मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बोस्टन   
मुख्य समाचार   

संस्थाको अभियानमा अमूल्य योगदान पुर्‍याउने व्यक्तित्वहरुलाई प्याब्फोनले गर्‍यो सम्मान

संस्थाको अभियानमा अमूल्य योगदान पुर्‍याउने व्यक्तित्वहरुलाई प्याब्फोनले गर्‍यो सम्मान


पशुपतिनाथ बुद्ध फाउण्डेशन अफ न्यू इङल्याण्ड(प्याब्फोन-PABFONE)ले एक बृहत कार्यक्रमको आयोजना गरी संस्थाको अभियानमा महत्वपूर्ण योगदान पुर्याउने व्यक्तित्वहरुलाई सम्मान गरेको छ। अमेरिकाको ऐतिहासिक सहर बोस्टन स्थित प्रवासी नेपालीहरुको संस्था प्याब्फोनले संस्था स्थापना कालदेखि हालसम्म संस्थाको विकास गर्न र गरिमा बढाउन यथासक्य आर्थिक, भौतिक तथा नैतिक रुपमा अमूल्य योगदान पुर्याउनेहरुलाई सम्मान गरेको हो। त्यसका लागि गत मार्च ३१ तारिख आइतवारका दिन 594 Washington Street, Braintree स्थित आफ्नै सामुदायिक भवनमा बृहत् ‘ दाता, कलाकार, स्वयंसेवक एवम् मिडिया सम्मान कार्यक्रम’ को आयोजना गरेको थियो।

पण्डित द्वय गोकुल कंडेल र रमेश पराजुली स्वस्ति वाचन गर्दै ।

कार्यक्रममा संस्थाको स्थापनाकालदेखि हालसम्म अमूल्य योगदान पुर्याउने व्यक्तित्वहरुलाई पण्डित गोकुल कंडेल, संस्थाको बोर्ड अफ ट्रस्टिजका अध्यक्ष सुशील चन्द्र पौडेल, ट्रष्टिजका उपाध्यक्ष द्वय मिलन गुरुङ र राम थापा, कार्यसमितिकी वरिष्ठ उपाध्यक्ष एलिना श्रेष्ठलगायतले सम्मानित हुने व्यक्तित्वहरुलाई सम्मान स्वरुप खादा लगाउदै सम्मानपत्र प्रदान गरेका थिए। पण्डित द्वय गोकुल कंडेल र रमेश पराजुलीले सम्पूर्ण प्राणी जगतको कल्याण र विश्व शान्तिको कामना गर्दै धार्मिक विधि अनुसार ‘स्वस्ति वाचन’ गरी उद्घाटन गरिएको कार्यक्रममा, संस्थाको विधान अनुसार एक लाख डलर दान गर्ने दम्पती शिव श्रेष्ठ र अन्जु श्रेष्ठलाई स-सम्मान संस्थाको संरक्षक सदस्य बनाइएको घोषणा गरिएको थियो। श्रेष्ठ दम्पती विशेष कारणवश मासाच्युसेट्स राज्य बाहिर भएकाले उनीहरुलाई सम्मानसहितको संरक्षक सदस्यताको प्रमाणपत्र प्रदान गर्न नपाउदा भने संस्थाले खल्लो महसुस गरेको थियो।

संस्थाको बोर्ड अफ ट्रस्टिजका अध्यक्ष सुशील चन्द्र पौडेलको अध्यक्षता रहेको उक्त कार्यक्रममा, संस्थाको कार्यसमितिका अध्यक्ष बिरोचन नेपालले सहभागी भएका अतिथिहरु, पण्डितहरु, सम्मानित हुने व्यक्तित्वहरु, संस्था परिवार, कलाकार, पत्रकार, फोटोग्राफर, स्वयंसेवक, सहभागीहरुलगायतलाई संस्थाको तर्फबाट स्वागत गरेका थिए। स्वागत मनतव्य व्यक्त गर्ने क्रममा अध्यक्ष नेपालले संस्थाको स्थापना कालदेखि हालसम्म संस्थाले भोग्नु परेको उतार चढावहरु र गर्व गर्न लायक संस्थागत उपलब्धिहरुको गम्भीरतापूर्वक स्मरण गर्दै संस्थाको संक्षिप्त परिचय प्रस्तुत गरेका थिए।

सम्बोधनका क्रममा निकै भावुक देखिएका उनले संस्थाले लिएको लक्ष्य प्राप्तिका लागि छेडिएको अभियानका क्रममा हातेमालो गर्दै अमूल्य साथ सहयोग गर्ने सम्पूर्ण व्यक्तित्वहरुप्रति कृतज्ञता प्रकट गरेका थिए।

फोटोग्राफर सुरेन्द्र नापित सम्मान ग्रहण गर्दै ।

‘हाम्रो धेरै समस्याहरु छन्। तर, आज हामी समस्याहरु बताउदैनौं। आज हामीलाई यहाँसम्म ल्याइपुर्याउन महत्वपूर्ण भूमिका खेल्नु हुने तपाईं आदरणीय महानुभावहरुलाई सम्मानको चिनो दिउ भनेर यो कार्यक्रम गरिएको हो। ‘सम्बोधनका क्रममा प्रफुल्लित हुदै उनले थपे,’ यो अभियानमा धेरै भन्दा धेरै महानुभावहरु जोडिनु भएको छ। एक डलर दिनेदेखि एक लाख डलरसम्म दिनेहरु हुनुहुन्छ। सबैको योगदानलाई हामीले त्यही ढंगले उच्च कदर गरेका छौं।’

संस्थाको कार्यसमितिकी वरिष्ठ उपाध्यक्ष एलिना श्रेष्ठले कार्यक्रममा सम्बोधन गर्दै संस्थाका अभियानहरुमा अमूल्य योगदान पूर्याउने व्यक्तित्वहरुको मुक्तकण्ठले प्रशंसा गरेकी थिइन्। उनले संस्थाको महत्वाकांक्षी अभियान, दाता, संघ संस्था तथा सहयोगीहरुको योगदान, सामुदायिक एकता तथा धार्मिक सहिष्णुता, संस्थाको महत्व तथा गरिमालगायत महत्वपूर्ण विषयहरुलाई प्राथमिकताका साथ उठान गरेकी थिइन्। धन्यवाद सम्बोधनका क्रममा उनले आपसी एकतााई मजबुत बनाउन र संस्थाको गरिमा बढाउन सानो सहयोगले पनि निकै महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै पशुपतिनाथ तथा बुद्ध मन्दिर केबल मन्दिर मात्र नभएर शान्ति, सामुदायिक एकता तथा सद्भावको केन्द्र पनि भएको जिकिर गरिन्। संस्थाका महासचिव गौरव राज थपलिया, सचिव सञ्जय तिमल्सिना र प्रवक्ता परशुराम फूयालले संयुक्त रुपमा सञ्चालन गरेको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा वरिष्ठ उपाध्यक्ष श्रेष्ठले संस्थाको तर्फबाट सबैलाई धन्यवाद दिदै कृतज्ञता प्रकट गरेकी थिइन्।

कार्यक्रमको अन्त्यमा, संस्थाको बोर्ड अफ ट्रस्टीजका अध्यक्ष तथा सम्मान कार्यक्रमका अध्यक्ष सुशील चन्द्र पौडेलले पनि संस्थाको हरेक अभियानहरुमा साथ सहयोग गर्ने सबै तह र तप्काका व्यक्तित्वहरुप्रति धन्यवाद प्रकट गरे। सम्बोधनका क्रममा उनले दाता तथा सहयोगीहरुको अमूल्य योगदानलाई सम्मान गर्न धन्यवाद शब्दले मात्र नपुग्ने जिकिर गरे। संस्थाले गर्व गर्न लायक उपलब्धिहरु हासिल गर्न अमूल्य योगदान पुर्याउने सबैलाई बधाई ज्ञापन गर्दै ट्रस्टिजका अध्यक्ष पौडेलले कार्यक्रमको समापन गरेका थिए।

सम्मान कार्यक्रम समापन भएपछि भजनकीर्तन कार्यक्रम संचालन गर्दै कलाकारहरु ।

औपचारिक कार्यक्रम समापन भए लगतै मन्दिरमा भजनकीर्तन तथा आरती कार्यक्रम सुरु भएको थियो। भजनकीर्तन टोलीले हरेक आइतवार गरिदै आएको भजनकीर्तन कार्यक्रमलाई निरन्तरता दिएका थिए भने, भजनकीर्तनमा साथ दिदै भक्तजनहरुले मन्दिरमा स्थापित भगवानहरुको दर्शन, ध्यान, जप, पूजापाठ, आरती आदि धार्मिक गतिविधिहरु गरेका थिए। उक्त दिन विहानैदेखि मन्दिर खुला गरिएकाले सम्मान कार्यक्रममा सहभागी हुनेहरुले पनि मन्दिरमा गई भगवानहरुको दर्शन, पूजापाठ, प्रार्थना आदि गरेका थिए। उक्त दिन प्याब्फोनले कार्यक्रममा सहभागी हुनेहरु तथा भक्तजनहरुलाई प्रसाद तथा भोजनकोसमेत व्यवस्था गरेको थियो।

झण्डै १४ वर्ष अघि सन् २०१२ मा स्थापना भएको यस संस्था सन् २०१९ अगष्ट ७ तारिखका दिन, फष्ट वाप्टिष्ट चर्चका रुपमा रहेको भवन ‘पशुपतिनाथ बुद्ध फाउण्डेशन अफ न्यू इङल्याण्ड’ नाममा खरिद गर्न सफल भएको थियो। छोटो समयमा नै उक्त भवनमा पशुपतिनाथ तथा बुद्ध मन्दिरको स्थापना गरी गत वर्ष मे २७ देखि ३० तारिखसम्म ४ दिने बृहत् धार्मिक तथा सामाजिक कार्यक्रम ‘मूर्ति प्राण प्रतिष्ठा एवं सामुदायिक भवन समुद्घाटन कार्यक्रम’ सम्पन्न गरेर नियमित रुपमा मन्दिर सञ्चालन गरिदै आइरहेको छ। त्यसैगरी, उक्त भवनामा सामुदायिक केन्द्र स्थापना गरेर विभिन्न सामाजिक क्रियाकलापहरु गरिदै आइएको छ। हालसम्म दाता तथा सहयोगीहरुको दान तथा सहयोगहरुमा आश्रृत भएर अघि बढिरहेको यस संस्थाले, निकट भविश्यमा नै धार्मिक ज्ञान बाढ्ने, सामुदायिक एकतालाई थप कसिलो बनाउने र संस्थालाई जीवन्त राख्न आवश्य पर्ने अर्थको जोहो गर्ने मुख्य उद्देश्य लिएर बृहत धार्मिक महायज्ञ गर्ने तयारी गरिरहेको छ। प्रवासी नेपालीहरुले गर्व गर्न लायक यस संस्था र यसले प्राप्त गरेका उपलब्धिहरु जोगाइराख्न भने अब दिगो आर्थिक श्रोतको खोजी गरिनु जरुरी देखिन्छ।