अमेरिकाको बोस्टन सहर स्थित पशुपतिनाथ तथा बुद्ध मन्दिरमा ‘महाशिवरात्रि’ विशेष कार्यक्रम हुने भएको छ। बोस्टन स्थित प्रवासी नेपालीहरुको संस्था पशुपतिनाथ बुद्ध फाउण्डेशन अफ न्यू इङ्गल्याण्ड(प्याब्फोन)ले ‘महाशिवरात्रि’ विशेष कार्यक्रम गर्न लागेको हो। यस वर्षको ‘महाशिवरात्रि’ यही आउदो फेब्रुरी २६ तारिख बुधबारका दिन परेको छ। उक्त दिन प्याब्फोनले विगतमा झैं यस वर्ष पनि 594 Washington Street, Braintree स्थित आफ्नै सामुदायिक भवनमा स्थापित पशुपतिनाथ तथा बुद्ध मन्दिरमा विविध धार्मिक क्रियाकलापहरु गरेर ‘महाशिवरात्रि’ मनाउने तयारी गरेको छ।
प्याब्फोन कार्यसमितिका अध्यक्ष बिरोचन नेपालले महाशिवरात्रिलाई भव्यताका साथ मनाउन कार्यसमितिका सदस्य संगित निरौलाको संयोजकत्वमा महाशिवरात्रि व्यवस्थापन समिति गठन गरिएको र उक्त समिति आवश्यक तयारीमा जुटिरहेको जानकारी दिए। महाशिवरात्रि विशेष कार्यक्रमका बारेमा जानकारी दिदै उनले भने, ‘महाशिवरात्रि प्याब्फोनका लागि विशेष दिन हो। विगतमा झैं यस वर्ष पनि महाशिवरात्रिको दिन विशेष धार्मिक क्रियाकलापहरु गरेर भव्यताका साथ मनाउने तयारी गरिरहेका छौं। त्यसका लागि आवश्यक तयारी गर्न महाशिवरात्रि व्यवस्थापन समिति नै गठन गरेर जिम्मेवारी सुम्पिसकेका छौं। व्यवस्थापन समितले पनि आवश्यक तयारीलाई तिब्रता दिइरहेको छ।’ उनले महाशिवरात्रि हिन्दू धर्मालम्बीहरुका लागि विशेष दिन भएको स्मरण गर्दै उक्त दिन मन्दिरमा हुने विशेष धार्मिक क्रियाकलापहरुमा सहभागी हुन सम्पूर्ण न्यू इङ्गल्याण्डबासी हिन्दू धर्मालम्बीहरुलाई अनुरोधसमेत गरेका छन्।
अध्यक्ष नेपालका अनुसार उक्त दिन भक्तजनहरुका लागि मन्दिर विहानैदेखि खुला रहने र दिनभरि नै चरणबद्ध रुपमा भगवान शिव विशेष धार्मिक क्रियाकलापहरु गरिने छ। उक्त दिन महाशिवरात्रि व्रत तथा रुद्राभिषेकको सामूहिक पूजा गर्ने व्यवस्था गरिनुका साथै रुद्रीपाठ, पूजापाठ, ध्यान, जप, विशेष आरति, महाप्रसाद वितरण, शिवधुनी, भजनकीर्तनलगायत विशेष धार्मिक क्रियाकलापहरु गर्ने तयारी गरिएको छ।
प्याब्फोनका अनुसार महाशिवरात्रि व्रत तथा रुद्राभिषेक विशेष पूजा तीन चरणमा गर्ने गरी आवश्यक व्यवस्था मिलाइने भएको छ। जस अनुसार पहिलो चरणको पूजा विहान ११ बजे, दोश्रो चरणको पूजा अपरान्ह ४ बजे र तेश्रो चरणको पूजा साँझ ६ बजे हुने छ। सामूहिक पूजा समापन पश्चात् आरति, भजनकीर्तन, शिवधुनी, महाप्रसाद वितरणलगायत क्रियाकलापहरु गरेर महाशिवरात्रि विशेष कार्यक्रमको समापन गरिने तालिका बनाइएको छ।सात सय बढि श्रद्धालु भक्तजनहरुको सहभागिता रहने अनुमान गरिएको कार्यक्रममा, नरउड स्थित नरउड मेट्रोवेष्ट नेपाली कम्युनिटिले महाप्रसादको प्रबन्ध गर्ने भएको छ।
हिन्दू धार्मिक पात्रो अनुसार नयाँ चन्द्र उदाउनुपूर्वको रातलाई शिवरात्रि भनिन्छ। पात्रो अनुसार वर्षमा १२ वटा शिवरात्रिहरु पर्दछन्। जस मध्य फागुन महिनाको कृष्ण चर्तुदशीमा पर्ने शिवरात्रिलाई विशेष शिवरात्रि अर्थात् महाशिवरात्रि मानिन्छ। यो दिन नेपालको काठमाण्डौंमा रहेको पशुपतिनाथ मन्दिरमा विशेष धार्मिक मेला लाग्ने गर्दछ। यसका अतिरिक्त नेपाल र नेपाल बाहिर रहेका शिवालयहरुमा शिव भगवानको दर्शन, पूजापाठ, ध्यान, जपा, साधना, आराधन आदि धार्मिक क्रियाकलापहरु गर्न श्रद्धालु भक्तजनहरुको घुइचो नै लाग्ने गर्दछ। यो दिन नेपाली सेना दिवस पनि भएकोले, नेपाली सेनाले विशेष क्रियाकलापहरु गरेर सेना दिवस मनाउने गरेको छ।
प्रतिक्रिया