नेपालीहरुको बहुआयामिक चाड चाड तिहारको अवसरमा खेलिने ‘देउसी भैलो’ अमेरिकाको म्यासाच्युसेट्स राज्यको बोस्टनमा पनि खेलिएको छ। बोस्टन स्थित आप्रवासी नेपालीहरु आबद्ध संस्था पशुपतिनाथ बुद्ध फाउण्डेशन अफ न्यू इङ्गल्याण्ड (PABFONE)ले ‘बृहत देउसी भैलो-२०२४’ को आयोजना गरेको थियो। उक्त देउसी भैलो यही नोभेम्बर १ तारिख सुक्रबारका दिन प्याब्फोनको आफ्नै सामुदायिक भवनमा रहेको पशुपतिनाथ तथा बुद्ध मन्दिरमा सम्पन्न भएको हो।
सामुदायिक भवन जोड्ने र त्यसमा पशुपतिनाथ तथा बुद्ध मन्दिर स्थापना गर्ने महत्वकांक्षी लक्ष्य राखेर सन् २०१२ मा स्थापना भएको यस संस्थाले, संस्थालाई आवश्यक पर्ने अर्थको जोहो गर्न स्थापना कालदेखि नै हरेक वर्ष देउसी भैलो खेल्दै आएको छ। यसै क्रममा, संस्थाको प्रमुख वार्षिक क्रियाकलापको रुपमा स्थापित भइसकेको देउसी भैलो कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिइएको हो।
धार्मिक, सांस्कृतिक, रितिरिवाज, परम्परा, नेपालीपन तथा पहिचानको संरक्षण, संवर्धन एवम् प्रवर्धन गर्ने र प्याब्फोनको सहयोगार्थ आर्थिक सहयोग संकलन गर्ने कार्यक्रमको मुख्य उद्देश्य राखेर खेलिएको देउसी भैलो, लक्ष्य अनुसार सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ।
संस्थाको कार्यसमितिका अध्यक्ष बिरोचन नेपालको अध्यक्षता रहेको कार्यक्रमको उद्घाटन पण्डितहरुद्वारा स्वस्तिवाचन गराएर गरिएको थियो। कार्यक्रममा ब्रेनट्री सिटीकी मेयर इरिन जोइसको विशेष उपस्थित रहेको थियो। कार्यालयकी सहयोगी केकको साथमा कार्यक्रममा उपस्थित भएकी मेयर जोइसले भवन भित्र रहेको सुन्दर तथा आकर्षक साजसज्जा र व्यवस्था गरिएको धार्मिक तथा सांस्कृतिक अवस्था देखेर आफू आश्चर्यचकित परेको प्रतिक्रिया दिदै त्यसको मुक्त कण्ठले प्रशंसा गरेकी थिइन्।
सम्बोधनका क्रममा उनले नेपाली समुदायलाई प्राप्त उपलब्धिका लागि बधाई ज्ञापन गर्दै कार्यक्रममा सहभागी हुने अवसर पाएकोमा निकै खुशी व्यक्त गरेकी थिइन्। मेयर जोइसले भावी दिनहरुमा ब्रेनट्री सिटीमा बसोबास गर्ने नेपाली समुदायको संख्या बढ्दै जाने अपेक्षासमेत गरेकी थिइन्। आगामी दिनमा समुदायको लागि सहकार्य गरेर अघि बढ्न सकिने जनाउदै मेयर जोइसले नेपाली समुदायका लागि सक्दो सहयोग गर्न आफू तयार रहेको जनाइन्। साङ्गीतिक माहोलमा एक छिन नाचेर साथ दिएकी उनले मन्दिरमा स्थापित देवी देवताहरुको अवलोकनसमेत गरेकी थिइन्।
कार्यक्रमको दौरानमा प्याब्फोन ट्रष्टीका अध्यक्ष सुशील पौडेलले संस्था र नेपाली समुदायको तर्फबाट ब्रेनट्री सिटीकी मेयर इरिन लगायत पाहुनाहरुलाई स्वागत गरेका थिए। उनले संस्था तथा कार्यक्रमको प्रमुख उद्देश्य र चाडको महत्वका बारेमा प्रस्ट पार्दै संस्थाको उत्पत्तिदेखि वर्तमान अवस्थासम्मलाई समेटेर संस्थाको संक्षिप्त परिचय प्रस्तुत गरेका थिए। यसैगरी, संस्थाका उपाध्यक्ष एवम् देउसी भैलो कार्यक्रमका संयोजक मिलनकुमार कार्कीले कार्यक्रमलाई सम्बोधन गर्दै विशेष अतिथि, अतिथि, दाता, सहभागीहरुलगायतलाई स्वागत गरेका थिए।
विगतमा झैं यस वर्ष पनि दाताहरुले देउसी भैलोमा यथाशक्य दान गरेर प्याब्फोनलाई आर्थिक सहयोग गरेका थिए। ‘देउसी भैलो-२०२४’ कार्यक्रममार्फत संस्थालाई हालसम्म दाताहरुबाट ४१ हजार डलर बढी दानमार्फत आर्थिक सहयोग प्राप्त भइसकेको र थप दाताहरुबाट पनि दान प्राप्त हुने क्रम जारी नै रहेको देउसी भैलो कार्यक्रमका संयोजक कार्कीले जानकारी दिए।
पहिलो चरणको मन्तव्य कार्यक्रम सम्पन्न भए लगतै गीत सङ्गीतसहितको देउसी भैलो कार्यक्रम सुरू गरिएको थियो। साङ्गीतिक माहोलको मूख्य आकर्षणमा अतिथि कलाकार देवीका केसी रहेकी थिइन्। कलाकार केसीले देउसी भैलो कार्यक्रमलाई प्रभावकारी, मनोरञ्जनात्मक र उत्सवमय बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै गीत सङ्गीतको माध्यमबाट चाडको मर्म, महत्व र गरिमालाई दर्शाउने प्रयास गरेकी थिइन्। उनको उत्कृष्ट गला र कलाका कारण कार्यक्रम स्थलमा शृजना भएको रोमाञ्चक साङ्गीतिक माहोलले सहभागीहरुलाई भरपुर मनोरञ्जन दिनुका साथै देउसी भैलो खेल्न निकै उत्प्रेरित गरेको थियो।
उक्त माहोललाई थप जीवन्त बनाउन बोस्टनमा रहेका स्थानीय कलाकारहरुले महत्वपूर्ण भूमिका खेलेका थिए। विगतमा झैं यस वर्ष पनि कलाकारहरु महिना दिन अगाडिदेखि नै देउसी भैलो भव्य बनाउने लक्ष्यका साथ पूर्व अभ्यासमा जुटेका थिए। कार्यक्रमका क्रममा साङ्गीतिक कला, गला र सीपले खारिएका कलाकारहरुले स्थापित आफ्नो छविलाई कायमै राख्न भरपूर कोसिस गरे।
आफ्नो महान चाड तिहारलाई उत्सवको रुपमा हर्षोल्लासका साथ मनाउदै कार्यक्रमका सहभागीहरुले आपसमा शुभकामनासमेत आदानप्रदान गरेका थिए। कार्यक्रम स्थलमा शृजित नेपाली साङ्गीतिक माहोल, सहभागीहरुको नेपालीपन तथा पहिचान दर्शाउने भेषभुषा, नेपाली भाषा, मन्दिरको वातावरण आदिले कार्यक्रम स्थल नेपालमय बन्न पुगेको थियो।
प्याब्फोन(PABFONE)सञ्चालक समितिका अध्यक्ष बिरोचन नेपालले कार्यक्रमको बिट मार्दै सभ्य र भब्य रुपमा कार्यक्रम सम्पन्न भएको प्रतिक्रिया दिएका थिए। धन्यवाद मन्तव्य दिने क्रममा उनले कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने विशेष अतिथि, अतिथि, संस्था परिवार, कलाकार, सहभागीहरुलगायत देउसी भैलोमा दान गरेर संस्थालाई आर्थिक सहयोग गर्ने दाताहरुलाई संस्थाको तर्फबाट धन्यवाद व्यक्त गरेका थिए। अध्यक्ष नेपालले कार्यक्रममा बेनट्री सिटी मेयरको उपस्थिति संस्थाका लागि अमूल्य र महत्वपूर्ण उपलब्धि भएको जिकिर गर्दै आगामी दिनहरुमा संस्थालाई सिटीको साथ सहयोग प्राप्त हुने अपेक्षासमेत व्यक्त गरेका थिए।
संस्थाको कार्यसमितिका उपाध्यक्ष तथा कार्यक्रम संयोजक मिलनकुमार कार्कीले पनि कार्यक्रम भव्यताका साथ सम्पन्न भएको प्रतिक्रिया दिएका छन्। उनले सबैको साथ, सहयोग र समर्थनले कार्यक्रम उद्देश्य अनुसार सफलतापूर्वक सम्पन्न भएको बताउदै निकै खुशी व्यक्त गरे। कार्यक्रम संयोजक कार्कीले सम्पन्न कार्यक्रमले धार्मिक, सांस्कृतिक, सामाजिक, साङ्गीतिकलगायत पक्षमा थप कसी लगाउन महत्वपूर्ण भूमिका खेलेको जिकिर गरे। कार्यक्रमले संस्थाका लागि आर्थिक जोहो गरेको र सामुदायिक एकता अझ आत्मीय र कसिलो बनाएको दाबी गरे। संयोजक कार्कीले कार्यक्रम भव्य रुपमा सफलतापूर्वक सम्पन्न गर्न प्रत्यक्ष परोक्ष रुपमा महत्वपूर्ण भूमिका खेल्ने पाहुनाहरु, संस्था परिवार, कलाकार, सहभागी, दाता, सहयोगी तथा शुभचिन्तक संघ संस्था तथा व्यक्तिहरुलगायतलाई संस्थाको तर्फबाट धन्यवादसमेत व्यक्त गरेका छन्।
प्रतिक्रिया