मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बोस्टन   
मुख्य समाचार   

बोस्टन स्थिति पशुपतिनाथ बुद्ध मन्दिरमा तीज विशेष सामूहिक पूजा सम्पन्न

बोस्टन स्थिति पशुपतिनाथ बुद्ध मन्दिरमा तीज विशेष सामूहिक पूजा सम्पन्न


अमेरिकाको बोस्टन सहर स्थिति पशुपतिनाथ बुद्ध मन्दिरमा ‘तीज विशेष सामूहिक पूजा’ कार्यक्रम सम्पन्न भएको छ। नेपाली पात्रो अनुसार गत भदौ २१ गते तदनुसार सेप्टेम्बर ६ तारिख सुक्रबार भाद्र शुक्ल तृतिया अर्थात तीज व्रतका दिन ‘तीज विशेष सामूहिक पूजा’ सम्पन्न भएको हो। उक्त पूजा बोस्टन स्थित पशुपतिनाथ बुद्ध फाउण्डेशन अफ न्यू इङ्गल्याण्ड(प्याब्फोन)ले आफ्नै सामुदायिक भवनमा आयोजना गरेको थियो।

कार्यक्रम आयोजकले व्रतालु भक्तजनहरुको सहजता, सहभागी संख्या, विधिपूर्वक पूजा गराउने पण्डितहरुको उपलब्धता, पूजा स्थलको क्षमता र अन्य व्यवस्थापकीय पक्षलाई मध्यनजर गर्दै तीन चरणमा सामूहिक तीज पूजाको आयोजना गरेको थियो। जस अनुसार पहिलो सामूहिक पूजा विहान ९ देखि ११ बजेसम्म, दोश्रो २ देखि ४बजेसम्म र तेश्रो ४ देखि ७ बजेसम्म रहेको थियो।

‘तीज विशेष सामूहिक पूजा’ गराउदै मन्दिरका पूजारी पण्डित गोकुल कँडेल ।

पण्डितहरुले व्रतालु भक्तजनहरुलाई धार्मिक विधि अनुसार हरितालिका तीज विशेष सामूहिक पूजा गराएका थिए। पशुपतिनाथ बुद्ध मन्दिरका पूजारी पण्डित गोकुल कँडेलको नेतृत्वमा सम्पन्न ‘ तीज विशेष सामूहिक पूजा’ कार्यक्रम धार्मिक विधिपूर्वक प्रभावकारी रुपमा सम्पन्न गर्न पण्डित रमेश पराजुली र गोपाल आचार्यले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

सामूहिक पूजा सम्पन्न भएपछि साँझ व्रतालु एवम् श्रदालु भक्तजनहरुले सामूहिक आरति गर्नुका साथै भजनकीर्तनसमेत गरेका थिए। व्रतालु भक्तजनहरुले हिन्दू धार्मिक ग्रन्थ अनुसार आफ्नो, जीवन साथीको, सन्तानको, परिवारलगायतको सुख, शान्ति, स्वास्थ्य, दिर्घायू, उत्तरोत्तर प्रगति, उन्नति, समृद्धिको कामना गर्दै आफ्नो आराध्य देवी देवताहरुको दर्शन, पूजापाठ, प्रार्थना तथा आराधना गरेका थिए। पूजा कार्यक्रममा सहभागी व्रतालु भक्तजनहरु, पण्डितहरु, आयोजक तथा स्वयंसेवकहरुलगायत मन्दिर दर्शनार्थीहरुले उक्त अवसरमा आपसमा शुभकामनासमेत साटासाट गरेका थिए। मन्दिरमा उपस्थित सहभागीहरुले मन्दिरमा सृजित तीजको माहोलमा तीज विशेष गीतहरु गाएर र नाचेर दु:ख सुख साटासाट गर्दै मनोरञ्जनसमेत गरेका थिए। आयोजकले मन्दिरमा उपस्थित व्रतालु एवम् श्रद्धालु भक्तजन तथा मन्दिर दर्शनार्थीहरुका लागि प्रसादकोसमेत व्यवस्था गरेको थियो।

प्याब्फोन कार्यसमितिका अध्यक्ष बिरोचन नेपालले सामूहिक पूजा सफलतापूर्वक सम्पन्न भएको भन्दै खुशी व्यक्त गरेका छन्। उनले कार्यक्रम निकै उत्साहजनक र प्रभावकारी रहेको दावी गरे। अपेक्षा गरिएको भन्दा पनि बढि व्रतालुहरुले सामूहिक पूजामा भाग लिएको जनाउदै अध्यक्ष नेपालले कार्यक्रम सफल भएकोमा सबैलाई धन्यवाद दिए। उनले कार्यक्रममा ४ सयभन्दा बढि व्रतालु भक्तजनहरुले सामूहिक पूजामा भाग लिएको र पाँच सयभन्दा बढि श्रद्धालु भक्तजनहरुले मन्दिर दर्शन गरेको दावी गरे।

अध्यक्ष नेपालले सेप्टेम्बर ८ तारिख आइतबार ऋषिपञ्चमीका दिन हुने पञ्चमी पूजा र प्रवचन तथा अन्य धार्मिक क्रियाकलापहरुमा पनि सहभागिता जनाउन सबैलाई निमन्त्रणा गरेका छन्। प्याब्फोनले जनाए अनुसार पञ्चमी पूजा पछि नेपालको पशुपति क्षेत्र विकास कोषका पूर्व कार्यकारी निर्देशक डाक्टर घनश्याम खतिवडाबाट भगवान पशुपतिनाथको पूजा विधि र महत्वका बारेमा प्रवचन हुने र साँझ सामूहिक आरति तथा भजनकीर्तन हुने कार्यक्रम रहेको छ।

मन्दिरका पूजारी पण्डित गोकुल कँडेलले ‘तीज विशेष सामूहिक पूजा’ हरसम्भव धार्मिक विधि र रित पूरा गरी सम्पन्न गरिएको प्रतिक्रिया दिएका छन्। आफूहरुले जाने बुझेसम्म पूजालाई विधिपूर्वक सम्पन्न गर्न कुनै कसर बाँकी नराखिएको दावी गर्दै उनले अमेरिकाको व्यस्त दैनिकीमा पनि हुने गरेका धार्मिक गतिविधिहरुमा प्रवासी नेपालीहरुले देखाउदै आएको चासो, साथ, सहयोग र सहभागिता कदरयोग्य रहेको बताए। उनले सेप्टेम्बर ८ तारिख आइतबार ऋषिपञ्चमीका दिन दिउसो १ बजेदेखि ४ बजेसम्म मन्दिरमा ‘सामूहिक पञ्चमी पूजा’को आयोजना गरिएको जानकारी दिदै उक्त पूजाको आवश्यक तयारी पूरा भइसकेको बताए।

गत वर्ष २०२३ को मे २७ देखि मे ३० तारिखसम्म आयोजित ४ दिने बृहत् धार्मिक तथा सामाजिक कार्यक्रम ‘मूर्ति प्राण प्रतिष्ठा एवं सामुदायिक भवन समुद्घाटन कार्यक्रम’ सम्पन्न भएसंगै सञ्चालनमा ल्याइएको मन्दिरमा, गत वर्ष पनि व्रतको दिन ‘तीज विशेष सामूहिक पूजा’ र ऋषिपञ्चमीका दिन ‘पञ्चमी’ पूजाको आयोजना गरिएको थियो।