मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   
मुख्य समाचार   

भ्रष्टाचार नियन्त्रणमा राज्य निर्मम हुनुपर्छ : अध्यक्ष तिमिल्सिना

भ्रष्टाचार नियन्त्रणमा राज्य निर्मम हुनुपर्छ : अध्यक्ष तिमिल्सिना

केशव भट्टराई

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भ्रष्टाचार नियन्त्रणमा सरकार निर्मम बन्नुपर्ने बताएका छन् ।

रत्ननगरको टिकौली चौरमा रत्ननगर महोत्सवको १२औँ संस्करण उद्घाटन गर्दै उनले देशमा दूरगामी प्रभाव पार्ने विकासका योजनाको काम हुँदासमेत भ्रष्टाचारका कारण राम्रा कामहरु ओझेलमा परेको बताए ।

बढ्दो भ्रष्टाचारका कारण युवाहरुमा नकारात्मक सोचको विकास भइरहेको भन्दै उनले भ्रष्टाचार नियन्त्रणमा तीनै तहको सरकार निर्मम हुनुपर्ने बेला आएको बताए । विकास निर्माणको काममा आर्थिक अपचलन हुने गरेको भन्दै अध्यक्ष तिमिल्सिनाले यसलाई रोकेर मुलुकमा सुशासन कायम गर्नुपर्नेमा जोड दिए ।

उनले सरकार र निजी क्षेत्रको सहकार्यमा आर्थिक सङ्कट अन्त्यका लागि पहल सुरू गर्नुपर्ने बताए । भूकम्प र कोरोना महामारीपछि मुलुकको आर्थिक प्रणालीमा असर परेका कारण आर्थिक सङ्कट पैदा भएको भन्दै उनले यसको अन्त्यका लागि सबै क्षेत्र जिम्मेवार हुनुपर्ने बताए ।

‘मुलुकमा आर्थिक सङ्कटको असर चौतर्फीरुपमा रहेको छ’, उनले भने, ‘सङ्कट समाधानका लागि राज्य चनाखो हुनुपर्छ ।’ अध्यक्ष तिमिल्सिनाले निकुञ्जको संरक्षण र जिल्लाको पर्यटनलाई सँगसँगै अगाडि बढाउनुपर्ने बताए ।

मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरण गर्दै स्थानीय समुदायको जीविकोपार्जनलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ । संरक्षणलाई पर्यटनसँग जोडेर आर्थिक विकासका गतिविधि बढाउन उनले सुझाव दिए ।

चितवनमा रेलमार्गको सम्भावना रहेको भन्दै उनले वन र वन्यजन्तुलाई असर नपर्ने गरी रेलमार्ग निर्माणको कामलाई अगाडि बढाउनुपर्ने बताए । ‘निकुञ्जलाई असर गर्छ भनेर रेलमार्ग निर्माणको काम रोकिन हुँदैन’, उनले भने, ‘यो दूरगामी प्रभाव पर्ने काम हुनाले अगाडि बढाउनुपर्छ ।’ आर्थिक मन्दीका बेला रत्ननगरका व्यवसायीले महोत्सव गर्ने आँट गर्नु चानचुने कुरा नभएको भन्दै उनले रत्ननगर महोत्सवले चितवनको आर्थिक क्षेत्र चलायमान गराउने विश्वास व्यक्त गरे ।

कार्यक्रममा प्रतिनिधिसभाका सांसद् हरि ढकालले पूर्वी चितवन विकासको स्रोत बाँडफाँटका हिसाबले विभेदमा परेको बताए । भरतपुरलाई मात्र चितवन मान्ने राज्य सञ्चालकहरुको सोचका कारण पूर्वी चितवन पछाडि परेको उनको भनाइ छ । विकासका मुद्दाहरुमा अबको बहस केन्द्रित हुनुपर्ने भन्दै उनले सौराहाका पर्यटन, रत्ननगर अस्पताल तथा खेल पर्यटनको विकासका लागि बहस चलाउन आवश्यक रहेको बताए ।

रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकोटाले रत्ननगर महोत्सवमा कृषि र पर्यटनलाई महत्त्व दिँदै उद्यमशिलता विकासलाई जोड दिएका कारण स्थानीय सरकारले सहयोग र साथ दिएको बताए ।

उद्घाटन कार्यक्रममा संघका अध्यक्ष शंकर गिरीले जिल्लाको आर्थिक सम्भावनालाई उजागर गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको बताए । उनले देशको आर्थिक प्रणालीमा आएको सङ्कट समाधानका लागि सरकारले नीतिगत सुधार गर्नुपर्ने भन्दै उनले महोत्सवले आर्थिक क्षेत्रलाई चलायमान गराउने बताए । बिहीबारदेखि सञ्चालित महोत्सव माघ ८ गतेसम्म चल्ने छ ।