मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बोस्टन   
मुख्य समाचार   

एनआरएनएको संयोजनमा आयोजित कन्सुलर सेवा घुम्ती शिविरबाट २५५ जना लाभान्वित

एनआरएनएको संयोजनमा आयोजित कन्सुलर सेवा घुम्ती शिविरबाट २५५ जना लाभान्वित


अमेरिकाको बोस्टनमा आयोजित दुइ दिने कन्सुलर सेवा घुम्ती शिविरबाट २५५जना सेवाग्राहीहरु लाभान्वित भएका छन्। गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, अमेरिकाको म्यासाच्युसेट्स र न्यू हेमसायर च्याप्टरको संयोजनमा, न्यू योर्क स्थित नेपाली महावाणिज्यदूतावासले फेब्रुअरी ३ र ४ तारिख सञ्चालन गरेको घुम्ती शिविरबाट, २३७जनाले पास्पोर्ट नविकरण सेवा र १८जनाले अन्य सेवाहरु लिएर लाभान्वित भएका हुन्। एनआरएनए, एनसिसि, अमेरिकाको मासाच्युसेट्स च्याप्टरका अध्यक्ष प्रचण्ड श्रेष्ठले दिएको जानकारी अनुसार, दुइ सय सेवाग्राहीहरुलाई सेवा प्रदान गर्ने लक्ष्य राखिएको शिविरको पहिलो दिन १३३ जनाले र दोश्रो दिन १२२ जनाले सेवा प्राप्त गरेका थिए।

उक्त शिविरबाट सेवा प्राप्त गर्नेहरुमा म्यासाच्यूसेट्स राज्यसहित छिमेकी राज्यहरु न्यू हेमसायर, रोड आइल्याण्ड, भर्मोन्ट, मेन, कनेक्टिकट राज्यमा बसोवास गर्ने प्रवासी नेपालीहरु रहेका थिए। अध्यक्ष श्रेष्ठले शिविरबाट लक्ष्य गरिएभन्दा ५५ जना बढी सेवाग्राहीहरुलाई सेवा प्रदान गर्न सकिएकोमा खुशी व्यक्त गरेका छन्। उक्त कन्सुलर सेवा घुम्ती शिविरबाट सेवाग्राहीहरुलाई राहदानी नविकरण, गैर आवासीय नेपाली परिचयपत्रको आवेदन संकलन, अधिकृत वारेशनामा प्रमाणिकरण(Power of Attorney), कागजात प्रमाणिकरण(Attestation), पर्यटक भिषा जारी(Tourist Visa), अन्य Attestation सम्बन्धी कागजातहरुका सेवाहरु प्रदान गरिएको थियो।

अध्यक्ष श्रेष्ठले कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको प्रतिक्रिया दिएका छन्। सिमित समय, श्रोत र साधनका बावजुद पनि, लक्ष्य गरिएभन्दा बढी सेवाग्राहीहरुलाई सेवा प्रदान गर्न सकिएकोमा खुशी व्यक्त गर्दै उनले भने, ‘ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको ठानेका छौं। लक्ष्य भन्दा बढी सेवाग्राहीहरुलाई सेवा प्रदान गर्न सकिएकोमा खुशी छौं। सेवा लिन चाहने सबैलाई सेवाहरु दिने चाहना हुँदा हुँदै पनि, पर्याप्त समय र सेवा प्रदान गर्ने जनशक्तिको अभावका कारण सम्भव भएन। त्यसप्रति दु:खी छौं।’

अध्यक्ष श्रेष्ठले शिविर निकै प्रभावकारी भएको बताउदै थपे, ‘सबै उपस्थित सेवाग्राहीहरुलाई छिटो छरितो गुणस्तरीय सेवा प्रदान गर्न हामीले सक्दो प्रयास गर्यौं।’ कार्यक्रमबाट अमूल्य पाठ सिकाइ पनि भएको बताउदै उनले भावी दिनहरुमा कार्यक्रमलाई थप प्रभावकारी र गुणस्तरीय बनाउन महावाणिज्यदूतावाससंग समन्वय गरी आवश्यक पहलकदमी गर्ने बताए। उनले शिविरलाई सफलतापूवर्क सम्पन्न गर्न अहोरात्र खट्ने महावाणिज्यदूतावासका कर्मचारीहरु, एनआरएनका पदाधिकारी तथा सदस्यहरु, सहयोगी संघ संस्थाका प्रतिनिधिहरु, स्वयंसेवकहरुलगायत सेवा लिने सेवाग्राहीहरुसमेतलाई संस्थाको तर्फबाट धन्यवाद ज्ञापन गरेका छन्।

घुम्ती शिविरमा सेवा लिन आउने सेवाग्राहीहरुको प्रवाह हेर्दा सेवा प्रदान गर्ने जनशक्ति र शिविर सञचालनको समयावधि अपर्याप्त रहेको पुष्टि भएको छ। त्यसैले, यस किसिमको कन्सुलर सेवाहरु प्रदान गर्ने घुम्ती शिविर निकै प्रभावकारी देखिएकाले भावी दिनहरुमा पनि प्राथमिकताका साथ निरन्तरता दिदै सेवाग्राहीहरुको संख्यालाई मध्यनजर गरी सोही बमोजिम बेला बेलामा पर्याप्त समय र जनशक्तिसहित आवश्यक संख्यामा आयोजना गर्नु पर्ने देखिन्छ।