ग्वाटेमालाकी सिन्थिया, चार वर्ष देखि ठेलामा फलफूल र मेक्सिकनशैलीको चटपटे खानेकुरा बेचेर गुजारा गर्दैछिन्। टेक्ससको प्यासेडेनाका पार्किंङ लटहरुमा ठेलामा नेपालतिर ‘चटपटे’ भनिने खालको खानेकुरा बेच्दै डुल्ने सिन्थियालाई स्प्यानिश बाहेक केही भाषा बोल्न आउँदैन। अँग्रेजी पटक्कै नबुझ्ने उनलाई मैले कनिकुथी स्प्यानिशमा मोवाइल ट्रान्सलेटरको सहाराले सोधें , दिनको कति कमाउनु हुन्छ? उनको जवाफ थियो—“त्यस्तै एक सय देखि १५० डलरसम्म। खर्च कटाएर ७५ देखि १०० सम्म बचाउन सक्छु। कागज छैन, अरु खासै काम जानेको छैन, अहिलेललाई राम्रो नभएपनि यही काम ठिकै छ। पानी पर्दा, हुरी बतास चल्दा व्यापार हुन्न। अलि गर्मीमा चिसो चटपटे स्वाद मन पराउनेले खान्छन्। केटाकेटी पाल्न चलेको छ, केही वर्ष हेर्छु, कागज बनेन भने आफ्नै देश फर्कने हो।”
भूपु पाण्डेको गीत—जिन्दगी चल्न त चल्या छ, पीरै पीरमा छ’ ले उठान गरेको कामको खोजीमा हुने आप्रवासनको सान्दर्भिकता नेपालमा मात्र होइन, यता दक्षिण अमेरिकी देशहरुका हकमा पनि उत्तिकै छ। तल्लो बाटो भनिने जोखिमयुक्त पैदल र सामुद्रिक मार्गको प्रयोग गरेर गैरकानूनी रुपमा अमेरिका छिर्ने ग्वाटेमाला, होण्डुरस, एलसल्भाडर, कोलम्बिया, मेक्सिको जस्ता मुलुकका श्रमजीविहरुको अवस्था पनि त्यस्तै छ, जस्तो अहिले लाखौं श्रमजीवी नेपालीहरुको छ। काम जे होस् जिन्दगी चल्नु पर्छ!
तस्बिरः सुजन पण्डित/हिमालय खबर
प्रतिक्रिया