मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   
बोस्टन   

बोस्टनमा खुला बास्केटबल प्रतियोगिता हुने

बोस्टनमा खुला बास्केटबल प्रतियोगिता हुने


अमेरिकाको म्यासाच्युसेट्स राज्यको बोस्टनमा खुला बास्केटबल प्रतियोगिता हुने भएको छ। प्रवासी नेपाली युवाहरु मिलेर खेलकुद क्षेत्रमा विविध क्रियाकलापहरु गर्ने मुख्य उद्देश्य लिइ गठन गरिएको खेलकुद आइएनसि(Khelkud INC)ले उक्त प्रतियोगिता गर्न लागेको हो। प्रतियोगिता यही आउदो मार्च १७ तारिख आइतवारका दिन 47 Elm st. Everett, MA-02149 स्थित Everett Recreation Center मा आयोजना गरिदै छ। समृद्ध र सभ्य समाज निर्माणका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने ‘स्वास्थ्य, कल्याण, समुदाय र सामुहिक कार्य’ लाई आफ्नो मूल मन्त्र बनाएर सक्रिय हुदै आएको खेलकुद आइएनसि(Khelkud INC)ले गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, अमेरिका(NRNA), म्यासाच्युसेट्स च्याप्टरसंग समन्वय गरेर उक्त प्रतियोगिता गर्न लागेको हो।

आयोजकले जनाए अनुसार प्रतियोगितामा भाग लिनका लागि नि:शुल्क नाम दर्ताको व्यवस्था गरिएको छ भने, विजेता र उपविजेतालाई आकर्षक पुरस्कारकोसमेत व्यवस्था गरिएको छ। प्रतियोगिताको बारेमा जानकारी दिदै प्रतियोगिता आयोजक संस्थाका अध्यक्ष रन्जन दाहालले प्रवासी नेपाली समुदायका युवा तथा बालबालिकाहरुलाई शारीरिक तथा मानसिक वृति विकासको महत्वपूर्ण पाटो खेलकुद तथा शारीरिक व्यायाममा सक्रिय बनाउने, समुदाय भित्र रहेका प्रतिभाहरुको पहिचान गर्ने, उनीहरुलाई आफ्नो प्रतिभाहरु प्रस्फुटन गर्ने अवसर जुटाइदिने र सामाजिक एकता कायम गर्न सहयोगी भूमिका निर्वाह गर्ने मुख्य उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको बताए।

उनका अनुसार प्रतियोगितामा भाग लिनका लागि इच्छुक खेलाडीहरुले अनलाइनमार्फत आफ्नो नाम दर्ता गर्न सक्ने छन्। दर्ता भएका खेलाडीहरुलाई आयोजकले खेल मैदानमै एकआपसमा मिलाएर टिमहरु निर्माण गर्ने र उनीहरुका बिच मैत्रीपूर्ण प्रतिस्पर्धा गराउने छ। यसो गर्दा खेलाडीहरुकाबिच आत्मीय सम्बन्ध तथा भातृत्वमा बृद्धि हुने र समूहमा मिलेर काम गर्ने सीपहरुको पनि विकास हुने आयोजकले विश्वास लिएको छ।

उक्त प्रतियोगिताका लागि नाम दर्ता खुला भइसकेको र हालसम्म ४० जनाले आफ्नो नाम दर्ता गरिसकेको अध्यक्ष दाहालले जानकारी दिए। नाम दर्ताका लागि अझै एक हप्ता बाँकी भएकाले खेलाडीहरुको संख्या अझै बढ्ने अपेक्षा अध्यक्ष दाहालले गरेका छन्। उनले इच्छुक खेलाडिहरुलाई प्रतियोगितामा भाग लिन र नेपाली समुदायलाई प्रतियोगिता अवलोकन गर्नका लागि खेल मैदानमा उपस्थित हुन अनुरोधसमेत गरेका छन्।

बोस्टनबासी रन्जन दाहाल र साङ्गे पालदेन शेर्पासहितका युवाहरुको सक्रिय पहलकदमीले सन् २०२३ मा विधिवत् गठित यस संस्थाले स्थापना कालदेखि नै खेलकुदका विविध क्रियाकलापहरु गर्दै आइरहेको छ। भावी दिनमा खेलकुद दिवससमेत मनाउने लक्ष्य राखेर सक्रिय रहेको यस संस्थाले, गर्मी छुट्टिका बेलामा नेपाली समुदायका बालबालिकाहरुका लागि खेलकुद शिविर गर्नका लागि आवश्यक गृहकार्यसमेत सुरु गरिसकेको छ।