मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बोस्टन   
मनोरञ्जन   
मुख्य समाचार   

बोस्टनमा लायन्स क्लबको तीज विशेष कार्यक्रम सम्पन्न

बोस्टनमा लायन्स क्लबको तीज विशेष कार्यक्रम सम्पन्न


लायन्स क्लब इन्टरनेश्नल र हिमालयन लायन्स क्लब, न्यू इङ्गल्याण्ड च्याप्टरले अमेरिकाको बोस्टनमा संयुक्त रुपमा आयोजना गरेको तीज बिशेष कार्यक्रम सम्पन्न भएको छ। आउदै गरेको नेपालीहरुको महान चाड हरितालिका तीजको अवसर पारेर आयोजना गरिएको उक्त कार्यक्रम, गत अगष्ट १७ तारिख शनिबार साँझ सम्पन्न भएको हो। नेपाली धर्म, संस्कृति, परम्परा, रितिरिवाज आदिको जगेर्ना गर्नु, आपसमा शुभकामना आदानप्रदान गर्नु, हर्षोल्लासका साथ चाड मनाउदै मनोरञ्जन गर्नु र आपसी सम्बन्धलाई थप सुमधुर बनाउनु कार्यक्रमको मुख्य उद्देश्यहरु रहेका थिए।

नेपालीपन र नेपाली पहिचान झल्काउने भेषभुषामा सजिएर कार्यक्रममा सहभागी भएका नारी तथा पुरुष सहभागीहरुले आपसमा हरितालसका तीजको शुभकामना समेत आदानप्रदान गरेका थिए। तीज लक्षित सांगीतिक माहोलका बिच सम्पन्न कार्यक्रममा सहभागीहरुले नेपाली स्वादका मिष्ठान्न भोजन गर्नुका साथै नाचगान गरेर भरपूर मनोरञ्जन लिएका थिए।

कार्यक्रममा हिमालयन लायन्स क्लब अफ न्यू इङ्गल्याण्ड, डिष्ट्रिक 33K का अध्यक्ष थानीरत्न कँडेलले कार्यक्रममा सहभागी हुनेहरुलाई स्वागत गर्दै हरितालिका तीजको इतिहास, महत्व तथा गतिविधिहरुका बारेमा प्रकाश पारेका थिए।

लायन्स क्लब अफ इन्टरनेश्नल डिस्ट्रिक 33k का गोभर्नर डाएना फस्ट, अमेरिकाको म्यासाचुसेट्स राज्यका लागि नेपाल सरकारका अवैतनिक वाणिज्यदूत प्रल्हाद केसी र जोन चेयर लायन डाकटर उषा शर्माले कार्यक्रमको बारेमा चर्चा गर्दै शुभकामना मनतव्य व्यक्त गरेका थिए। कार्यक्रममा लायन्स क्लब अफ इन्टरनेश्नल डिष्ट्रिक 33kका विभिन्न पदमा रहेर जिम्मेवारी सम्हालिरहेका व्यक्तित्वहरु, विभिन्न सिटीका लायन्स अध्यक्ष तथा प्रतिनिधिहरु, हिमालयन लायन्स क्लब अफ न्यू इङग्ल्याण्ड, डिष्ट्रिक 33Kका पदाधिकारीहरु, न्यू इङ्गल्याण्ड क्षेत्रमा क्रियाशिल प्रवासी नेपाली समुदायका विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, सामाजिक व्यक्तित्वहरुलगायतको सहभागिता रहेको थियो। सहभागीहरुले महत्वपूर्ण कार्यक्रमको आयोजना गरेकोमा आयोजकको प्रशंसा गर्दै धन्यवाद व्यक्त गरेका थिए।

नेपाली पात्रो अनुसार यस वर्षको तीज आउदो भाद्र २१ गते तदनुसार सेप्टेम्बर ६ तारिख शुक्रबार, भाद्र शुक्ल तृतियाका दिन परेको छ। यस अवसरमा हरेक वर्ष झैं यस वर्ष पनि नेपाल भित्र र नेपाल बाहिर पनि तीज हर्षोल्लासका साथ मनाउन सुरु भइसकेको छ। यसै क्रममा लायन्स क्लबले पनि तीज विशेष कार्यक्रम सम्पन्न गरेको हो। यसैगरी, नरउड स्थित सृजनशील महिला समूह, न्यू इङ्गल्याण्ड (सिडब्लुजिन)ले आउदो अगस्ट २३ तारिख शुक्रबार साँझ 1 Morrell St West Roxbury, MA 02132 मा, नेपाली वोमन्स ग्लोबल नेटवर्क, न्यू इंग्ल्याण्ड च्याप्टर (एनडब्लुजिए)ले आउँदो अगस्ट २५ तारिख आइतबार साँझ 191 Highland Avenue, Somerville मा र ग्रेटर बोस्टन नेपाली समुदाय (जिबिएनसी) ले यही आउदो सेप्टेम्बर २ तारिख सोमबार साँझ क्याम्ब्रिज सिटीको 400 Cardinal Medeiros Avenue,Cambridge मा तीज विशेष कार्यक्रम गर्ने गरी आवश्यक तयारी गरिरहेका छन्।

कार्यक्रममा तीज लक्षित नाचगानसहितको सांगीतिक कार्यक्रम हुनुका साथै स्वादिष्ट परिकारहरु(दर)को पनि व्यवस्था गरिने आयोजकहरुले जनाएका छन्। कार्यक्रम आयोजकहरुले कार्यक्रममा सहभागिताका लागि प्रति टिकटको दर ३५ डलर तोकेर टिकट बिक्री कार्यलाई तिब्रता दिइरहेका छन्। तीज विशेष कार्यक्रम भव्यताका साथ मनाउने भन्दै आयोजकहरुले प्रवासी नेपालीहरुलाई आआफ्नो कार्यक्रममा सहभागिताका भइदिन निम्तोसहित अनुरोध गरेका छन्।