मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बोस्टन   
मुख्य समाचार   

जिबिएनसिको साधारणसभा सकियो

जिबिएनसिको साधारणसभा सकियो

निर्णयहरु विधान संशोधन र निर्वाचनामा केन्द्रीकृत


अमेरिकाको बोस्टन सहर स्थित प्रवासी नेपालीहरुको पुरानो संस्था ग्रेटर बोस्टन नेपाली कम्युनिटि(जिबिएनसि)ले आफ्नो साधारणसभा संस्थाको विधान अनुसार वैधानिक रुपमा सम्पन्न भएको जनाएको छ। संस्थाका अनुसार दोश्रो पटकका लागि आव्हान गरिएको साधारणसभा गत सेप्टेम्बर २२ तारिख आइतबार ब्रेनट्री स्थित पशुपतिनाथ बुद्ध फाउण्डेशन अफ न्यू इङ्गल्याण्ड(प्याब्फोन)को सामुदायिक भवनमा सम्पन्न भएको हो। संस्थाले उक्त साधारणसभा गत सेप्टेम्बर ४ तारिख बुधबारका लागि पहिलो पटक आव्हान गरेको थियो। तर, संस्थाको विधान अनुसार गणपूरक संख्या नपुगेको कारण देखाउदै स्थगित गरिएको उक्त साधारणसभा दोश्रो पटक गत सेप्टेम्बर २२ तारिख आइतबारका लागि बोलाइएको थियो।

संस्थाकी अध्यक्ष अन्जु थापाको अध्यक्षता रहेको उक्त साधारणसभामा, वर्तमान कार्यसमितिले आफू निर्वाचित भए यता हालसम्म भए गरेका संस्थागत गतिविधिहरु र आर्थिक गतिविधिहरुको प्रतिवेदन प्रस्तुत गरेको थियो। संस्थाका महासचिव सोनाम शेर्पाले दिएको जानकारी अनुसार, साधारणसभाले संस्थाको कार्यसम्पादन प्रतिवेदनसहित कोषाध्यक्ष अजय कुशवाहाले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन केही संशोधनसहित पारित गरेको छ।

यसैगरी, साधारणसभाले विधान संशोधन र निर्वाचनसंग सम्बन्धित महत्वपूर्ण निर्णयहरु पनि गरेको महासचिव शेर्पाले जानकारी दिएका छन्। उनका अनुसार, अध्यक्ष पदमा एक कार्यकाल मात्र रहन पाउने व्यवस्थालाई साधारणसभाले संशोधन गर्दै दुइ कार्यकालसम्म संस्थाको अध्यक्ष पदमा रहन पाउने व्यवस्था गरेको छ, जसले अब उपरान्त एक कार्यकाल संस्थाको अध्यक्ष भइसकेकाहरु (पूर्व वा वर्तमान अध्यक्ष)ले संस्थाको नेतृत्व पून: लिन चाहेमा अर्को एक कार्यकाल अध्यक्ष बन्नका लागि निर्वाचन प्रक्रियामा सहभागी हुन र निर्वाचित भएमा अध्यक्ष बनी संस्थाको नेतृत्व गर्न पाउने भएको छ। जिबिएनसिको पदाधिकारी पदहरुमा रहन चाहने जो कोहीले भने अन्य आधिकारिक संघ संस्थाहरुको पदाधिकारी पदमा रहन नपाउने नयाँ व्यवस्था गरेको छ।

यसैगरी, संस्थाको विधानमा नै व्यवस्था गरेको संस्थाको महत्वपूर्ण धार्मिक कार्यक्रम ‘बुद्ध जयन्ती’लाई साधारणसभाले विधानको नियमावलीबाट नै हटाइने निर्णय गरेको छ भने, म्यासाचुसेट्समा रहेका नेपाली मूलका कलेज/विश्वविद्यालयका विद्यार्थीहरूलाई छात्रवृत्ति दिन व्यवस्था गरिएको उपनियमहरूलाई खारेज गरिदिएको छ।

संस्थाको विधान अनुसार दुइ वर्षीय कार्यकाल(२०२२-२४)का लागि दुइ वर्ष अघि सेप्टेम्बर २५, २०२२ मा संस्थाको निर्वाचन सम्पन्न भएको थियो। उक्त निर्वाचनले अन्जु थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो। जसको दुइ वर्षीय कार्यकाल सकिदै छ। र, आगामी कार्यकाल (२०२४-२६) का लागि नयाँ कार्यसमिति चयन गर्नु पर्ने अवस्था रहेको छ। महासचिव शेर्पाले बताए अनुसार यस सम्बन्धमा, साधारणसभाले निर्वाचन प्रक्रिया अगाडि बढाउन एक साताभित्र निर्वाचन समिति गठन गर्ने जिम्मेवारी कार्यसमितिलाई सुम्पेको छ। र, निर्वाचन समिति गठन गरेपछि आउदो नोभेम्बर ९ वा १९ वा २६ तारिख मध्य कुनै एक दिन निर्वाचन सम्पन्न गर्ने गरी मिति घोषणा गरिने भएको छ।

त्यसैगरी, साधारणसभाले विधानमा व्यवस्था भएको उमेदवारी शुल्कमा पनि संशोधन गरेको छ। जस अनुसार अध्यक्ष पदका लागि पाँच सय डलर, पदाधिकारी पदहरुका लागि तीन सय डलर र बोर्ड सदस्य पदका लागि एक सय डलर शुल्क कायम गरेको छ। र, यदि उमेदवारी बदर वा फिर्ता भएमा उक्त उमेदवारी शुल्क फिर्ता नगरी संस्थालाई चन्दा दिएको मानिने भएको छ। साधारण सदस्यता शुल्कका सम्बन्धमा भने, दश डलरलाई बृद्धि गरी २१ डलर कायम गर्ने निर्णय गरिएको महासचिव शेर्पाले बताए। उनका अनुसार निर्वाचित नयाँ कार्यसमिति(२०२४-२६)लाई आगामी जनवरी १,२०२५ देखि आफ्नो कार्यकाल सम्हाल्ने गरी वर्तमान कार्यसमिति(२०२२-२४)ले आफ्नो सम्पूर्ण जिम्मेवारी हस्तान्तरण गर्नु पर्ने निर्णय गरेको छ।

सन् १९८९ मा स्थापित अमेरिकाको न्यू इङ्गल्याण्ड कार्यक्षेत्र रहेको यस संस्थाको दुइ वर्ष अघि भएको निर्वाचनसम्म, ६४ जना आजीवन सदस्य र ६६२ जना साधारण सदस्य गरी जम्मा ७२६ जना सदस्यहरु रहेका थिए। साधारणसभा सकिएसंगै आगामी निर्वाचन प्रक्रिया अगाडि बढाउनु अघि नै पुरानो सदस्यता नविकरण गर्ने र नयाँ सदस्यता प्रदान गर्ने प्रक्रिया अगाडि बनाइने संस्थाले जनाएको छ। तत्पश्चात् संस्थाको सदस्य संख्यामा उल्लेखनीय बृद्धि हुने अपेक्षा गरिएको छ।