मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   
बोस्टन   
मुख्य समाचार   

एनआरएनए, अमेरिकाले एनआरएनए नागरिकताका सम्बन्धमा ध्यानाकर्षण गराउदै प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाउने

एनआरएनए, अमेरिकाले एनआरएनए नागरिकताका सम्बन्धमा ध्यानाकर्षण गराउदै प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाउने


गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, अमेरिकाले गैरआवासीय नेपाली नागरिकताका सम्बन्धमा नेपाल सरकारको ध्यानाकर्षण गराउदै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउने भएको छ।

प्रधानमन्त्री ओली अमेरिकाको न्यू योर्कमा हुनगइरहेको संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिन आएको मौकामा भेटघाट गरेर उक्त ज्ञापनपत्र बुझाउने तयारी गरिएको छ। एनआरएनए, एनसिसि, अमेरिकाका अध्यक्ष डाक्टर अर्जुन बन्जाडेको अध्यक्षतामा गठित नागरिकता आयोग-२०२४ को गत सेप्टेम्बर ८ तारिख आइतबार बसेको बैठकले यस्तो निर्णय गरेको हो।

उक्त महासभा ‘कसैलाई पनि पछि नपारौँ : वर्तमान र भावी पुस्ताका लागि शान्ति, दिगो विकास र मानवनिष्ठा सुनिश्चितका लागि सहकार्य’ भन्ने मूल नाराका औपचारिक सुरुवात असोज १ गते तदनुसार सेप्टेम्बर १७ तारिख मंगलबारबाट हुदैछ।

नागरिकता आयोग-२०२४ का सदस्य सचिव गोपेन्द्र भट्टराईले दिएको जानकारी अनुसार, बैठकले नेपालको संविधानले नै गैरआवासीय नेपालीहरुलाई प्रदान गरेको गैरआवासीय नागरिकता सम्बन्धी अधिकार कुण्ठित भएको ठहर गर्दै त्यसको कार्यान्वयन गर्नका लागि जोडदार मागसहितको ज्ञापनपत्र बुझाउन लागिएको हो।

आयोगको बैठकले गरेको निर्णय अनुसार, उक्त ज्ञापनपत्रमा गैरआवासीय नेपाली नागरिकता सम्बन्धी नेपालको संविधानका प्रावधानहरु कार्यान्वयन, संविधानमा उल्लेखित एनआरएनएहरुको अधिकार र जिम्मेवारीहरुको सुनिश्चितता, एनआरएनए नागरिकता कार्यान्वयनका लागि आवश्यक ऐन, नियमहरुको यथासिघ्र व्यवस्था र राष्ट्रिय सभाको आगामी अधिवेशनमा एनआरएनए नागरिकता कार्यान्वयनको पक्षमा वकालतलगायत विषयहरुलाई प्राथमिकताका साथ समावेश गरिने भएको छ।

यसैगरी, बैठकले एनआरएनए नागरिकता कार्यान्वयनका लागि नागरिकता आयोगले आवश्यकता अनुसार नेपाल सरकारलाई सहयोग गर्ने निर्णयसमेत गरेको छ। यस विषयमा आवश्यक छलफल गर्न निर्वाचित पदाधिकारीहरुसंग आवश्यक बैठकहरु गर्ने र यस विषयलाई छिटो टुङ्गोमा पुर्याउन कानूनी तथा निति निर्माण क्षेत्रका विषय विज्ञ व्यक्तित्वहरु वा संस्थाहरुको खोजी गरी परिचालन गर्नेसमेत निर्णय गरेको छ।

गत अगष्ट २३ तारिख नागगरिकता आयोग-२०२४ गठन भएलगतै प्रेस विज्ञप्ति जारी गर्दै आयोगले प्रवासी नेपालीहरुको नेपाली नागरिकता सम्बन्धी साझा मुद्धामा चालिएको अभियानमा सबै एनआरएनएहरुलाई साथ, सहयोग, समर्थन र योगदान दिन अनुरोधसमेत गरिसकेको छ।

महासभाले सार्वजनिक गरेको कार्यतालिका अनुसार संयुक्त राष्ट्रसंघको ७९औं महासभाको प्रारम्भिक बैठक भाद्र २५ गते तदनुसार सेप्टेम्बर १० तारिख मंगलबारदेखि नै सुरु भइसकेको छ। महासभाको औपचारिक थालनी असोज १ गते अर्थात सेप्टेम्बर १७ तारिख मंगलबारबाट हुनेछ। उच्चस्तरीय छलफल भने आगामी असोज ८ गते तदनुसार सेप्टेम्बर २४ तारिख मंगलबारदेखि असोज १२ गते तदनुसार सेप्टेम्बर २८ तारिख शनिबारसम्म हुनेछ। नेपालका प्रधानमन्त्री केपी ओलीले असोज १० गते अर्थात सेप्टेम्बर २८ तारिख बिहिबार महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। समापन भने असोज १४ गते तदनुसार सेप्टेम्बर ३० तारिख सोमबार हुने भएको छ।