नेपालीहरु जहाँ पुग्छन् त्यहीं आफ्नो पहिचान स्थापना गर्ने प्रयास जारी राखेका छन्। यस्तै सत्प्रयास स्वरुप आफ्नै पशुपतिनाथ मन्दिर र नेपाली सामुदायिक भवन बनाउने सुन्दर सपना बोकेका ह्युस्टनका नेपालीहरुको वर्षौंको मेहनतले अब मूर्तरुप लिने निश्चित जस्तै भएको छ।
हामीले नगरे कसले गर्ने, अहिले नगरे कहिले गर्ने?
ह्युस्टनको नेपाली समुदाय अहिले आकर्षक श्री पशुपतिनाथ मन्दिर र बहुउद्देशीय सामुदायिक भवन बनाउने लक्ष्य सहित बृहत सहयोग संकलन अभियानमा जुटेको छ। ‘हामीले नगरे कसले गर्ने, अहिले नगरे कहिले गर्ने’ भन्दै मन्दिर निर्माण अभियानमा जुटेको बृहत्तर ह्युस्टनको नेपाली समुदायले गत आइतवार हिलक्रफ्टस्थित काठमाण्डू व्याङ्क्वीटमा एक सहयोग संकलन कार्यक्रम मार्फत करिब ११ लाख डलरको दान रकमको प्रतिबद्धता प्राप्त गरेको छ।
नेप्लिज एशोसियसन अफ ह्युस्टन (एनएएच) का सह-कोषाध्यक्ष हरि न्यौपानेका अनुसार सहयोग संकलन अभियानको पहिलो औपचारिक कार्यक्रममा ७८ जना चन्दा दाताहरुले सहयोगको प्रतिबद्धता गरेका हुन्। न्यौपानेका अनुसार ७८ जना मध्ये ह्युस्टनको नेपाली समुदायका अगुवाहरु दिनकर अमात्य र ज्ञानेश्वर श्रेष्ठको परिवारबाट एक-एक लाख डलर सहयोगको घोषणा भएको थियो भने ग्रेटर ह्युस्टन नेप्लिज च्याम्वर अफ कमर्शले समेत एक लाख डलर दिने प्रतिबद्धता गरेको छ। यसैगरी नौ वटा परिवारले २५ हजार, ११ परिवारले १५ हजार र ३३ परिवारले १० हजार डलर सहयोग गर्ने बाचा गरेका थिए भने २२ वटा परिवारबाट एक देखि पाँच हजार डलरसम्म सहयोग दिने प्रतिबद्धता आएको छ।
ह्युस्टनको नेपाली समुदाय अहिले आफ्नै स्वामित्वमा रहेको ८.३ एकड (करिब ६५ रोपनी) फराकिलो जमिनमा नेपालमा रहेको पशुपतिनाथ मन्दिर कै स्वरुपमा आकर्षक मन्दिर र बहुउद्देश्यीय सामुदायिक भवन बनाउने महत्वाकांक्षी योजना साकार बनाउने अभियानमा छ।
मन्दिर अभियानमा बढ्दो नेपाली समुदायको भूमिका
राजनीतिक संकुचनका बेला सीमित नेपालीहरु मात्र देश बाहिर जाने वातावरण थियो। २०४६/२०४७ को जनआन्दोलनबाट बहुदलीय व्यवस्था पूनर्स्थापना हुनु अघिसम्म सरकारबाट विशेष अनुमति प्राप्त नभइ पासपोर्ट समेत बनाउन नपाइने जमाना थियो। सन् १९९० पछि बल्ल नेपालीहरुका लागि संसारको ढोका खुलेको हो। त्यसपछि विद्यार्थी, पर्यटक वा कामदारका रुपमा हजारौं नेपालीहरु संसारका विभिन्न देशमा गएर बस्न थालेका हुन्। कामका लागि गल्फ-कन्ट्री र मलेशियामा लाखौं नेपालीहरु पुगेका छन् भने कामको खोजी र विद्यार्थीका हैसियतमा अमेरिका, अष्ट्रेलिया र युरोपमा जाने नेपालीहरु पनि अचेल लाखौंको संख्यामा छन्। अमेरिकाले डिभि चिठ्ठा र दक्ष कामदार भिसा नीति ल्याएपछि स्थायी बसोबासका लागि अमेरिका पुग्ने नेपालीहरुको संख्या बर्षेनी बढीरहेकै छ भने विद्यार्थी भिसामा अमेरिका आउने नेपालीको संख्या पनि हजारौंको संख्यामा छन्! २०२० को जनगणना अनुसार करिब दुई लाख २० हजार नेपालीहरु अमेरिकामा भएको तथ्याङ्क छ भने कागजपत्र नभएका हजारौं नेपालीहरु समेत अमेरिकामा बसिरहेका छन्। त्यसैले अनौपचारिक रुपले भन्दा करिब चार देखि पाँच लाख नेपालीहरु अमेरिकामा भएको अनुमान गरिएको छ। हो, नेपालीहरुको यही संख्या नै अहिले उनीहरुले आफू बसिरहेको शहरमा पशुपतिनाथ मन्दिर तथा सामुदायिक केन्द्रहरु बनाउने लहरको कारण भएको छ। संख्या बढेसंगै आफ्नो भाषा, धर्म, संस्कृति, रीतिरिवाज, खानपान सबैमा नेपालीहरुले आफ्नो पनको खोजी गर्न थाले र त्यसैको परिणाम स्वरुप उल्लेख्य संख्यामा नेपालीहरु बस्ने अमेरिकी शहरहरुमा अहिले पशुपतिनाथ मन्दिर र सामुदायिक केन्द्र निर्माणको अभियान नै चलेको छ।
मन्दिर र सामुदायिक केन्द्र प्रवासमा नेपाली समुदायलाई एकीकृत गर्ने र नेपाली भाषा, संस्कृति र नेपालीपनको जगेर्ना गर्ने साह्रै असल माध्यम साबित भएको छ। नेपाल बाहिर भावनाको नेपाल बनाउने अभियान नै अहिले मन्दिर अभियान भएको छ।
नेपालमा हिन्दुहरुको आराध्य देव श्री पशुपतिनाथको मन्दिर भए झैं यता अमेरिकामा पनि नेपालीहरुले श्री पशुपतिनाथको मन्दिर बनाउने अभियान नै चलाएका छन्। त्यही मन्दिर अभियानको एउटा अंश हाल ह्युस्टनको नेपाली समुदायले चलाएको श्री पशुपतिनाथ मन्दिर अभियान। एनएएचको अगुवाईमा जारी पशुपतिनाथ मन्दिर एवं बहुउद्देशीय सामुदायिक भवन निर्माण अभियानले ज्ञानेश्वर श्रेष्ठको अध्यक्षतामा हालै निर्वाचित कार्यसमिति गठन भएपछि गति लिन थालेको हो। यस अघिका कार्यसमितिले पशुपतिनाथ मन्दिर गुरुयोजना अन्तर्गत एनएएचको सचिव मनिष मुनङ्कमीको नेतृत्वमा गुरुयोजना प्रारूप तयार पारेको थियो भने हाल प्रस्तावित पशुपतिनाथ मन्दिर, बहुउद्देशीय सामुदायिक भवन सहित खेल मैदान लगायतका नयाँ संरचनाहरुको डिजाइन कार्यमा एफआइएफ इन्जीनियरिंगका विजय अर्याल र सुवोध भण्डारी, नेपालबाट आर्किटेक्ट सविना तण्डुकार लगायत सन्जिव न्यौपाने, प्रनिल उपाध्याय लगायतका टेक्सस मै रहेका इन्जीनियरहरुकको योगदान उल्लेखनीय रहेको बताइन्छ। यसैगरी मन्दिर गुरुयोजनाको आकर्षक ३-डि एनिमेसन तयार पारिदिएर मन्जिल मुलपतिले ठूलो गुन लगाएको एनएएचका सचिव एवं परियोजना संयोजक मनिष मुनङ्कमीले हिमालय खबरलाई बताएका छन्।
पहिलो अर्थ संकलन कार्यक्रममा अर्थ संकलन समितिका संयोजक पूर्व अध्यक्ष डा. विष्णु नेपालले हिन्दुहरुको लागि पशुपतिनाथ मन्दिर बनाउनु भन्दा पुण्य कार्य अरु नभएको र भागवत गीताका अनुसार पनि दान सबभन्दा असल कर्म भएको बताएर बृहत्तर ह्युस्टनमा बस्ने सबै नेपालीहरुलाई खुसी मनले मन्दिर बनाउने सत्कार्यमा सामेल हुन आव्हान गरेका थिए। पशुपतिनाथ मन्दिरका पूजारी गुरु दिलीप शास्त्रीले धार्मिक कार्यमा दानको महत्व दर्शाउँदै श्री पशुपतिनाथको मन्दिर बनाउने अभियानमा सहभागी हुन सबै नेपालीहरुलाई अनुरोध गरे। यसैगरी पूर्व अध्यक्ष रविन श्रेष्ठले मन्दिर तथा सामुदायिक भवन निर्माण योजनाको 3-D Animation सहितको प्रारुप प्रस्तुत गरे भने सल्लाहकार द्रोण गौतमले कार्यक्रममा उपस्थित सबै चन्दादाताहरुलाई एनएएचका संस्थापक, ट्रष्टि तथा वर्तमान र पूर्व अध्यक्षहरु मार्फत सम्मान-पत्र प्रदान कार्यक्रमको सहजीकरणका साथै नेपाली समुदायलाई आफ्नो मन्दिर अभियानमा सक्रिय हुन अनुरोध गरेका थिए।
अर्थ संकलन कार्यक्रम व्यवस्थापन र प्रतिबद्धता आए अनुरुपको सहयोग रकमको अभिलेखिकरण गर्न प्रथम उपाध्यक्ष प्रशान्ति पण्डित र कोषाध्यक्ष निशेध खनाल सक्रिय देखिन्थे भने दान दिन उत्साहित ह्युस्टनका नेपाली समुदायको उल्लेखनीय सहभागिताले मन्दिर निर्माणका लागि अनुमानित २५ लाख डलरको लागत रकमको जोहो सहजै हुने अनुमान गरिएको छ।
तस्बिरः सुजन पण्डित/ हिमालय खबर
प्रतिक्रिया