मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
मुख्य समाचार   

बोस्टनमा विशेष कार्यक्रम गरी महाशिवरात्रि मनाइयो

बोस्टनमा विशेष कार्यक्रम गरी महाशिवरात्रि मनाइयो


अमेरिकाको ऐतिहासिक सहर बोस्टनमा हिन्दू धर्मावलम्बीहरुको महत्वपूर्ण धार्मिक पर्व ‘महाशिवरात्रि’ विशेष कार्यक्रम गरी मनाइयो। प्रवासी नेपालीहरुको संस्था पशुपतिनाथ बुद्ध फाउण्डेशन अफ न्यू इङ्गल्याण्ड(प्याब्फोन)को सामुदायिक भवनमा स्थापित पशुपतिनाथ तथा बुद्ध मन्दिरमा गत फेब्रुअरी २६ तारिख बुधबारका दिन महाशिवरात्रि मनाइएको हो।

महाशिवरात्रि विशेष रुपमा मनाउने क्रममा मन्दिरमा विहान ११ बजे, अपरान्ह ४ बजे र साँझ ६ बजे चरणबद्ध रुपमा महाशिवरात्रि व्रत तथा रुद्राभिषेक पूजा गरिएको थियो। यसैक्रममा, रुद्रीपाठ, पूजापाठ, ध्यान, जप, विशेष आरति गरिनुका साथै शिव विशेष भजनकीर्तनलगायत अन्य धार्मिक क्रियाकलापहरु गरिएको थियो।

मन्दिरका मूल पुजारी पण्डित गोकुल कंडेलको नेतृत्वमा विविध धार्मिक क्रियाकलापहरु सम्पन्न भएका थिए। महाशिवरात्रि विशेष कार्यक्रम व्यवस्थापन समितिले मन्दिर परिसरमा शिव धुनी जगाउने व्यवस्था गर्नुका साथै नरउड स्थित नरउड मेट्रोवेष्ट नेपाली कम्युनिटिको सहयोगमा महाप्रसादको समेत प्रबन्ध मिलाएको थियो। कार्यक्रममा छ सयभन्दा बढि श्रद्धालु भक्तजनहरुको सहभागिता रहेको र ९ हजार ३ सय ६३ डलर दान स्वरुप सङ्कलन भएको प्याब्फोनले जनाएको छ।

प्याब्फोन कार्यसमितिका अध्यक्ष बिरोचन नेपालले कार्यक्रम भव्यताका साथ सम्पन्न भएको जिकिर गरेका छन्। कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकोमा खुशी व्यक्त गर्दै उनले सबैको साथ र सहयोगले कार्यक्रम सफल बनाउन सम्भव भएको र त्यसले संस्थालाई थप उर्जा मिलेको प्रतिक्रिया दिएका छन्। अध्यक्ष नेपालले महाशिवरात्रिलाई सफलतापूर्वक सम्पन्न गर्न प्रत्यक्ष परोक्ष रुपमा साथ सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरेका छन्।

फागुन महिनाको कृष्ण चर्तुदशीमा पर्ने महाशिवरात्रिका दिन बोस्टन स्थित शिवालय मन्दिरमा पनि विशेष कार्यक्रम गरिएको थियो। यस अवसरमा, अमेरिकाको अन्य राज्यहरुमा रहेका शिवालयहरुमा पनि शिवको दर्शन, पूजापाठ, अर्चना, आराधना, प्रार्थना आदि विविध धार्मिक क्रियाकलापहरु गरेर महाशिवरात्रि मनाइयो। शिवरात्रिका दिन टेक्सास राज्यको युलेस, अस्टिन र ह्युस्टनमा रहेको पशुपतिनाथ मन्दिरमा पनि विशेष कार्यक्रमको आयोजना गरिएको थियो। मन्दिरमा भएको हजारौंको उपस्थितिले, महाशिवरात्रिका दिन नेपालको पशुपतिनाथमा हुने विशेष माहोलको झैं झल्को दिएको थियो।

शेयर गर्नुहोस:

3.4k
Shares