मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

टेक्सस   

अपार्टमेन्टभित्रै पसेर गोली हानिएको थियो मुनालाई (भिडियो सहित)

अपार्टमेन्टभित्रै पसेर गोली हानिएको थियो मुनालाई (भिडियो सहित)

शनिवार नै घटना भएको अनुमान


ह्युस्टन (टेक्सस) । सोमबार ह्युस्टनस्थित अपार्टमेण्टमा गोली लागेर मृतअवस्थामा फेला परेकी मुना पाण्डेलाई हत्याराले उनको कोठाभित्रै पसेर गोली हानेको प्रारम्भिक अनुसन्धानले पुष्टि भएको छ ।

वेष्ट एअरपोर्ट ब्लुभर्डमा रहेको मुनाको अपार्टमेण्टमा उनी आफैँले राखेको सर्भिलेन्स क्यामेराका भिडियो फुटेजहरू प्रहरीले लगिसकेका छन् । त्यसले गर्दा मुनाका हत्यारा पत्ता लगाउन सघाउ पुग्ने विश्वास समुदायले गरेको छ । उनी केही समय अमेरिकी युवकसँग डेटिङ्गमा रहेको र कोठाभित्र भेटिएका पुरूषले प्रयोग गर्ने फिटनेसका सामानले त्यहाँ कोही पुरुष समेत बस्ने शंका गरिएको छ ।

मुनाले काम गर्ने गरेको मोबाइल फोन स्टोरका संचालकले हिमालय खबरलाई जानकारी दिए अनुसार हत्या शनिबार नै भएको अनुमान गरिएको छ। ति सञ्चालकले हिमालय खबरलाई उपलव्ध गराएको भिडियो क्लिपले हत्याराले ओछ्यान मै गोली हानेको सहजै अनुमान गर्न सकिन्छ । ओछ्यान भरि कट्कटिएको रगत र घटनास्थलमा रगतको दुर्घन्ध आएकोले घटना शनिवारतिरै भएको हुनुपर्ने आशंका सो भिडियो क्लिप लिएका स्थानीय नेपालीले हिमालयखबरलाई बताए।

उनले बताए अनुसार मुनालाई तीनवटा गोली हानिएको थियो। ओछ्यानमा देखिएको रगतको टाटाले समेत उनलाई शरीरको माथिल्लो हिस्सामा पहिले गोली हानिएको हुनसक्ने अनुमान गरिएको छ।

सन् २०२१ मा अध्ययनका लागि अमेरिका पसेकी मुनाले सन् २०२२ को जनवरी देखि हिलक्रफ्टस्थित काठमाण्डुकरी रेष्टुँरामा करिब एक वर्ष काम गरेकी थिइन् । त्यतिखेरका सहकर्मी र रेष्टुरेन्टका ग्राहकहरूले मुना निकै मृदुभाषी र असल व्यक्ति भएको प्रतिकृया दिएका छन् ।

२१ बर्षिया मुनाको नेपालमा मातामात्र छिन् । माता पिताको सम्बन्ध विच्छेद भैसकेको बताइएको छ ।
काठमाण्डुकरीका संचालक रामकृष्ण सापकोटाले भने —‘कामप्रति अति इमान्दार र ग्राहक सेवामा निकै अब्बल रहकी मुनाले काठमाण्डुकरी छोडेपछि पनि धेरैसम्म ग्राहकहरुले मुनालाई खोजिरहेका हुन्थे। ग्राहक सेवाका लागि मात्र होइन, किचन र ‘बार’मा समेत उत्तिकै सहयोग गर्नसक्ने र जुनसुकै काम तुरुन्तै सिक्नसक्ने क्षमता भएकी थिइन् ।’

मुनासँगै काम गरेका उनका सहकर्मीहरु अपराधिक घटनामा मुनाको अप्रत्यासित मृत्यु भएको सुनेर साह्रै दुखित देखिन्थे। घटनाबारे सुनेर केही ग्राहकहरुसमेत सोध-खोज गर्दै काठमाण्डु करीमा निरन्तर सोध्न आइरहेका थिए ।

अपराध अनुसन्धानमा संलग्न अधिकारीहरुले लगेको सर्भिलेन्स भिडियोको सूचना र अटस्पी (पोष्टमार्टम) रिपोर्ट आएपछि घटनाबारे थप विवरणहरु प्राप्त हुने अनुमान गरिएको छ । सोमबार साँझ घटनास्थलमा पुगेका र अनुसन्धान प्रक्रियामा अधिकारीहरुसँग सम्पर्कमा रहेका स्थानीय नेपाली संस्था नेप्लिज एशोसियसन अफ ह्युस्टनका पूर्व अध्यक्ष डा. विष्णु नेपालका अनुसार पोस्टमार्टम सकिएपछि मुनाको शव स्थानीय फ्यूनरल होममा आउने र त्यसपछि परिवारको समन्वयमा एनएएच लगायत स्थानीय संघसंस्थाको सहयोगबाट अन्त्येष्टी गरिनेछ।

डा. नेपालका अनुसार सबै प्रक्रिया सकिएर अस्पतालले शव हस्तान्तरण गर्न अझै केही दिन पर्खनु पर्ने हुनसक्छ।

दिवंगत मुनाकी नेपालमा रहेकी आमाले समेत छोरीको अन्तिम संस्कारमा भएपनि घटना भएको ह्युस्टन आउन चाहेको भएको सूचना आएकाले एनएएचकै सक्रियतामा ‘इन्सिडेण्ट’ रिपोर्ट पनि पठाइसकिएको डा. नेपालले बताए ।

परिवार र उनका स्थानीय सम्पर्कमा रहेका साथीहरुसँगको समन्वयमा आवश्यक आर्थिक संकलन गर्ने तर्फ समेत एनएएचले छलफल गरिरहेको छ । घटनास्थलमा उपलब्ध प्रमाणहरु, मुनाले सामाजिक सञ्जालमा र आमासँग श्यर गरेका तस्बिर, भिडियो लगायतका सूचनाका आधारमा प्रहरीले हत्यारा पत्ता लगाउने ह्युस्टनका नेपाली समुदायले विश्वास गरेको छ।

संभावित हत्यारा मुनाको केटासाथी हुनसक्ने आशंका गरिएको भएपनि प्रहरीले अनुसन्धान जारी राखेकाले छिट्टै हत्यारा पत्ता लाग्ने अपेक्षा गरिएको छ।