मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बोस्टन   
मुख्य समाचार   

हिमालयन लायन्स क्लबको निर्वाचित नयाँ कार्यसमितिलाई पदस्थापन गरियो

हिमालयन लायन्स क्लबको निर्वाचित नयाँ कार्यसमितिलाई पदस्थापन गरियो


अमेरिकाको म्यासाच्युसेट्स राज्यमा रहेको हिमालयन लायन्स क्लब अफ न्यू इङग्ल्याण्ड, डिष्ट्रिक 33K को नव निर्वाचित कार्य समितिलाई पदस्थापन गरिएको छ। जुन २२ तारिख शनिवारका दिन आयोजना गरिएको पदस्थापना कार्यक्रममा गत अप्रिल १२ तारिखमा सम्पन्न अधिवेशनले आगामी दुइ वर्षीय कार्यकाल(२०२४-२०२६)का लागि थानीरत्न कँडेलको नेतृत्वमा सर्वसम्मत निर्वाचित नयाँ कार्यसमतिलाई पदस्थापन गरिएको हो।

निर्वाचन समितिका अनुसार प्रथम उपाध्यक्षमा चन्द्र मल्ल, द्वितीय उपाध्यक्षयमा विजय शर्मा, तृतीय उपाध्यक्षमा बिनोद उप्रेती, सचिव तथा कोषाध्यक्षमा नवीन उप्रेती, एलसिआईएफ चेयरमा बिनोद सुवेदी, क्लब सर्भिस चेयरमा प्रकाश खनाल, मेम्बरसीप चेयरमा चन्द्र मण्डल, महिला बिभाग चेयरमा आशुलक्ष्मी राजभण्डारी, मार्केटिंग कम्यूनिकेशन चेयरमा शिव ठाकुर, प्रोजेक्ट चेयरमा महेश्वर पन्त, बोर्ड अफ डाइरेक्टर पदमा बिष्णु कार्की, राम थापा, शिव कुमार श्रेष्ठ, राम धिताल, अंजु थापा, सरिता पाण्डेय, भेषराज शर्मा, भीम पाध्या र बिकास माली निर्विरोध निर्वाचित भएका छन्। संस्थाका अनुसार निर्वाचित नयाँ कार्यसमितिको कार्यकाल भने यही आउदो २०२४, जुलाई १ तारिखबाट सुरु हुनेछ।

क्लबका चार्टर्ड अध्यक्ष लायन महेश्वर पन्तको अध्यक्षता र डिस्ट्रिक गोभर्नर लायन इभेट मास्मर(Ivette Masmer) र अमेरिकाको म्यासाचुसेट्स राज्यका लागि नेपाल सरकारका अवैतनिक वाणिज्यदूत प्रल्हाद केसीको विशेष उपस्थिति रहेको कार्यक्रममा, नयाँ कार्यसमितिलाई पदस्थापना गर्नुको साथै जिम्मेवारीसमेत सुम्पिएको थियो। कार्यक्रममा नव निर्वाचित कार्यसमितिका प्रथम उपाध्यक्ष चन्द्र मल्लले विशेष अतिथि, अतिथि, क्लब परिवार एवम् सहभागीहरुलाई संस्थाको तर्फबाट स्वागत गरेका थिए। उक्त कार्यक्रममा क्लबका पूर्व अध्यक्ष एवम् निर्वाचन समितिका संयोजक लायन राम थापाले निर्वाचन परिणामको बारेमा जानकारी दिदै निर्वाचित व्यक्तित्वहरुको पद तथा नाम घोषणा गरेका थिए। घोषणाको क्रममा उनले निर्वाचन समितिको तर्फबाट सबैलाई बधाई ज्ञापन गर्दै कार्यकालको पूर्ण सफलताको कामनासमेत गरेका थिए।

कार्यक्रममा डिस्ट्रिक गोभर्नर लायन मास्मरले कार्यसमितिमा निर्वाचित भएका व्यक्तित्वहरुको परिचय गराउदै संस्थाको विधान अनुसार सपथ खुवाएकी थिइन्। सपथ ग्रहण गर्ने क्रममा कार्यसमितिमा चयन भएका व्यक्तित्वहरुले संस्थाले प्रदान गरेको जिम्मेवारी पुरा गर्ने प्रतिबद्धता जाहेर गर्दै सपथ ग्रहण गरेका थिए। कार्यक्रमको दौरानमा सम्बोधन गर्दै लायन मास्मरले क्लबले विगतदेखि नै समुदायको उत्थानका लागि महत्वपूर्ण कामहरु गर्दै आएको स्मरण गर्दै नयाँ कार्यसमितिले पनि सोही बमोजिम काम गर्ने विश्वास व्यक्त गरिन्। उनले क्लबको क्रियाकलापहरुलाई थप प्रभावकारी बनाउन नयाँ सदस्यहरुको संख्या बढाउनु पर्नेमा जोड दिदै नयाँ कार्यसमिलाई बधाई तथा शुभकामना व्यक्त गरिन्। कार्यक्रममा उनले नव निर्वाचित अध्यक्ष लायन थानीरत्न कँडेल, लायन आशुलक्ष्मी राजभण्डारी र लायन बिनोद उप्रेतिलाई क्लबको अन्तर्राष्ट्रिय अध्यक्षबाट प्रदान गरिएको ‘मान्यताप्राप्त प्रमाणपत्र’ प्रदान गरेकी थिइन्। उनले नव निर्वाचित अध्यक्ष लायन थानीरत्न कँडेल र चार्टर्ड अध्यक्ष लायन महेश्वर पन्तलाई गोभर्नर पीन र लायनरु सुशील नेपाल, देवी गौतम, शिव ठाकुरलगायतलाई संस्थाको नयाँ पीन प्रदान गरेकी थिइन्। यसैगरी, कार्यक्रमका विशेष अतिथि नेपाल सरकारका अवैतनिक वाणिज्यदूत प्रल्हाद केसीले समुदायको भलोका लागि लायन्सको भूमिका महत्वपूर्ण रहेको इंकित गर्दै नव निर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए। उनले लायन्स क्लबले समुदायका लागि खेलेको भूमिकाको प्रशंसा गर्दै नेपाल सरकारको प्रतिनिधिको हैसियतले क्लबलाई हुन सक्ने सक्दो साथ दिने बताए।

कार्यक्रमको दौरानमा क्लबका चार्टर्ड अध्यक्ष एवम् कार्यक्रमका अध्यक्ष लायन महेश्वर पन्तले संस्थाको अभियानमा साथ सहयोग पुराउने सबैलाई धन्यवाद व्यक्त गरेका थिए। उनले आफ्नो कुर्सी र चार्टर फ्रेम नव निर्वाचित अध्यक्ष लायन थानीरत्न कँडेललाई प्रदान गर्दै बधाई तथा शुभकामना व्यक्त गरेका थिए। कार्यक्रममा संस्थाका सचिव तथा कोषाध्यक्ष लायन नवीन उप्रेतीले आउदो दुइ वर्षीय कार्यकाल(२०२४-२०२६)का लागि अनुमानित बजेटसहितको कार्य योजना प्रस्तुत गरेका थिए। कार्यक्रममा उक्त कार्य योजनालाई निर्धारित समयसिमाभित्र नै प्रभावकारी ढङ्गबाट पुरा गर्ने प्रतिबद्धतासहित पारित गरिएको थियो। कार्यक्रममा जोन चेयर लायन उषा शर्मा, जोन चेयर लायन केन चिया, हलिस्टन लायन्स क्लबका अध्यक्ष मार्क अरोनियन, नेपालका लागि पर्यटन प्रवर्धक मिलन गुरुङ, क्लबका पूर्व अध्यक्ष सुशील नेपाललगायतले हिमालय लायन्स क्लबले गर्दै आएका सामाजिक गतिविधिहरुको चर्चा र प्रशंसा गर्दै नव निर्वाचन कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए।

सपथ ग्रहण र पदभार ग्रहण गरे लगतै कार्यक्रम सञ्चालनको बागडोर सम्हालेका नव अध्यक्ष लायन कँडेलले कार्यक्रममा सहभागिता जनाउने व्यक्तित्वहरुको परिचय गराएका थिए। कार्यक्रममा सम्बोधन गर्दै उनले सबैलाई धन्यवाद दिनुका साथै आफ्नो नेतृत्वमा रहेको नयाँ कार्यसमितिलाई सफल बनाउन आवश्यक पर्ने साथ सहयोगहरु सबैबाट प्राप्त हुने विश्वाससमेत व्यक्त गरे। उनले संस्थाको मूल उद्देश्यहरु प्राप्तिका लागि आफू र आफ्नो टिम इमानदारीका साथ प्रतिबद्ध भएर लाग्ने बताए।

सन् २०१० मा स्थापना भएको यो संस्थाले स्थापना कालदेखि नै रक्तदान, तीज कार्यक्रम, नेपाल तथा अमेरिकामा रहेका लायन्स क्लबहरुसंग समन्वय र सहकार्य गरी विविध सामाजिक क्रियाकलापहरु गर्दै आइरहेको छ। यस क्लबले नेपालमा हालसम्म १२ वटा विद्यालयहरुमा अक्षयकोषको स्थापना गरी ‘ब्याक टु स्कूल’ परियोजना सञ्चालन गरिरहेको छ। जसले गरिबीका कारण विद्यालय छोड्न बाध्य भएका बालबालिकाहरुलाई अध्ययनका लागि पुन: विद्यालय फर्काउन महत्वपूर्ण भूमिका खेलिरहेको छ।

नेपाल र नेपालीपन तथा पहिचानको संरक्षण, संवर्धन र प्रवर्धन गर्दै अमेरिकन लायन्स क्लबहरुसंग मिलेर नेपाली अमेरिकन समुदायका लागि विविध सामाजिक कार्यहरु गर्ने मुख्य उद्देश्य राखेको छ। हाल यस संस्थामा २० जना सक्रिय सदस्यहरु रहेका छन्।