मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   
टेक्सस   

टी २० विश्वकप : नेपाली खेलाडी र क्यानका पदाधिकारीले खेल अघि देखाएको हेलचेक्र्याई (भिडियो रिपोर्ट)

टी २० विश्वकप : नेपाली खेलाडी र क्यानका पदाधिकारीले खेल अघि देखाएको हेलचेक्र्याई (भिडियो रिपोर्ट)


Photo credit: Andrew Leonard

खेलमा अनुशासन हुन्छ । अनुशासन सिकाउनकै लागि खेलकुदमा जोड दिइन्छ । खेलाडी र यस संग सम्वन्धित पदाधिकारी पनि अनुशासनमा बस्नु पर्छ । यसमा पनि क्रिकेटलाई भद्र खेल मानिन्छ । तर, टेक्ससको ड्यालसमा नेपालले खेलेको विश्वकप म्याच खेलाडी, पदाधिकारी र त्यहाँ आएका नेपाली दर्शकमा पनि कैयौं कमजोरी देखिए ।

टी २० क्रिकेट विश्वकप जस्तो महत्वपूर्ण खेलका लागि पनि नेपाली खेलाडी, नेपाल क्रिकेट एशोसियन (क्यान)का पदाधिकारीले थुप्रै हेलचेक्र्याईहरु गरे । देशका लागि महत्वपूर्ण खेल जित्न संवेदनशील हुनुपर्छ भन्ने भावना खेलाडी र पदाधिकारीमा देखिएको देखिएन ।

मंगलवार नेपालले खेलेको विश्वकपको शुरुआती म्याचमै कमजोर टिम निदरल्याण्डसंग सजिलै पराजित भयो । नेपाली खेलाडीलाई हौसला प्रदान गर्न मैदानमा पुगेका हजारौं नेपाली दर्शक निराश भए । टस हारेर शुरुमा ब्याटिंङ गरेको नेपालले खासै रन जोड्न सकेन । १०६ रन मात्र बनाएर २० ओभर खेल्न नपाउँदै (१९.३ ओभर) आउट भयो । टी २० म्याचका लागि यो स्कोर खासै केही पनि थिएन । नेपालको बलिंङले केही आशा देखाएपनि तीनवटा क्याच छुट्दा जित्ने संभावना झनै कमजोर भयो । समग्रमा नेपाली खेलाडीको खेल विश्वकप खेले जस्तो थिएन ।

विश्वकप खेल्न आएका नेपाली खेलाडी र क्यानका पदाधिकारी आफ्नो म्याचमै केन्द्रित हुनु पर्थ्यो । तर, ड्यालसको खेल शुरु हुनुभन्दा २, ३ दिन अघि नेपाली खेलाडी र पदाधिकारी ध्यान खेलमा केन्द्रित नगरी नेपाली समुदायले आयोजना गरेका कार्यक्रममा पुगेका थिए ।

स्थानीय गैर आवासीय नेपाली संघका पदाधिकारी, स्थानीय स्पोर्टस बारले आयोजना गरेको कार्यक्रममा नेपाली खेलाडी र पदाधिकारीले समय बिताए । एनआरएनएले नेपाली खेलाडीलाई हौसला प्रदान गर्न भनि आयोजना गरेको कार्यक्रममा चन्दा उठाईएको थियो । यस मध्ये केही पैसा क्यान र खेलाडीलाई समेत दिईएको सहभागीले वताए ।

खेलाडीलाई सम्मान गर्ने भनेर कैयौंसंग ५०० अमेरिकी डलर चन्दाका रुपमा मागिएको थियो । यसवाट कतिपैसा उठ्यो, खर्च कति भयो र कसलाई पैसा दिईयो यो एनआरएनए पदाधिकारीहरुले सार्वजनिक गरेका छैनन् । यति मात्र होइन म्याच अघि खेलाडीलाई समेत लिएर क्यानका पदाधिकारीहरु नेपालीले खोलेको स्पोर्ट्स बारमा समेत पुगे । नेपाली मन्दिरमा लगेर पूजा गर्न लगाईयो ।

यो हेर्दा क्यान अध्यक्ष लगायत पदाधिकारीहरु अमेरिका घुमघाम, रमाइलो, आफन्त भेटघाटका लागि आएको जस्तो देखिन्थ्यो । क्यानका पदाधिकारीहरुले आईसीसीले दिने मैदान प्रवेशपास लगायतपनि दुरुपयोग गरेको स्थानीयहरुले बताएका छन् ।

खेलाडी र पदाधिकारीले विश्वकप जस्तो महत्वपूर्ण म्याचप्रति देखाएको खेलाँचीप्रति नेपालबाट आएका खेल पत्रकारहरुले समेत मनपराएका थिएनन् । क्लोज-क्याम्पमा बसेर खेल राम्रो बनाउन छलफल गर्नु पर्ने समयमा खेलाडी र पदाधिकारी कार्यक्रममा उपस्थित हुनुमा खेल पत्रकारहरुले गलत भएको बताएका थिए । यसलाई स्थानीयहरुले पनि मन पराएनन् ।

फेसवुकमा यस प्रति टिप्पणी गर्दै स्थानीय नेपाली शुरेन्द्र रेग्मीले (*सच्याइएको) लेखेकाछन्— ‘ड्यालस फोर्टवोर्थमा भएको नेपालीका च्याउ उम्रे भन्दा बढी संस्थाले विश्वकप खेल्न आएका र निश्चित नियम, अनुशासन, आहार र खेल अभ्यासमा रहनुपर्ने खेलाडीलाई कतै पार्टी गरेको छ, राती अबेरसम्म राखेको छ, कतै सम्मान भनेको छ, खेलाडीहरुलाई दौडाएको छ। विहान राम्ररी सुत्न पनि दिएको छैन, कतै प्रेस मिट भनेको छ, खादा भिरा’को छ! मन्दिर दर्शन भनेको छ , आफन्त भेटघाट भनेको छ, गाडीमा राखेको छ दिनभर रातभर डुलाएको छ अनि कसरी खेलुन ति खेलाडीले? बन्द सेसनमा रहेर खेल्नुपर्ने खेलाडीलाई ससुराली गाको ज्वाईं जस्तो गरेर निश्चित नियमवाट बाहिर निकालेर खत्तम पारे! ‘

नेपाली खेलाडी र पदाधिकारीमा अनुशासन र प्रतिवद्धताप्रति प्रश्न उठेको यो पहिलो पटक भने होइन । नेपालका खेल पदाधिकारीहरु त सधै विवादित छन् ।

क्लोज-क्याम्पमै रहेका बेला तत्कालिन नेपाली क्रिकेट राष्ट्रिय क्याप्टेन सन्दिप लामिछाने एउटी युवतीलाई लिएर नगरकोट पुगेका थिए । केही दिन पछि विदेश जाने तयारीमा रहेका लामिछाने त्यतिमा मात्र रोकिएनन् ति युवतीसंग उनले गौशालाको होटलमा रात पनि बिताए । ति युवतीले लामिछानेलाई बलात्कारको आरोप लगाइन्। यही कारण संभावना भएका एक जना होनहार खेलाडीको खेज जीवन नै धराशायी बन्ने कारक भएको छ। उच्च अदालतबाट सफाई पाएर पनि नेपालको विश्वकप यात्रा तय गर्न ठूलो योगदान दिएका मु्ख्य खेलाडीले भिसाका कारण क्यान र आइसीसीको प्रयासका बाबजुद नेपालको तर्फबाट खेल्न पाएनन् ।

नेपालले विश्वकपको आउने खेल एक साता पछि श्रीलंकासंग अमेरिकाकै फ्लोरिडामा खेल्दै छ । त्यहाँ पनि नेपाली समुदायको ठूलो बसाई छ । श्रीलंकाको टिम अहिले कमजोर छ र नेपालले केही गरेर देखाउने हो भने उक्त म्याच जित्नुको कुनै विकल्प छैन ।

केही दर्शक पनि उस्तै
ड्यलसको उक्त म्याच हेर्न करिब छ हजार नेपाली पुगेका थिए । एकजना नेपालीलाई बार नाघेर खेलाडी नजिक पुगेको हुँदा प्रहरीले पक्राउ गर्यो भने अर्का एकजना रक्सीले मातेका नेपालीलाई खेलपछि प्रहरीलाई दुर्व्यवहार गरेको आरोपमा गिरफ्तार गरेर लगेको देखिएको थियो। त्यस्तै खेल हेर्न आएका एक जना नेपाली दर्शकले खेलपछि स्थानीय नेपाली रेष्टुरेण्टमा एक नेपाली वेटर युवतीलाई गलत आशयले हात समातेपछि बबाल भएको थियो । झगडा पर्न थालेपछि प्रहरी डाक्ने सम्मको अवस्था आएको थियो । ती नेपालीले आफूलाई नेपालको पर्यटन प्रवर्द्धकका रुपमा चिनाउने गरेको त्यहााँ उपस्थित हुनेले बताए।

तसर्थ, नेपाल बाहिर हज़ारौं नेपालीको साथ र हौसला पाएको नेपाली क्रिकेट टिमले आफ्नो समुहमा तुलनात्मक रुपमा कमजोर ठानिएको नेदर्ल्याण्ड्सलाई हराउने अवसर गुमाउन पुगेको छ। आफ्नो देशको टोली विश्वकपको पहिलो खेलमा विजयी भएको क्षणको साक्षी बस्न टेक्ससको ग्याण्डप्रेरी स्चेडियममा उपस्थित करिब छ हजार नेपालीले जीतको खुसी मनाउन नपाएको त्यो क्षुब्ध फर्कंदैन। पहिलो खेलपूर्व र खेलका दौरान भएका कमजोरीबाट सिकेर क्यान र खोलाडीले समुह चरणका बाँकी तीन खेलमा विशेष ध्यान जानुपर्नेमा सबै खेलप्रेमीको सुझाव सर्वत्र सुनिएको छ।