्यस्थित सङ्ग्राहलयबाट प्राप्त गरेको उक्त बुद्धको मूर्ति नेपाल फिर्ता लैजान लागिएको हो।
नेपाली दूतावासले उक्त मूर्ति नेपाल फिर्ता गर्न न्यू योर्क स्थित नेपाली महावाणिज्यदूतावासलाई उपलब्ध गराएको र महावाणिज्यदूतावासले नेवा गुठी, न्यू योर्कको सहयोगमा नेपालसम्म पुर्याउने चाँजोपाँजो मिलाएको हो।

आज नेपाल जादै गरेका नेवा गुठी, न्यू योर्कका कोषाध्यक्ष प्रेम गोपाल महर्जनले उक्त मूर्ति नेपाल पुर्याउन लागेका हुन्। नेवा गुठीका उपाध्यक्ष बिरेन्द्र मानन्धरले उक्त मूर्ति नेवा गुठीको ढुवानी खर्चमा नेपाल पुर्याउन लागिएको बताए। विभिन्न समयमा तस्कारहरुले नेपालबाट अमेरिका पुर्याइएका इतिहास, कला, धर्म, संस्कृति, सभ्यता आदिका हिसाबले अति नै महत्वपूर्ण र मूल्यका हिसाबले बहुमूल्य २० वटा पुरातात्विक बस्तुहरु दोश्रो चरण अन्तर्गत केही दिन अघि नेवा गुठीकै ढुवानी सहयोगमा अमेरिकाबाट नेपाल फिर्ता लगिएको थियो। उक्त पुरातात्त्विक बस्तुहरु अमेरिकाको न्युयोर्क सहरस्थित म्यानहटन डिस्ट्रिक एटोर्निज् अफिसले नेपाली महावाणिज्यदूतावास, न्यू योर्कलाई हस्तान्तरण गरेको थियो।

केही दिन अघि नेवा गुठी, न्यू योर्कको ढुवानी सहयोगमा नेपाल फिर्ता गरिएका २० वटा बहुमूल्य पुरातात्त्विक बस्तुहरु।पहिलो चरण अन्तर्गत गत वर्ष सन् २०२४ मा पनि चोरी गरी अमेरिका पुर्याइएका ५ वटा बहुमूल्य पुरातात्त्विक बस्तुहरु नेपाल फिर्ता गरिएको थियो। तेश्रो चरण अन्तर्गत आज बुद्धको मूर्ति नेपाल फिर्ता गरिदै छ। अन्य मूर्ति तथा पुरातात्त्विक बस्तुहरुको खोजी गरी चरणबद्ध रुपमा नेपाल फिर्ता गरिने अभियान जारी नै रहने नेवा गुठीका उपाध्यक्ष मानन्धरले बताए।
विभिन्न समयमा नेपालको विभिन्न स्थानमा रहेका कयौ देवी देवताहरुको मूर्ति, शिलालेख, थाङ्का, चित्रलगायत बहुमूल्य पुरातात्त्विक सम्पदाहरु चोरी भएका छन्। चोरी भएका ति सम्पदाहरु तस्करहरुले संसारको विभिन्न देशहरुमा पुर्याएका छन्। कयौ पत्ता लागेका छन् त कयौंको अवस्था अझैं अज्ञात छ। पत्ता लागेका मध्य कति नेपाल फिर्ता भएका छन्। कति फिर्ता हुने क्रममा नै छन्। त कति अन्योलकै अवस्थामा रहेका छन्।
प्रतिक्रिया