मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   
बोस्टन   
मुख्य समाचार   

बोस्टनमा आयोजित खुला बास्केटबल प्रतियोगिताको उपाधि भङ्गेराले चुम्यो

बोस्टनमा आयोजित खुला बास्केटबल प्रतियोगिताको उपाधि भङ्गेराले चुम्यो


अमेरिकाको म्यासाच्युसेट्स राज्यको बोस्टन स्थित खेलकुद आइएनसि(Khelkud INC)द्वारा बोस्टनमा आयोजित खुला बास्केटबल प्रतियोगिता ‘भङ्गेरा’ समूहले चुमेको छ। गत २०२४, मार्च १७ तारिख आइतवारका दिन 47 Elm st. Everett, MA-02149 स्थित Everett Recreation Center मा सम्पन्न प्रतियोगितामा २४-१४ को सेटमा ‘कोइली’ समूहलाई पाखा लगाउदै ‘भङ्गेरा’ समूह उपाधि चुम्न सफल भएको हो। उपाधिका लागि छिनोफानो गर्न भएको रोमान्चकारी उक्त अन्तिम खेलमा ‘कोइली’ समूहले निकै मेहनत गरेतापनि, अन्ततोगत्वा भङ्गेरा समूहलाई उपाधि सुम्पदै आफू उपविजेतामा सिमित हुन बाध्य भएको थियो। प्रतियोगिताको विजयी टिमलाई आयोजकले सिल्ड तथा खेलाडीहरुलाई ट्रफी प्रदान गरेको थियो।

नकआउट(Knockout) विधि अवलम्बन गरेर खेलाइएको उक्त खेलहरुमा डाँफे, मुनाल, भङ्गेरा, सुगा, हेरोन, टोड्के, कोइली र मयूर गरी ८ टिमले भाग लिएका थिए। पहिलो चरणको रोमाञ्चकारी प्रतिस्पर्धाहरुमा मुनालले डाँफेलाई, भङ्गेराले सुगालाई, हेरोनले टोड्केलाई र कोइलीले मयुरलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेका थिए। सेमिफाइनलको रनसनीपूर्ण खेलमा भने भङ्गेराले मुनाललाई र कोइलीले हेरोनलाई पाखा लगाउदै उपाधिका लागि हुने अन्तिम प्रतिस्पर्धाको खेलका लागि फड्को मार्न सफल भएका थिए। यसैगरी, टु प्वाइन्ट्स फ्रि थ्रो प्रतिस्पर्धामा सौरभ श्रेष्ठले बाजी मारे भने, थ्रि प्वाइन्टस् फ्रि थ्रो प्रतिस्पर्धामा नितिश भट्ट, साङ्गे पाल्देन शेर्पा र सदिप तामाङ क्रमश: प्रथम, दुतीय र तृतिय हुन सफल भए।

प्रवासी नेपाली समुदायका युवा तथा बालबालिकाहरुलाई शारीरिक तथा मानसिक वृति विकासको महत्वपूर्ण पाटो खेलकुद तथा शारीरिक व्यायाममा सक्रिय बनाउने, समुदाय भित्र रहेका प्रतिभाहरुको पहिचान गर्ने, उनीहरुलाई आफ्नो प्रतिभाहरु प्रस्फुटन गर्ने अवसर जुटाइदिने र सामाजिक एकता कायम गर्न सहयोगी भूमिका निर्वाह गर्ने मुख्य उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको थियो।

आयोजकले प्रतियोगितामा भाग लिन चाहने खेलाडीहरुलाई अनलाइन मार्फत नि:शुल्क नाम दर्ता गर्ने व्यवस्था मिलाएको थियो। दर्ता भएका खेलाडीहरुलाई एकआपसमा मिलाएर नेपालमा पाइने पंक्षीहरुको नामको आधारमा ८ टिमको निर्माण गरिएको थियो। जसमा कूल ५७ जना खेलाडीहरु समेटिएका थिए। प्रतियोगितामा निर्मल कार्की, शौरभ शेर्चन, शंकर क्षेत्री र बिक्रम जोशीले रेफ्रीको भूमिका निर्वाह गरेका थिए भने, स्कोर टिपोटको भूमिका मिलन कुमार कार्कीले निभाएका थिए।

समृद्ध र सभ्य समाज निर्माणका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने ‘स्वास्थ्य, कल्याण, समुदाय र सामुहिक कार्य’ लाई आफ्नो मूल मन्त्र बनाएर सक्रिय हुदै आएको खेलकुद आइएनसि(Khelkud INC)ले उक्त प्रतियोगिता गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, अमेरिका(NRNA), म्यासाच्युसेट्स च्याप्टरसंगको समन्वयमा सम्पन्न गरेको हो।

प्रतियोगितामा अपेक्षा गरिएको भन्दा बढी खेलाडीहरुले भाग लिएको र सफलता पूर्वक कार्यक्रम सम्पन्न भएको प्रतिक्रिया दिदै खेलकुद आइएनसिका अध्यक्ष रन्जन दाहालले निकै खुशी व्यक्त गरे। अध्यक्ष दाहालले समन्वयकारी भूमिका निर्वाह गर्ने एनआरएनए, मासाच्युसेट्स च्याप्टर परिवार, प्रतियोगिता गराउने खेल स्थान उपलब्ध गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने दिपेन्द्र सुवेदी, कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न अमूल्य योगदान पुर्याउने कार्यक्रम संयोजक साङ्गे पाल्देन शेर्पा, पत्रकार, फोटोग्राफर, कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु, सहभागी खेलाडीहरु, रेफ्रीहरु, स्वयंसेवकहरु तथा अन्य सहयोगीहरुलगायतलाई धन्यवाद व्यक्त गरेका छन्।

प्रवासी नेपाली युवाहरु मिलेर खेलकुद क्षेत्रमा विविध क्रियाकलापहरु गर्ने मुख्य उद्देश्य लिइ सन् २०२३ मा विधिवत् रुपमा गठित यस संस्थाले स्थापना कालदेखि नै खेलकुदका विविध क्रियाकलापहरु गर्दै आइरहेको छ।