मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बोस्टन   
मुख्य समाचार   

बोस्टनमा सञ्चालित कन्सुलर सेवा घुम्ती शिविरमा सेवाग्राहीहरुको घुइचो

बोस्टनमा सञ्चालित कन्सुलर सेवा घुम्ती शिविरमा सेवाग्राहीहरुको घुइचो


अमेरिकाको बोस्टनमा सञ्चालित दुइ दिने कन्सुलर सेवा घुम्ती शिविरको पहिलो दिन, सेवाग्राहीहरुको घुइचो लाग्यो। गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, अमेरिकाको म्यासाच्युसेट्स र न्यू हेमसायर च्याप्टरको संयोजनमा नेपाली महावाणिज्यदूतावासले घर दैलोमै सञ्चालन गरेको घुम्ती शिविरबाट आवश्यक सेवाहरु लिन सेवाग्राहीहरुको घुइचो लागेको हो।

Alewife Brook Park way, Cambridge, MA-02138 मा बिहानैदेखि सुरु गरिएको शिविरमा, साँझ अबेरसम्म पनि सेवाग्राहीहरुको उपस्थिति बाक्लै रहेको थियो। शिविरबाट सेवा लिनेहरुमा म्यासाच्यूसेट्स राज्यसहित छिमेकी राज्यहरु न्यू हेमसायर, रोड आइल्याण्ड, भर्मोन्ट, मेन, कनेक्टिकट राज्यहरुमा बसोवास गर्ने प्रवासी नेपालीहरु रहेका थिए। शिविरबाट पहिलो दिन १३३ जना ( ११७ जनाले पास्पोर्ट नविकरण र १६ जनाले अन्य सेवाहरु)सेवाग्राहीहरुले सेवाहरु लिएको एनआरएनए, राष्ट्रिय समन्वय परिषद, अमेरिकाको मासाच्युसेट्स च्याप्टरका अध्यक्ष प्रचण्ड श्रेष्ठले जानकारी दिए। उनका अनुसार अपेक्षा गरिए भन्दा निकै बढी संख्यामा सेवाग्राहीहरु पहिलो दिनमै आएको र सिमित जनशक्तिका कारण प्रारम्भमा व्यवस्थापन गर्न केही कठिनाइ भएको बताए। उनका अनुसार सेवाग्राहीहरुको सुविधालाई ध्यानमा राखेर बिहान ९ बजेबाट सुरु गरिएको सेवा, साँझ साँडे आठ बजेसम्म प्रदान गरिएको थियो।

अध्यक्ष श्रेष्ठले सिमित श्रोत र साधनको बावजूद पनि अत्यधिक सेवाग्राहीहरुलाई सेवा प्रदान गर्न सकिएकोमा खुशी व्यक्त गरेका छन्। उनले शिविर सञ्चालनका क्रममा बिहानैदेखि अनवरत खट्ने महावाणिज्यदूतावासका कर्मचारीहरु, एनआरएनका पदाधिकारी तथा सदस्यहरु, सहयोगी संघ संस्थाका प्रतिनिधिहरु, स्वयंसेवकहरुलगायत सेवा लिने सेवाग्राहीहरुसमेतलाई धन्यवाद दिएका छन्। अध्यक्ष श्रेष्ठले दोश्रो दिन अर्थात् फेब्रुअरी ४ तारिकमा पनि बिहान ९ बजेदेखि नै सेवा प्रदान गर्न सुरु गरिने र ३ बजे बन्द गरिने जानकारी दिदै सेवाग्राहीहरुलाई समयमै सेवा प्रदान गरिने स्थानमा आएर सेवा लिन अनुरोध गरेका छन्।

उक्त कन्सुलर सेवा घुम्ती शिविरमार्फत सेवाग्राहीहरुलाई राहदानी नविकरण, गैर आवासीय नेपाली परिचयपत्रको आवेदन संकलन, अधिकृत वारेशनामा प्रमाणिकरण (Power of Attorney), कागजात प्रमाणिकरण(Attestation), पर्यटक भिषा जारी(Tourist Visa), अन्य Attestation सम्बन्धी कागजातहरुका सेवाहरु प्रदान गरिदै छ। शिविरमार्फत छिटो, छरितो, चुस्त, दुरुस्त र गुणस्तरीय सेवाहरु प्राप्त गर्नका लागि तोकिएको प्रक्रिया पुरा गरी र आवश्यक शुल्क तथा कागजातहरुको व्यवस्था गरी सेवा लिन आउन महावाणिज्यदूतावासले सेवाग्राहीहरुलाई अनुरोध गरेको छ।

यस सम्बन्धमा थप जानकारीका लागि यहाँ क्लिक गर्नु होला।