मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

माइली राईलाई अमेरिकाका नुवाकोटबासीद्वारा सहयोग

माइली राईलाई अमेरिकाका नुवाकोटबासीद्वारा सहयोग


टेक्सस । केहि दिन अघि लोग्ने गुमाएर शववाहन र लाशको सदगत गर्ने पैसा समेत नभएर पीडामा गुज्रिएकी नुवाकोटकी माईली राईलाई टेक्ससको ड्यालस फ़ोर्टवर्थका नेपालीहरुबाट संकलित दुईलाख ७० हजार रुपैयाँ आइतबार हस्तान्तरण गरिएको छ ।

खानेकुरा समेत नभएर पीडामा गुज्रिएकी माईलीको सहयोगका लागि काठमाडौँमा पत्रकारिता गर्दै आएका पत्रकारहरुको संस्था ‘नुवाकोट काठमाडौँ पत्रकार समाज’ को आव्हानमा अमेरिकाका नुवाकोटबासीले उक्त रकम २४ घण्टामा संकलन गरेर पठाएका हुन् । आइतबार ड्यालस-फोर्टवर्थका व्यवसायी देबेन्द्र गजुरेलको उपस्थितिमा संकलित रकम हस्तान्तरण गरिएको छ ।

ड्यालस फोर्टवर्थका नुवाकोटे र पत्रकारहरुबाट संकलित तीनलाख एकसय पाँच रुपैयाँ माईलीलाई हस्तान्तरण गरिएको थियो ।

माइलीका श्रीमान् पाण्डवको मृत्यु भएपछि पैसा नभएर आर्यघाटसम्म रिक्सामा शव लगिएको हृदयविदारक घटना सार्वजनिक भएसँगै पत्रकार समाजको सक्रियतामा अमेरिका र नेपालमा संकलन गरिएको सहयोग आइतबार उपलब्ध गराइएको हो ।

कम पशुपतिको क्रियापुत्री भवनको १०७ नम्बर कोठामा पुगेर नुवाकोट–काठमाडौँ पत्रकार समाजका संयोजक रमेश जमकट्टेल र अमेरिका निवासी नुवाकोटका व्वयसायी देवेन्द्र गजुरेलले माइलीलाई संयुक्त रूपमा हस्तान्तरण गरे ।

रकम हस्तान्तरण गर्दै संयोजक जमकट्टेलले दुखद् घडीमा पत्रकारको समूह र प्रवासमा रहेका नुवाकोटवासीहरुले उपलब्ध गराएको सानो सहयोगले शोकमा रहेका परिवारलाई केही राहत मिल्ने विश्वास व्यक्त गरे ।

त्यस्तै गजुरेलले जन्मभूमिमा एकजना नुवाकोटको परिवारलाई परेको पीडालाई सहन नसकेर नुवाकोटबासी अमेरिकीहरुबाट रकम पठाएको उल्लेख गर्दै आपत् विपदमा प्रवासमा रहेका नेपालीहरूले निरन्तर सहयोग गरिरहेको र भोलिका दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सहयोग रकम ग्रहण गर्दै माइली राईले आपत् परेका बेला सबै नेपालीहरू एकजुट भएको र प्राप्त सहयोगले आफूलाई परिवार चलाउन राहत मिल्ने बताइन् ।

सहयोग हस्तान्तरणका क्रममा समाजका सहसंयोजक नवराज घिमिरे, सदस्य प्रकाश पुडासैनी तथा अग्रज पत्रकार श्याम रिमाललगायतको उपस्थिति थियो ।

यसैबिच हालसम्म माइलीको परिवारलाई विभिन्न व्यक्तित्वहरूबाट करिब १८ लाख हाराहारीमा आर्थिक सहयोगसहित खाद्यान्न र अन्य सामग्री समेत जुटेको बताइएको छ ।

गत फागुन २६ गते रिक्सा चलाउने काम गर्ने पाण्डव राईको निधन भएको थियो भने उनको परिवार काठमाडौँको खुसिबुुमा बस्दै आइरहेको थियो । पाण्डवको मृत्यु भएपछि आर्यघाटसम्म शव लैजाने पैसा समेत नभएपछि परिवार र नातेदारको केही व्यक्तिहरूले रिक्सामा हालेर शवलाई पशुपति आर्यघाटमा पुर्‍याएका थिए । तर त्यहाँ जलाउने पैसा समेत नभएपछि उनीहरूले समाजसेवी नरोत्तम वैद्यलाई सम्पर्क गरेका थिए । वैद्यले तत्काल त्यहाँ पुगेर शव जलाउने र क्रियापुत्री भवनमा बस्ने प्रबन्ध गरिदिएका थिए ।