मार्च ८ अर्थात् अन्तर्राष्ट्रिय नारी दिवस। गत मार्च ८ तारिखका दिन संसार भर नारी केन्द्रित विविध क्रियाकलापहरु गरेर ‘११५औं अन्तर्राष्ट्रिय नारी दिवस’ मनाइयो। यस वर्षको मूल नारा ”सबै नारी तथा बालिकाका लागि: अधिकार, समानता र सशक्तिकरण’ भन्ने रहेको थियो।
अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा नारी केन्द्रित चर्चा गर्दा यसको ऐतिहासिक पृष्ठभूमि उल्लेख गर्नु सान्दर्भिक लागेकाले यहाँ संक्षिप्तमा यसको पृष्ठभूमिलाई उल्लेख गर्ने प्रयास गरेको छु।
यस दिवसको उद्गम थलो अमेरिकाको न्युयोर्कलाई मानिन्छ। जहाँ सन् १९०८ मा १५ हजार भन्दा बढी श्रमिक नारीहरू नारी कामदारहरुको तलब तथा सेवा सुविधा बढाउन, काम गर्ने घण्टा घटाउन र मतदानको अधिकार सुनिश्चित गर्न माग गर्दै आन्दोलनमा होमिएका थिए। यस आन्दोलनलाई अमेरिकाको सोसलिष्ट पार्टीले समर्थन गरेसंगै सन् १९०९ देखि अमेरिकामा नारी दिवस मनाउन थालिएको हो।
यस दिवसलाई अन्तर्राष्ट्रियकरण गर्नमा भने नारी मुक्ति आन्दोलनकी अभियान्ता क्लारा जेट्किनको महत्वपूर्ण योगदान छ। उनले सन् १९१० मा कोपेनहेगेनमा भएको नारीहरुको अन्तर्राट्रिय सम्मेलनमा मार्च ८ तारिखलाई अन्तर्राष्ट्रिय श्रमिक नारी दिवस घोषणा गर्न प्रस्ताव गरेकी थिइन्। उक्त प्रस्तावलाई सम्मेलनले पारित गरेपछि यस दिवसले अन्तर्राष्ट्रिय स्तरमा वैधता पाउन सफल भयो। र, सन् १९११ देखि हरेक वर्ष मार्च ८ तारिखका दिन औपचारिक रुपमा यो दिवस मनाउन थालियो। संयुक्त राष्ट्र संघले सन् १९७५ मा यस दिवसलाई औपचारिक मान्यता दिएपछि यो दिवस विश्वव्यापी हुन पुगेको हो। र, यसले आजसम्म निरन्तरता पाइनै रहेको छ।
अन्तर्राष्ट्रिय नारी दिवसको प्रारम्भिक बिन्दुदेखि आजको मितिसम्मका लगानी, नाराहरु, आन्दोलनहरु, गतिविधिहरु र त्यसबाट प्राप्त उपलब्धिहरुलाई चिन्तन, मनन र विश्लेषण गर्ने हो भने सन्तोष मान्ने आधारहरु भेटिन्न। समय र परिस्थिति जन्य परिवर्तनहरुलाई उपलब्धि मानेर चित्त बुझाउनु बेग्लै कुरा हो। तर, समानताका लागि भएका आन्दोलनहरुले नारीको यथोचित जय गरेको मान्न कदाचित् सकिदैन। समानता, अधिकार र नारी सशक्तिकरणमा केन्द्रित नाराहरु तय गरी सुरु गरिएका आन्दोलनहरुले अझैसम्म पनि निरन्तरता पाइनै रहेकाछन्। यही लय र यही पथमा अघि बढ्ने हो भने यस्ता नारा र आन्दोलनहरु अनन्तकालसम्म दिर्घायु रहिरहने छ भन्ने ठोकुवा गर्न गाह्रो छैन।
यसो हुनुको मूलभूत जड, समानता र अधिकारका नाममा केन्द्रीकृत औपचारिकतामा सिमित रहेका आन्दोलनहरु नै हुन्। जसले नारीको जय नहुनुको मुख्य कारक पुरुष हो, नारीको अधिकार पुरुषमा नियन्त्रित छ, त्यो प्राप्तिका लागि मात्र नारी एकता र आन्दोलन अपरिहार्य छ भन्ने मान्यतालाई जबरदस्त रुपमा स्थापित गरिदिएको छ। जसका कारण नारीमा निहित जन्मसिद्ध शृष्टिको शक्ति र नारीका लागि सबै मिलेर चालिनु पर्ने अभियान ओझेलमा पर्न गएको छ। यस सन्दर्भमा आफ्नो विचार पस्कदै गर्दा यहाँहरु सामु एउटा प्रसङ्ग उल्लेख गर्ने अनुमति चाहन्छु।
केही वर्ष अघि अमेरिकामा अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा एउटा कार्यक्रमको आयोजना गरिएको थियो। त्यस कार्यक्रममा मलाई पनि निम्त्याइएकाले सहभागिता जनाएको थिएँ। कार्यक्रमको ढाँचा नारी दिवसमा नेपालमा हुने कार्यक्रमहरुको जस्तै थियो। औपचारिकतामा बढि केन्द्रित उक्त कार्यक्रमलाई सम्बोधन गर्दै विशेष मानिएकी एक नारीले आक्रोश पोख्दै नारीलाई देवी, लक्ष्मी, सरस्वती …… जस्तो उपमाको मान नभई, स्वतन्त्रता चाहिएको, नारी स्वतन्त्र भएमा नारीका अधिकारहरु सुनिश्चित हुने र नारीको जय हुने जिकिर गरेकी थिइन्।
अमेरिकामा रहेका प्रवासी नेपाली समाजको अगुवा ठानिएकै व्यक्तित्वले त्यस खालको जिकिर गरेको सुन्दा मन साह्रै अमिलो भएको थियो। उक्त विचार पोखिनुको मूल कारक तत्व वर्षौदेखि एउटै ढर्रामा चलिरहेका नारी समानतामा केन्द्रीकृत आन्दोलनहरु नै हुन् भन्ने लाग्छ। जसले समानताको आन्दोलनलाई नै नारीको जय गर्ने एक मात्र निर्विकल्प पथ ठानिरह्यो। र, सोही पथमा हिडिरह्यो पनि। पुँजीवादी पथको यात्रामा हुने उठबस र जीवनशैलीले दिलाउने परिणाम भनेकै यस्तै हो। जसले अर्थलाई केन्द्रमा राखेर नारीको जय गर्ने नाममा समानताको नारा रटाइरहन्छ। तर, नारीको जय कहिल्यै भेटिन्न। नारीको जय प्राप्ति गर्न त समताको अभियान छेड्नु अपरिहार्य छ।
यस प्रसङ्गमा समानता र समताबिच र आन्दोलन र अभियानका बिचको भिन्नता र तारतम्यता बुझ्न जरुरी छ। उपलब्ध साधन,श्रोत, अधिकार, अवरहरु आदि सबैलाई दामासाही(बराबरी)ले बाँडफाँट गर्नु ‘समानता’ हो भने, आवश्यकता अनुसार बाँढफाँट गर्नु चाही ‘समता’ हो। जस्तो कि पाँचजना सदस्यहरु( १० वर्षकी छोरी, १३ वर्षको छोरा, ४० वर्षको बुबा, ३५ वर्षकी आमा र ६५ वर्षकी हजुर आमा) भएको एउटा परिवारमा भात खाने बेलामा भान्सामा पाकेको एक कसौटी भात पुगेपनि, नपुगेपनि, बढि भएपनि सबैलाई बराबरी बाँडफाँड गर्नु ‘समानता’ हो भने, त्यो भात आवश्यक्ता अनुसार बाँडफाँड गर्नु चाही ‘समता’ हो। समानताले कसको पेट भरिन्छ, कसको पेट भरिदैन र कसको पेट भेरिएर पनि भात खेर जान्छ भन्ने कुराको प्रवाह गर्दैन। तर, समताले भने पेट भर्ने सवालमा सबैलाई उस्तै अनुभूति गराउछ।
यस प्रसङ्गलाई नारीको जय गर्ने सवालसंग जोडेर हेर्दा, आजसम्मका अधिकांश नारी केन्द्रित वकालत तथा गतिविधिहरु ‘समता’ केन्द्रित अभियान नभई ‘समानता’ केन्द्रित आन्दोनहरु भएको पाईन्छ। जसले नारी-पुरुषबिच र नारी-नारीबिचको भिन्नताको खाडल पुर्नुको सट्टा थप बढाउन मलजल गरिरहेको छ। र, नारी आन्दोलन ११५औं वर्ष पुगिसक्दा पनि नारी आन्दोलन टुङ्गिनुको सट्टा उल्टै दिर्घायुका साथ जिउदै छ। जबसम्म नारीको जयका लागि ‘समतामूलक अभियान’ चलाइन्न, तबसम्म ‘नारी आन्दोलन’ टुङ्गिदैन। जारी नै रहिरहन्छ। तसर्थ, नारीको जयका लागि ‘समानता आन्दोन’ होइन, ‘समता अभियान’ अपरिहार्य छ।
समता अभियानमा नारी-पुरुष दुबैको संयुक्त सक्रिय सहभागिता रहन्छ। ‘समता अभियान’ विवाहपछि नभई बाल्यकालमै जन्मघर(परिवार)बाटै थालिनु जरुरी छ। जसले समताको बलियो जग खडा गर्दछ। समतामूलक अभियान नेपाली समाजमा त झन निकै अपरिहार्य छ। समतामूलक परिवारले समतामूलक समाजको शृजना गर्दछ। समतामूलक समाजले देशलाई समतामूलक बनाउदछ। र, समतामूलक देशहरुले जगतलाई नै समतामूलक बनाउदछ। समताको वातावरणमा हुर्किएका/बढेका पुरुषहरु मात्र नभई, नारीहरु पनि उत्तिकै सक्षम, ज्ञानी, सभ्य, परिपक्क र जिम्मेवार हुन्छन्। र, विवाह पछि आफ्नो अधिकारको लडाइँमा नभई कर्तव्यमा केन्द्रीकृत हुन्छन्। जो समाजवादको एउटा महत्वपूर्ण सूचक र आधार हो।
प्रतिक्रिया