मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
विचार / ब्लग    
साहित्य/सिर्जना   

सामाजिक नेतृ आचार्यको स्मृतिमा प्रकाशित श्रद्धाञ्जली कृति एक उदाहरणीय पहल

सामाजिक नेतृ आचार्यको स्मृतिमा प्रकाशित श्रद्धाञ्जली कृति एक उदाहरणीय पहल


ड्यालस (टेक्सस) । हरेक वर्ष धेरै पुस्तकहरु प्रकाशित हुन्छन र पाठकहरु सधैँ पढिरहन्छन र नवीनता खोजी पनि रहन्छन। तीनै धेरै प्रकाशित भइरहने पुस्तकहरुको माझमा एउटा भिन्न विधा श्रद्धाञ्जली पुस्तकको गत शनिबार ड्यालसमा विमोचन गरियो ।

सामाजिक कार्यमा समर्पित, नेतृत्वदायी क्षमताले भरिपूर्ण, तथा सेवाभावमा अग्रणी ड्यालसकी समाजसेवी इरा आचार्यको सम्झनामा प्रकाशित थियो यो श्रद्धाञ्जली पुस्तक। इरा आचार्यकै श्रीमान बैकुण्ठराज आचार्यको सम्पादनमा प्रकाशन भएको थियो यो पुस्तक।

Advertisement

अहिले यो पुस्तकलाई नेपाली समुदायका लागि एउटा उदाहरणीय प्रकाशन बनेको छ भन्दा अन्त्युक्ति हुँदैन। यस कृतिले मात्र स्व. आचार्यको जीवनीलाई सजीव रुपमा चित्रित गरेको छैन, बरु समाजमा योगदान दिने व्यक्तित्वहरूको सम्मान कसरी गर्न सकिन्छ भन्ने दिशामा एउटा नयाँ दृष्टान्त पनि प्रस्तुत गरेको छ।

पुस्तकको सम्पादन तथा व्यवस्थापन अत्यन्त सुन्दर ढंगले गरिएको छ । इरा आचार्यको जीवनलाई कालक्रम अनुसार व्यवस्थित गर्दै उनका अनुभव, योगदान, संघर्ष, सफलता, तथा समाजमा पुर्‍याएको प्रभावलाई उजागर गर्छ। पुस्तकको विमोचन समारोहमा सहभागी हुन पाउनु मेरा लागि सौभाग्यको विषय बन्यो।

पुस्तकमा सामाजिक अभियन्ता, बौद्धिक व्यक्तित्व, पारिवारिक सदस्य तथा इरासँग प्रत्यक्ष सम्बन्ध राख्ने धेरै व्यक्तिहरूका लेख, संस्मरण र श्रद्धाञ्जली सन्देश समावेश छन्, जसले पाठकलाई उनको जीवनको विभिन्न पाटोबारे अझ प्रस्ट रूपमा बुझ्न सहयोग गर्छ।

सम्भवतः नेपाली समुदायमा पहिलो पटक यस प्रकारको श्रद्धाञ्जली पुस्तक प्रकाशित हुनु आफैंमा ऐतिहासिक कदम हो। नेपाली समाजमा प्रायः जीवन्त व्यक्तित्वहरूलाई जिउँदै रहँदा भन्दा मृत्युपछि मात्रै सम्मान गर्ने चलन छ। यो पुस्तकले त्यो परम्परागत सोचलाई परिवर्तन गर्दै समाजसेवामा लागेका व्यक्तिहरूको योगदानलाई सही तरिकाले अभिलेख पनि गर्नुपर्छ भन्ने शिक्षा दिन्छ। तसर्थ, यस पुस्तकको समाजमा प्रभाव र महत्त्व निकै राख्छ भन्दा फरक नपर्ला। यो पुस्तक केवल व्यक्तिगत श्रद्धाञ्जली मात्र होइन, यो समाजका लागि महत्वपूर्ण सिकाइ सामग्री समेत हो।

मूलतः यस कृतिले तीन प्रमुख सन्देश सम्प्रेषण गर्छ।

पहिलो, सामाजिक कार्यको सम्मान र अभिलेखन आवश्यक छ। सामाजिक अभियन्ताहरूको योगदान केवल मौखिक रूपमा नभई लिखित रूपमा पनि सुरक्षित गरिनुपर्छ। यो पुस्तकले भावी पुस्तालाई समाजसेवाको प्रेरणा दिनेछ भन्ने लाग्छ मलाई। धेरै नेपाली सामाजिक अभियन्ताहरुको योगदान समयसँगै बिर्सने गरिन्छ। तर, यस्तो प्रकारको कृति प्रकाशनले ती योगदानलाई स्थायी रूपमा अभिलेख गर्न सहयोग पुर्‍याउँछ।

दोश्रो, जीवनसाथीको सम्मान र अमर प्रेमको उदाहरण। यो पुस्तक केवल श्रद्धाञ्जली मात्र होइन, यो श्रीमान श्रीमतीबीचको आत्मीयता, सम्मान, प्रेम र एकअर्का प्रतिको कदरको एउटा उदाहरण पनि हो। स्व. इरा आचार्यका श्रीमान् बैकुण्ठराज आचार्यले यो पुस्तक प्रकाशन मार्फत आफ्नो जीवनसाथीको योगदानलाई सम्मान गर्नुभएको छ, जसले समाजमा जीवनसाथी प्रतिको उत्तरदायित्व बारे पनि गहिरो सन्देश दिन्छ।

तेश्रो, संस्मरण र जीवनी संकलनको महत्त्व। व्यक्तित्वहरूको योगदानलाई कृतिमा संकलन गर्दा त्यो समाजकै सम्पत्ति बन्न जान्छ। यस पुस्तकले इराको जन्म, बाल्यकाल, वैवाहिक जीवन, घर माइती सम्बन्ध, जागीरे जीवन, परिवार र समाजसेवामा गरेको सफल समन्वयले भावी पुस्ताका लागि जीवन ब्यबस्थापन अध्ययन सामग्रीको रूपमा भूमिका खेल्नेछ। नेपालको सामाजिक इतिहास, प्रवासमा रहेका नेपाली समाजको गतिविधि तथा नेतृत्वकर्ताहरूको भूमिका बुझ्न यस्तो प्रकारका पुस्तकहरू आवश्यक छन्।

अझ गहिरिएर सोच्ने हो भने यस प्रकारका श्रद्धाञ्जली कृति निकै आवश्यक छन् किनभने यस्तो प्रचलनले समाज सेवामा समर्पित सामान्य व्यक्तित्वहरूको योगदानलाई स्थायी बनाउने माध्यमको रुपमा विकास हुनेछ। समाजमा राम्रा कार्य गर्ने व्यक्तिहरूको योगदानलाई सुरक्षित राख्न लेखोट तथा कृतिहरू राख्न साके यसले अरुलाई प्रभाव पार्छ र राम्रो गर्न खोज्नेहरुको संख्या थपिने छ। यो पुस्तकले नेपाली समुदायमा पहिलो पटक श्रद्धाञ्जली कृतिका रूपमा समाजसेवामा योगदान पुर्‍याउने व्यक्तिहरूको सम्मान गर्नुपर्छ भन्ने नयाँ अभ्यासको थालनी गरेको छ।

नेपाली समाजमा अग्रजहरूको योगदान इतिहासमा जगेर्ना गर्ने प्रचलन नै छैन भन्दा हुन्छ। यस्तो कृतिले इतिहासको जगेर्ना मात्र हैन, नयाँ पुस्तालाई समाजसेवा, नेतृत्व, र समुदाय विकासमा योगदान दिन प्रेरित गर्छ। यो पुस्तकले सामाजिक अभिलेखनको महत्त्व बुझ्न सवैलाई सहयोग गरेको छ। त्यति मात्र हैन, यस पुस्तकले प्रेरणादायी सामग्रीको सृजना गर्न समेत उत्साह प्रदान गर्दछ। यो पुस्तकले अन्य समाजसेवी तथा नेतृत्वकर्ताहरूलाई पनि समाज सेवामा योगदान दिने प्रेरणा दिनेछ। युवाहरूले समाजसेवामा लाग्नुपर्छ भन्ने मानसिकता विकास गराउने भूमिका पनि खेल्न सक्छ।

इराको जीवन र योगदानलाई संकलित गर्ने यो श्रद्धाञ्जली कृति नेपाली समुदायका लागि उदाहरणीय प्रकाशन हो। सामाजिक कार्यमा समर्पित व्यक्तित्वहरूको सम्मान कसरी गर्न सकिन्छ भन्ने एउटा आदर्श स्थापित गर्न यो पुस्तक सफल देखिन्छ। बैकुण्ठराज आचार्यले यो पुस्तक प्रकाशन गरेर नेपाली समाजमा एउटा नयाँ ढोका खोलेका छन्, जसले भावी पुस्तालाई समाजसेवामा योगदान दिने हौसला प्रदान गर्नेछ।

यो पुस्तक केवल इराप्रति गरिएको श्रद्धाञ्जली मात्र होइन, यो सामाजिक अभियन्ताहरूको मूल्याङ्कन, जीवनसाथी प्रतिको आदर र सामाजिक अभिलेखनको एक महत्वपूर्ण दस्तावेज पनि हो। समाजमा योगदान दिएका व्यक्तिहरूको सम्झना मात्र नभई उनीहरूको कार्यलाई जगेर्ना गर्न र भावी पुस्तासम्म पुर्‍याउन यस प्रकारका कृतिहरूको प्रकाशन हुन आवश्यक छ।

नेपाली समाजमा यस्ता श्रद्धाञ्जली कृतिहरू प्रकाशित गर्ने परम्परा बसाल्न सकियो भने, समाजसेवामा समर्पित धेरै व्यक्तिहरूको योगदान सदाका लागि इतिहासमा अंकित रहनेछ।

शेयर गर्नुहोस:

3.3k
Shares