मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

टेक्सस   
नेपाल   
मुख्य समाचार   
हिमालय खबर तस्विर   

चितवनमा ‘प्रवासमा पत्रकारिता’ विषयक छलफल तथा अन्तर्क्रिया

चितवनमा ‘प्रवासमा पत्रकारिता’ विषयक छलफल तथा अन्तर्क्रिया

पूर्वअध्यक्ष वेदप्रसाद खरेललाई अग्रज पत्रकार सम्मान

केशव भट्टराई

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन । नेपाल पत्रकार महासंघ चितवन शाखाको आयोजनामा ‘प्रवासमा पत्रकारिता’ विषयक छलफल तथा अन्तर्क्रिया कार्यक्रम दियालो फुडल्यान्ड नारायणगढमा सम्पन्न भएको छ ।

नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्वअध्यक्ष वेदप्रसाद खरेलले प्रवासमा पत्रकारिता सोचेजस्तो सजिलो नरहेको बताउँदै १२ घन्टा काम सकेर पत्रकारिता गर्नु निकै कठिन कार्य रहेको बताए । नेपालमा पत्रकारिता पेसा गर्दागर्दै अमेरिका पुगेका खरेलले सन् २००६ देखि २०११ सम्म नेपालीन्यूजयुएसएडटकम सञ्चालन गरेका उनले संस्थागतरुपमा विज्ञापन नआउने भएकाले प्रवासमा पत्रकारिता गरेरै बाँच्न कठिन हुने बताए ।

उनले चितवनमा पत्रकारिता गर्दा पहिलो समाचार ‘अस्पतालको बेहाल ; डाक्टरहरु कमाउन व्यस्त’ शीर्षकको समाचार लेखेको स्मरण गर्दै अहिलेको समयजस्तो त्यतिबेला पत्रकारिता गर्न सहज नभएको उल्लेख गरे । आफू चितवनको अध्यक्ष रहँदा पत्रकारहरुलाई यातायातमा ५० प्रतिशत छूट र अस्पतालमा छूट सुविधा दिलाएको बताए । अमेरिकाको बसाइँ बिट मार्दै नेपालमा केमिकल इन्डस्ट्री सञ्चालन गर्न लागेको जानकारी दिए ।

नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्वअध्यक्ष कृष्ण भण्डारीले प्रवासमा पत्रकारिता गर्न निकै दुःख रहेको बताए । नेपाल पत्रकार महासंघ जापानका सल्लाहकारसमेत रहेका भण्डारीले काम गरेर बचेको समय पत्रकारितामार्फत नेपाली समाज, धर्म र संस्कृतिलाई जोड्ने पुलको काम गरिरहेको बताए ।

यस्तै, अमेरिका नपाल पत्रकार संघ (नेजा)का पूर्वअध्यक्ष तथा अमेरिकाको टेक्सासमा विगत १४ वर्षदेखि प्रतिनिधिमूलक डिजिटल पत्रिका हिमालयखबर सञ्चालन गर्दै आएका विकाशराज न्यौपानेले प्रवासको पत्रकारिता सोचेजस्तो सहज नरहेको र अझैसम्म व्यावसायिक हुन नसकेको बताए ।

उनले अमेरिकामा करिब पाँच लाख नेपाली रहेकोमा टेक्सास, डालासमा मात्रै एक लाख नेपाली रहेको र उनीहरुलाई धर्म र संस्कृतिसँग जोड्ने, विज्ञ भेला गर्ने र परोपकारी कार्यमा जोड्न पत्रकारिताले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।

नेपालमा लामो समय व्यावसायिक पत्रकारिता गरी अमेरिकामा रही विभिन्न पेसामा आवद्ध पत्रकारहरुलाई एकीकृत गरी हिमालयखबरमा आवद्ध गरी नेपाली समुदायका हरेक दुःखसुखमा सारथिको काम गरिरहेको उनले सुनाए ।

अमेरिका नपाल पत्रकार संघ (नेजा)ले हरेक दुई/दुई वर्षमा २ लाख २२ हजार २२२ रुपैयाँ राशिको ‘नेजा सामुदायिक ग्रामीण पत्रकारिता पुरस्कार’ नेपाल पत्रकार महासंघको समन्वयमा नेपालमा वितरण गर्दै आएको र भविष्यमा सातवटै प्रदेशमा जनही ५० हजार रुपैयाँ राशिको पुरस्कार हिमालयखबरको पहलमा प्रदान गरिने योजना रहेको जानकारी दिए ।

उनले एकपटकको नेपाली सधैँको नेपाली रहने भएकाले नेपालमा आमा र मातृभूमिको प्रेम प्रवासमा रहेका नेपालीमा रहेको र जीवनको उत्तरार्द्धमा नेपाल नै फर्किने भएकाले फरक सोचले हेर्न नहुने बताए । राज्यले दोहोरो नागरिकता दिने निर्णय गरे पनि कार्यान्वयन कहीँ कतै नभएको बताउँदै राज्यले सहजीकरण गरिदिए स्वदेशमै फर्किने सोच अधिकांश प्रवासी नेपालीको रहेको उनको भनाइ थियो ।

अन्तर्क्रिया कार्यक्रमको समन्वय र सहजीकरण नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष नारायण अधिकारीले गरेका थिए । सो अवसरमा चितवन शाखाले अधिवेशनका क्रममा प्रदान गरेको अग्रज पत्रकार सम्मान पूर्वअध्यक्ष वेदप्रसाद खरेललाई प्रदान गरिएको थियो । कार्यक्रममा अग्रज पत्रकार दीपक आचार्य, ईश्वर जोशी, हिमालयखबरका नेपाल संयोजक केशव भट्टराईलगायतका चितवनका पत्रकार तथा सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।