मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   
मुख्य समाचार   

बागमतीका मन्त्री थपलियाद्वारा अनुगमन : रत्ननगर हरियाली पार्कको ५५ प्रतिशत काम सम्पन्न

बागमतीका मन्त्री थपलियाद्वारा अनुगमन : रत्ननगर हरियाली पार्कको ५५ प्रतिशत काम सम्पन्न

केशव भट्टराई

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन । नगर गौरवको योजनाअन्तर्गत रत्ननगर नगरपालिकाको वडा नं–१० मा निर्माणाधीन हरियाली पार्कको ५५ प्रतिशत काम सम्पन्न भएको छ ।

पर्यटन प्रवर्द्धनमा कोशेढुङ्गा हुने विश्वासका साथ निर्माण सुरू भएको हरियाली पार्कको आइतबार बागमती प्रदेशका आर्थिक मामिला मन्त्री जगन्नाथ थपलियाले अवलोकन तथा अनुगमन गरेका छन् ।

अनुगमनमा रत्ननगर नगरपालिकाका नगरप्रमुख प्रलाद सापकोटा, उपप्रमुख यादव पाठक, प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्साल, विज्ञ सल्लाहकार रामहरि न्यौपाने, वडाध्यक्षहरुलगायतले अनुगमन गरेका हुन् ।

अनुगमनका क्रममा मन्त्री जेएन थपलियाले बागमती प्रदेश सरकारले हरियाली पार्कको निर्माणका लागि आवश्यक बजेट विनियोजन गर्न आफ्नो तर्फबाट पहल गर्ने बताए ।

हरियाली पार्कको लागि नगरले १६ करोड ४० लाख ७६ हजार ९८२ रुपैयाँको लागत इस्टिमेटसहित ठेक्का आह्वान् गरेको थियो । भरतपुर–४ मा रहेको डाइनामिक कन्ट्रक्सन प्रालिले २०८० फागुन ७ गते ११ करोड ५४ लाख ६२ हजार २८२ रुपैयाँमा ठेक्का सम्झौता गरी २०८२ वैशाख २८ गतेभित्र निर्माण सम्पन्न गर्ने गरी काम सुरू गरेको थियो ।

अहिलेसम्म ६ करोड ३ लाख ६३ हजार ८८७ रुपैयाँबराबर अर्थात करिब ५५ प्रतिशत निर्माण सम्पन्न भइसकेको रतननगर नगरपालिका पूर्वाधार शाखाका प्रमुख इन्जिनियर कृष्णप्रसाद उपाध्यायले जानकारी दिए । उनका अनुसार यही रफ्तारमा काम अगाडि बढे आगामी आर्थिक वर्षको असोज मसान्तभित्रै निर्माण सम्पन्न हुने बताए ।

हरियाली पार्क निर्माणपश्चात् व्यस्त जीवनशैलीले मानिसमा हुने धपेडी र तनाव व्यवस्थापन हुनुका साथै असीमित आनन्दका साथ रमाउन सकिने नगरप्रमुख प्रलाद सापकोटाले बताए । हरियाली पार्कभित्र निलो तालसहितको दृश्यले पर्यटकलाई फरक अनुभूति गराउने दाबी गरे । पार्कभित्र सुविधासम्पन्न होटल, रेस्टुराँ, विश्रामस्थल, स्विमिङ, बोटिङ, जिप लाइन, पिङ, चार्जिङ स्टेशनलगायतका गतिविधि सञ्चालन हुने उनले बताए ।

पञ्चनदीको संगमस्थल खगेरी नदीकिनारमा निर्माणाधीन हरियाली पार्कले समग्र रत्ननगरकै पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास उनले व्यक्त गरे ।

पाँचवटा आकर्षक भिल्लाको बीचमा तलाउ, भिल्लाहरुलाई एकापसमा जोड्ने आकर्षक आकाशे पुल, वरपरको वातावरणमा मनमोहक बगैँचा, विविध खेलहरु खेल्न मिल्ने स्थान, खगेरीको तालमा मिनीक्रुज सिप, नजिकै कृष्णसार संरक्षण क्षेत्रलगायतले हरियाली पार्क पर्यटकको लागि आकर्षणको केन्द्र हुने नगर उपप्रमुख यादव पाठकले बताए ।

हरियाली पार्कको सम्पूर्ण संरचना निर्माण गर्न ५९ करोड ५४ लाख ८२ हजार ६ रुपैयाँको डिपिआर तयार गरिएको र थप ४३ करोड रुपैयाँ संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारको लागत साझेदारी रहने इन्जिनियर पंकज गिरीले जानकारी दिए ।