मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   
बोस्टन   
मुख्य समाचार   

नेपाली नागरिकताको सवालमा आवश्यक कदम चाल्न एनआरएनए, अमेरिकाद्वारा नागरिकता आयोग गठन

नेपाली नागरिकताको सवालमा आवश्यक कदम चाल्न एनआरएनए, अमेरिकाद्वारा नागरिकता आयोग गठन


गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, अमेरिकाले नेपाली नागरिकताका सवालमा आवश्यक कदम चाल्न, नागरिकता आयोग-२०२४ गठन गरेको छ। गैर आवासीय नेपालीहरुको नेपाली नागरिकता सम्बन्धी प्रमुख मुद्दामा आवश्यक वकालत तथा लबिङ गर्ने मुख्य उद्देश्यका साथ नागरिकता आयोग-२०२४ गठन गरिएको जनाइएको छ। संघका अध्यक्ष डाक्टर अर्जुन बन्जाडेको अध्यक्षतामा गठन गरिएको उक्त आयोगमा, संघका पूर्व अध्यक्षहरु, एनआरएनए अभियान्ताहरु र अमेरिकामा रहेका प्रवासी नेपाली समुदायका व्यक्तित्व रहेका छन्। उक्त कुरा संघले प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरेको हो।

जारी गरिएको विज्ञप्तमा विश्वभर छरिएर रहेका एनआरएनएहरु ‘एक पटक नेपाली, सधै नेपाली’ भन्ने एनआरएनएको भनाइमा दृढ रहेको र नेपाली नागरिकताको निरन्तरता चाहिरहेको कुरा प्राथमिकताका साथ उल्लेख गरिएको छ। विज्ञप्तिमा भनिएको छ,’ हामी, विश्वभरका गैरआवासीय नेपाली (गैरआवासीय नेपाली) समुदाय, ‘एक पटक नेपाली, सधै नेपाली’ भन्ने दृढ विश्वासमा छौं र अर्को देशको नागरिकता प्राप्त गरेपछि पनि नेपाली नागरिकताको निरन्तरताको चाहना राख्छौं।’

नेपालको नयाँ संविधान-२०७२ ले एनआरएनएहरुलाई गैरआवासीय नेपाली नागरिकता प्रदान गर्ने व्यवस्था गरेको भएतापनि, त्यस अनुसार कार्यान्वयन हुन नसकेको र संविधानले सुनिश्चित गरेका अधिकारहरु प्राप्त हुन नसकिरहेकोप्रति असन्तुष्टि व्यक्त गर्दै विज्ञप्तिमा भनिएको छ, ‘नेपालको संविधान-२०७२ मा गैरआवासीय नेपाली नागरिकताको समावेश, त्यसपछि नागरिकता ऐनको संशोधनले सुरूमै समुदायभित्र आशा उत्पन्न गर्यो कि गैर-राजनीतिक अधिकारहरू सजिलैसँग पहुँचयोग्य हुनेछन्। दुर्भाग्यवश, धेरै गैरआवासीय नेपालीहरूले नयाँ नागरिकता स्थिति उत्साहका साथ स्वीकार गरे पनि, उनीहरूले यसलाई केवल प्रतीकात्मक भएको र संविधानद्वारा ग्यारेन्टी गरिएका अधिकारहरू अधुरा रहेको अनुभव गरेका छन्।’

विज्ञप्तिमा गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयनको वकालत गर्नुका साथै नेपाली नागरिकताको निरन्तरताका लागि आवश्यक पर्ने संविधान संशोधन गर्न पनि आयोगले लबिङ गर्ने जनाइएको छ। जारी प्रेस विज्ञपतिमा भनिएको छ, ‘आयोगले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयनको पक्षमा वकालत गर्नेछ र ‘एक पटक नेपाली, सधैं नेपाली’ को सिद्धान्तलाई सही अर्थमा परिलक्षित गर्न संविधानमा आवश्यक संशोधनको पक्षमा लबिंग गर्नेछ।’

एनआरएनए,एनसिसि, अमेरिकाले प्रवासी नेपालीहरुको नेपाली नागरिकता सम्बन्धी साझा मुद्धामा सबै एनआरएनएहरुलाई साथ, सहयोग, समर्थन र योगदान दिन अनुरोधसमेत गरेको छ। विज्ञप्तिमा भनिएको छ, ‘हामी सबै गैरआवासीय नेपालीहरूलाई यस महत्वपूर्ण पहलमा योगदान र समर्थन गर्न आग्रह गर्दछौं। हामी यी महत्त्वपूर्ण मुद्दाहरूमा हाम्रो काम सुरु गर्दा, इच्छुक व्यक्तिहरू र संस्थाहरूलाई हामीसँग सहकार्य गर्न निमन्त्रणा गर्दछौं। हामी तपाईं सबैसँग सहकार्य गर्न तत्पर छौं।’

गठन गरिएको नागरिकता आयोगको सदस्य सचिवमा गोपेन्द्र भट्टराई चयन भएका छन् भने सदस्यहरुमा डाक्टर अम्बिका अधिकारी, श्री पूर्ण अधिकारी, डाक्टर रुद्र अर्याल, सुश्री दिक्षा बस्नेत, हरिबोल भण्डारी, आनन्द बिष्ट, खगेन्द्र जीसी, रतन झा, गौरी जोशी, डा. श्याम कार्की, प्रल्हाद केसी, तिलक केसी, डा विष्णुमाया परियार, डा. दामोदर पौडेल, डा केशव पौडेल, डा आमोद पोखरेल, शिव राई, सुनील साह, डा. पुरु श्रेष्ठ, प्रेमकुमार श्रेष्ठ, तारा सिग्देल, बुद्धी सुवेदी, मोहन थापा, सञ्जय थापा, रविना थापा र सुमन तिम्सिना रहेका छन्।