मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

न्युयोर्क   
मुख्य समाचार   

गौलीको नेतृत्वमा एलआइएनएस, न्यू योर्कको नयाँ कार्यसमिति चयन

गौलीको नेतृत्वमा एलआइएनएस, न्यू योर्कको नयाँ कार्यसमिति चयन


कुल प्रसाद गौली(राजन)

न्यू योर्क- अमेरिकाको न्यू योर्क स्थित प्रवासी नेपालीहरुको संस्था ‘लङ्ग आइल्याण्ड नेपाली समाज, न्यू योर्कको हालै सम्पन्न ७औं अधिवेशनले कुल प्रसाद गौली(राजन)को नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। गत फेब्रुअरी २४ तारिख शनिवारका दिन सम्पन्न अधिवेशनले आगामी दुइ वर्षीय कार्यकाल(२०२४-२०२६)का लागि नयाँ कार्यसमिति चयन गरेको हो। सहमतिबाटै नयाँ कार्यसमिति चयन गर्ने प्रयास असफल भएपछि, संस्थाको इतिहासमै पहिलो पटक मतदान प्रक्रियाबाट छिनोफानो गरिएको हो। निर्वाचन परिणाम अनुसार कुल प्रसाद गौली(राजन)ले २९३ मत प्राप्त गरी २४० मत प्राप्त गर्ने अध्यक्ष पदका अर्का प्रत्याशी बाबुराम शर्मालाई पछाडि पार्दै संस्थाको बागडोर आफ्नो हातमा लिन सफल भएका हुन्।

यसैगरी, निर्वाचन परिणाम अनुसार बरिष्ठ उपाध्यक्षमा गौलीकै समूहबाट चुनावी मैदानमा होमिएकी सावित्रा शिवाकोटीले २८४ मत ल्याइ विजयी हुन सफल भइन्। उनको प्रतिस्पर्धी शर्माको समूहमा रहेर चुनावमा होमिएका बाबुराजा सिंहा(अमित) २३९ मतमा सिमित भएका थिए। उपाध्यक्ष पदमा पनि गौलीकै समूहका गोकुल सापकोटा(२७४) र इन्दिरा सिंखडा(२६४) विजयी भएका छन्। उनीहरुले शर्माको समूहबाट चुनावी मैदानमा होमिएका द्वय विशाल रेग्मी(बिसु)(२४४) र रुपा भण्डारी(२३६)लाई पराजित गर्न सफल भएका थिए। महासचिव पदमा पनि गौली समूहकै उमेदवारले बाजी मारेका छन्। शर्मा समूहमा रहेर महासचिव पदमा प्रत्याशी भएका शंकरराज भण्डारीलाई ६ मतको झिनो अन्तरले पराजित गर्दै गौली समूहका राजेन्द्र कार्की विजयी हुन सफल भए। कार्कीले २५३ र भण्डारीले २४७ मत प्राप्त गरेका थिए।

सचिव पदमा भने मिश्रित नतिजा आएको छ। गौली समूहका दिपक अधिकारी(२७१) र शर्मा समूहका मन क्षेत्री(मोहन) (२६५) विजयी भएका छन् भने, गौली समूहका चन्द्र ब. पराजुली(२६३) र शर्मा समूहका रमेश सत्याल(२२८) पराजित भए। कोषाध्यक्षमा भने शर्मा पक्षका निर्मल थपलिया(२६६) ले गौली पक्षका सुरज पोख्रेल(२५६) लाई पराजित गरेर जित हात पार्न सफल भए। सहकोषाध्यक्ष पदमा दुइ मतको अन्तरले गौली समूहका राम कु राई(२६२) विजयी भए। उनले शर्मा समूहबाट चुनावी मैदानमा उत्रिएकी इन्दु थापा(२६०)लाई पराजित गरेका थिए।

यसैगरी, सदस्यहरुमा डाक्टर यमराज गिरी(२९१), रोशनी सिटौला(२९०), विकास मैनाली(२८८), ज्ञानु चन्द(२७३), अम्बिका फुयाल(२७०), बिमला भण्डारी(२७०), नमिता पौडेल(२६९), रबि खड्का(२६९), सुमन बास्तोला(२५९), राज कुमार तामाङ(२५०), निरज सापकोटा(२४७) र सुजन रेग्मी(२४७) विजयी भएका छन्।

निर्वाचनको नतिजा सार्वजनिक भएसंगै नव निर्वाचित अध्यक्ष गौलीले सहमतिमै अघि बढ्ने प्रयास असफल भए पश्चात अन्तिम टुंगोमा पुग्न गरिएको मतदान प्रक्रिया हार्दिकताका साथ सम्पन्न भएको बताए। उनले अब मत परिणाम पश्चात् विगतका तिक्तता सबै भुलेर संस्था र समूदायको हितार्थ एकबद्ध भएर अघि बढ्नु पर्ने प्रतिक्रिया दिए। अध्यक्ष गौलीले आफूलाई संस्थाको ठूलो कार्यभारको जिम्मेवारी प्राप्त भएकाले त्यसलाई पूरा गर्न सबैलाई समेटेर अघि बढ्ने प्रतिक्रिया दिए। उनले आफूसंगै विजयी हुनेहरुलाई बधाई दिदै निर्वाचनमा होमिएका प्रत्याशी उमेदवारहरु, निर्वाचन समिति, मतदाताहरु, पूर्व कार्यसमिति, सल्लाहकारलगायत सहयोगी तथा शुभचिन्तकहरुलाई पनि अधिवेशन सफलता पूर्व सम्पन्न गर्न पुर्याएको योगदानप्रति धन्यवाद ज्ञापन गरे। संस्थाको स्थापनाकालदेखिनै संस्थामा क्रियाशील रहेका अध्यक्ष गौलीले संस्थाको महासचिव, उपाध्यक्ष र वरिष्ठ उपाध्यक्षको जिम्मेवारी निर्वाह गरिसकेका छन्।

यो संस्था अमेरिकाको न्यू योर्क राज्यमा बसोवास गर्ने प्रवासी नेपलीहरुको हितार्थ सन् २०१० मा स्थापना भएको हो। हाल यस संस्थामा ७०८ जना सदस्यहरु रहेका छन्। यस संस्थाले आफ्नो स्थापनाकालदेखि नै विभिन्न सामाजिक क्रियाकलापहरु गर्दै आइरहेको छ।