मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बोस्टन   
मुख्य समाचार   

साङ्गीतिक माहोलबीच बोस्टनमा नेपाली नयाँ वर्ष हर्षोल्लासका साथ मनाइयो

साङ्गीतिक माहोलबीच बोस्टनमा नेपाली नयाँ वर्ष हर्षोल्लासका साथ मनाइयो


नेपालको राष्ट्रिय गान गाएर सम्मान प्रकट गर्दै सहभागीहरु।

बोस्टन । अमेरिकाको बोस्टन सहरमा साङ्गीतिक माहोलबीच नेपाली नयाँ वर्ष हर्षोल्लासका साथ मनाइयो । नेपाली पात्रोअनुसार नयाँ वर्ष विसं २०८१ शुभारम्भ भएको अवसर पारेर सामूहिकरुपमा नयाँ वर्ष हर्षोल्लासका साथ मनाउने उद्देश्यले गत अप्रिल १३ तारिख शनिबार साँझ ग्रेटर बोस्टन नेपाली कम्युनिटीले विशेष साङ्गीतिक कार्यक्रम ‘वैशाखी साँझ २०८१’ को आयोजना गरेको थियो ।

कार्यक्रममा सहभागी भई न्यू इङ्ल्याण्डवासी प्रवासी नेपालीहरुले नेपाली नयाँ वर्ष हर्षोल्लासका साथ मनाएका हुन् । कार्यक्रमको पहिलो चरणमा नयाँ वर्ष २०८१ को शुभकामना आदानप्रदान गरिएको थियो । नेपालको राष्ट्रिय गान र अमेरिकाको राष्ट्रिय गान बजाउँदै गाउँदै ‘वैशाखी साँझ २०८१’ को पर्दा खोलिएको थियो ।

जिबिएनसि(GBNC) की अध्यक्ष अञ्जु थापा स्वागत तथा शुभकामना मन्तव्य व्यक्त गर्दै ।

जिबिएनसीका महासचिव सोनाम शेर्पाले संस्था, कार्यक्रम, नयाँ वर्ष र कार्यक्रमको उद्देश्यका बारेमा संक्षिप्त जानकारी गराउदै सञ्चालन गरेको कार्यक्रममा, संस्थाकी अध्यक्ष अञ्जु थापाले आगन्तुक अतिथिहरु, पाहुनाहरु, कलाकारहरु, सहभागीहरु लगायतलाई संस्थाको तर्फबाट स्वागत् गरेकी थिइन्।

अध्यक्ष थापाले कार्यक्रम सफल बनाउन प्रत्यक्ष-परोक्षरुपमा साथ सहयोग गर्ने सबैलाई संस्थाको तर्फबाट धन्यवाद ज्ञापन गर्दै नेपाली नयाँ वर्ष २०८१ को शुभकामनासमेत व्यक्त गरेकी थिइन्।

यसैगरी, कार्यक्रममा सहभागी भएका विभिन्न संस्थाका प्रमुख तथा प्रतिनिधिहरुले नयाँ वर्षको शुभकामना व्यक्त गर्दै कार्यक्रमको पूर्ण सफलताको कामना गरेका थिए भने सहभागीहरुले पनि एकआपसमा शुभकामना साटासाट गरेका थिए।

कार्यक्रम तालिकाअनुसार शुभकामना मनतव्य व्यक्त गर्ने पहिलो चरणको कार्यक्रम समापन भएलगत्तै दोश्रो चरणको सांगीतिक कार्यक्रम सुरु भएको थियो । दोश्रो चरणको सांगीतिक कार्यक्रम सञ्चालन गर्ने जिम्मेवारी अस्मी पोख्रेल र सजना अधिकारीले संयुक्तरुपमा सम्हालेका थिए।

अस्मी पोख्रेल र सजना अधिकारी सांगीतिक कार्यक्रम सञचालन गर्दै।

सांगीतिक कार्यक्रमको पहिलो कोसेलीस्वरुप कलाकारद्वय साध्वी कार्की र सरन्य निरौलाले ‘दुई चुल्ठी बाटेर, सोह्र साल काटेर …बोलको गीतमा आकर्षक नृत्य प्रस्तुत गरेका थिए। सांगीगिक कार्यक्रमको पहिलो चरणमा स्थानीय कलाकारहरुले आफ्नो कलाहरु प्रस्तुत गरेर सांगीतिक माहोललाई तताएका थिए।

कलाकारद्वय साध्वी कार्की र सरन्य निरौला

साँझ सात बजेबाट प्रारम्भ भएको कार्यक्रममा स्थानीय कलाकारहरु बिराज गुरुङ, सुशीला बस्नेत तिमल्सिना, संयक अधिकारी, पूजा घिमिरे, प्रबिन राजथला, काइजेन(सिकुम लिम्बु), निर्मल कार्कीलगायत कलाकारहरुले आफ्नो जोडदार प्रस्तुति पस्किएका थिए।

स्थानीय कलाकारहरुले एकपछि अर्कोगरी निकै आकर्षक सांगीतिक कोसेलीहरु पस्किरहँदा सहभागीहरु पनि सांगीतिक माहोलमा डुबेर रमाइरहेका थिए। सांगीतिक कार्यक्रमको मुख्य आकर्षणमा पछिल्लो समय सांगीतिक क्षेत्रका चर्चाको शिखर चड्दै गरेका उदयमान गायक कृष्ण काफ्ले र गायिका परिजिता बास्तोला रहेका थिए।

काफ्ले र बास्तोलाले पस्किने चर्चित सांगीतिक कसेलीहरुमा गाउदै नाच्दै रमाइलो गर्दै नयाँ वर्ष मनाउने प्रतिक्षामा रहेका सहभागीहरुले, मौकाको सक्दो उपयोग गरेर मनोरञ्जनको तृष्णा मेटाउन कुनै कसर बाँकी राखेनन्। बाद्यवादनका आफ्ना तीन सहकर्मीहरुसहित बास्तोला मञ्चमा उत्रिदा, सांगीतिक माहोलको पारो एकाएक चडेको थियो। सहभागीहरुले उच्च स्वरमा हुटिङ गरेर बास्तोलाई स्वागत गर्दै गर्दा उनले पनि बहुचर्चित रियालिटी शो ‘द भ्वाइस’को अमेरिकन संस्कणका दौरानमा बोस्टनबासीहरुले प्रचारप्रसार गरेर र भोट दिएर लगाएको गुन स्मरण गर्दै धन्यवाद व्यक्त गर्न भ्याइन्।

सांगीतिक प्रस्तुति दिदै गायिका परिजिता बास्तोला ।

उनले नेपाली र अंग्रेजी भाषाका तिम्रो लागि सारा संसार…, केही मिठो बात गर …, तिम्रो लागि…, लभ युलगायत गीतहरु गाएर सहभागीहरलाई भरपुर मनोरञ्जन दिलाएकी थिइन्। अमेरिकाको मेरिल्याण्डमा जन्मिएकी गायिका परिजिताले पछिल्लो समय अमेरिकामा रहेका नेपाली समुदायले आयोजना गर्ने सांगीतिक कार्यक्रमहरुमा बाक्लै उपस्थिति जनाउन थालेकी छिन्।

अंग्रेजी र नेपाली गीतहरु गाउदा उनको गायकीपनमा परिवर्तित समय अनुसार नविनतम् स्वाद पाइने भएकाले पनि, उनी युवा पुस्ताको रोजाइमा प्राथमिकताका साथ पर्न सफल भइरहेकी छिन्। कार्यक्रमको दौरानमा कार्यक्रम आयोजक संस्था जिबिएनसिले कार्यक्रम सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै गायक कृष्ण काफ्ले, गायिका परिजिता बास्तोलालगायत अन्य स्थानीय कलाकारहरुलाई पनि प्रशंसापत्र प्रदान गर्दै कदर प्रकट गरेको थियो।

सांगीतिक कार्यक्रमको अन्तिम सांगीतिक प्रस्तोता गायक कृष्ण काफ्ले रहेका थिए। पाँच सय भन्दा बढी गीतहरु गाएर नेपाली गीत संगीत प्रेमीहरुको मन जित्न सफल काफ्ले, मञ्चमा उत्रनेबित्तिकै सहभागीहरुमा निकै उल्लास छाएको थियो।

गायक कृष्ण काफ्ले आफ्नो प्रस्तुति पस्कदै ।

उनले स्थानीय गायिका सुशीला बस्नेत तिमल्सिनाको साथमा ‘सके हसाउछु, नसके तिमीलाई रुन दिन्न’ गीत गाएर आफ्नो प्रस्तुतिको यात्रा सुरु गरेका थिए। सहभागीहरुलाई उत्साहीत गराउदै काफ्लेले ‘पर्ख पर्ख मायालु, देख्न चम्पा, तिम्रो पिक्चर हिट जस्ता चर्चित गीतहरु प्रस्तुत गर्दा सहभागीहरुले पनि उनलाई खुलेर साथ दिएका थिए।

सहभागीहरुको पटक पटकको ‘वान्स मोर’ले काफ्लेलाई आफ्नो प्रस्तुतिलाई बिट मार्न हम्मे हम्मे परेको थियो। उनले डिजे सन्दिप भट्टराईको साथ सहयोगमा नयाँ स्वादमा तयार गरिएका म्युजिक ट्र्याकमा, चर्चित नेपाली लोक गीतहरु गाएर सहभागीहरुको सांगीतिक तृष्णा मेटाउन भरमग्दूर प्रयास गरेका थिए। प्रवेश शुल्क ४० डलर रहेको कार्यक्रममा, डिजे सन्दिप भट्टराईले सृजना गरेको सांगीतिक माहोलसहित स्वादिष्ट नेपाली परिकारहरुकोसमेत प्रबन्ध गरिएको थियो।

राति ११:३० बजेसम्म सञ्चालन भएको कार्यक्रममा, करिब चारसय हाराहारीको संख्यामा सहभागीहरुको उपस्थित रहेको थियो। कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ।

जिबिएनसी (GBNC) का महासचिव सोनाम शेर्पाले कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको प्रतिक्रिया दिनै खुशी व्यक्त गरेका छन्। उनले भने, ‘माहोल हेर्दा समग्रमा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको हाम्रो बुझाई छ। यद्यपि, सहभागीहरुको प्रतिक्रिया बुझ्न र कार्यक्रमको समिक्षा गर्न बाकी नै छ। कमी कम्जोरीहरु पहिचान भएमा भावी दिनहरुमा अवश्य सुधार गर्ने छौं।’

महासचिव शेर्पाले कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न प्रत्यक्ष अप्रतक्ष्य सहयोग गर्ने सबैलाई संस्थाको तर्फबाट धन्यवाद व्यक्त गर्दै भावी दिनहरुमा पनि सबैबाट यस्तै साथ र सहयोगको निरन्तरताको अपेक्षा गरे। कार्यक्रमको प्रायोजकहरुमा मोर्गेज किङ्स, न्यूयोर्क लाइफ इन्सुरेन्स, वनेष्ट (Onest), सिटी रियालिटी (City Reality), इन्साइट् मोर्गेज क्रप (Insight Mortgage Crop), इ एण्ड एन सर्भिसेस् इन (E&N Services In),आएला हिमालयन बार एण्ड ग्रिल (Ailla Himalayan Bar and Grill), चौबन्दी बुटिक (Chaubandi Boutique), Berkshire Hathaway home services र Verani Realty रहेका थिए।