मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बोस्टन   
मुख्य समाचार   

११४औँ अन्तर्राष्ट्रिय नारी दिवस पारेर बोस्टनमा कार्यक्रम गरियो

११४औँ अन्तर्राष्ट्रिय नारी दिवस पारेर बोस्टनमा कार्यक्रम गरियो


अमेरिकाको बोस्टन स्थित नेपाली वोमन्स ग्लोबल नेटवर्क, न्यू इग्ल्याण्ड च्याप्टर(एनडब्लुजिएन)ले ११४औँ अन्तर्राष्ट्रिय नारी दिवस पारेर ”नारीमा लगानी गर्नुहोस्: प्रगतिलाई गति दिनुहोस्”(Invest in women: Accelerate progress) भन्ने मूल नाराका साथ एक कार्यक्रम सम्पन्न गरेको छ। हरेक वर्ष झैं यस वर्ष पनि मार्च ८ तारिखमा पर्ने अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर आज मार्च ३ तारिख आइतवारका दिन कार्यक्रम गरिएको हो। दिवस मनाउन आयोजना गरिएको उक्त कार्यक्रम, नारीहरुको महत्व, अवस्था, भूमिका, अधिकार, सशक्तिकरण, जिम्मेवारी, अवसर, चुनौतिलगायत मुद्दाहरुमा केन्द्रित रहेको थियो। नेपालको राष्ट्रिय गान र अमेरिकाको राष्ट्रिय गानको धुन बजाएर सुभारम्भ गरिएको कार्यक्रमको उद्घाटन, कार्यक्रमकी प्रमुख अतिथि डा.विद्या रञ्जितले पानसमा बत्ती बलेर गरेकी थिइन्।

प्रमुख अतिथि : विद्या रन्जित सम्बोधन गर्दै।

प्रमुख अतिथि रञ्जितले कार्यक्रमलाई सम्बोधन गर्दै नारी र पुरुषमा समान अधिकारको सुनिश्चतता हुनु पर्नेमा जोड दिइन्। उनले नारी पछि पर्नुको दोष समाजलाई मात्र लगाएर नहुने र नारी आफै पनि परिवर्तन हुनु पर्नेमा जोड दिइन्। सम्बोधनका क्रममा प्रमुख अतिथि रञ्जितले नारीलाई सवल र सक्षम बनाउन सम्पत्ति माथिको समान अधिकारको सुनिश्चितता हुनु पर्ने बताउदै पैतृक सम्पत्तिको भागबन्डा विना भेदभाव सबै सन्तानहरु(छोरा र छोरी)का बिच बराबरी रुपमा गरिनु पर्नेमा जोड दिइन्। उनले कार्यक्रममा पुरुषहरुको बाक्लै उपस्थित रहेकोमा खुशी व्यक्त गर्न भ्याइन्। आफ्नो जीवनको संघर्षशील क्षणहरुको स्मरण गर्दै प्रमुख अतिथि रन्जितले नारी सदैव कृतज्ञ, खुशी, परिवर्तनशील, सहयोगी हुन सक्नु पर्नेमा जोड दिइन्।

एनडब्लुजिएन(NWGN)की अध्यक्ष : कल्पना श्रेष्ठ धन्यवाद मन्तव्य व्यक्त गर्दै ।

कार्यक्रमकी प्रमुख अतिथि, अतिथि तथा सहभागीहरुलाई संस्थाकी वरिष्ठ उपाध्यक्ष रोशना घिमिरेले स्वागत गरेकी थिइन्।कार्यक्रममा सहभागी गैर आवासीय नेपाली संघ, अमेरिकाको म्यासाच्युसेट्स च्याप्टरका अध्यक्ष प्रचण्ड श्रेष्ठ, पशुपतिनाथ बुद्ध फाउण्डेशन अफ न्यू इङल्याण्डको कार्यसमितिकी वरिष्ठ उपाध्यक्ष एलिना श्रेष्ठ, मितेरी समूहका अध्यक्ष प्रतिक भण्डारी र ग्रेटर बोस्टन नेपाली कम्युनिटी(जिबिएनसि)की सदस्य अस्मि पोख्रेलले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। उनिहरुले ११४औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सबैलाई शुभकामना व्यक्त गर्दै कार्यक्रमको सफलताको कामना गरेका थिए। महासचिव रुपा बास्तोला र सहकोषाध्यक्ष रिम्शा पनेरुले संयुक्त रुपमा सञ्चालन गरेको कार्यक्रममा, बबिता पोख्रेलले प्रेरणादायी आफ्नो सफलताको कथा प्रस्तुत गरेकी थिइन् भने, वित्तीय साक्षरता अधिकृत च्यान्थी खुअन्(Chanthy Khuon) ले सामाजिक सुरक्षा कार्यक्रमका बारेमा र रन्जन दाहालले सामाजिक सञ्जालको प्रयोग, चुनौति र सुरक्षाका बारेमा महत्वपूर्ण जानकारी दिएका थिए।

कलाकार द्वय प्रतिमा खड्का र जेसिका लामा नृत्य प्रस्तुत गर्दै ।

कार्यक्रममा नेपालीपन झल्काउन र माहोललाई रमाइलो बनाउन नेपाली भेषभुषामा सजिएका कलाकारहरु रोनिस्का थापा, रिना थापा, प्रतिमा खड्का र जेसिका लामाले नेपाली गीतहरुमा आकर्षक नृत्यहरु प्रस्तुत गरेका थिए। कार्यक्रमको अन्तमा कार्यक्रम आयोजक संस्था एनडब्लुजिएन(NWGN)की अध्यक्ष कल्पना श्रेष्ठले कार्यक्रम सफल बनाउने हेतुले कार्यक्रममा सहभागिता जनाउने प्रमुख अतिथि, अतिथिहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, मितेरी समूह, पत्रकार, फोटोग्राफर, प्राविधिक, कलाकारहरु, अन्य सहभागीहरु, कार्यक्रम आयोजक संस्था परिवारलगायतलाई धन्यवाद व्यक्त गरिन्। उनले कार्यक्रमको समापन गर्ने क्रममा अन्तर्राष्ट्रिय नारी दिवसको शुभकामनासमेत व्यक्त गरेकी थिइन् भने, सहभागीहरुले पनि एक आपसमा शुभकामना आदानप्रदान गरेका थिए।

एनडब्लुजिएन(NWGN)की रिना थापा नृत्य प्रस्तुत गर्दै।

एनडब्लुजिएन(NWGN) नारी सशक्तिकरणको क्षेत्रमा केन्द्रिकृत भएर काम गर्ने मुख्य उद्देश्यले सन् २००२मा स्थापना भएको संस्था हो। यसले आफ्नो क्षेत्र विस्तार गर्ने क्रममा सन् २०१६ मा न्यू इंग्ल्याण्ड च्याप्टर, बोस्टनको स्थापना गरेको थयो। यस च्याप्टरले आफ्नो स्थापनाकालदेखि नै नेपाली समुदायका बिच बेलाबखतमा नारी केन्द्रित कार्यक्रमहरु गर्दै आइरहेको छ।

प्रविधिको प्रयोग र साइबर सुरक्षाको बारेमा जानकारी दिदै रन्जन दाहाल ।