मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
बोस्टन   
मुख्य समाचार   

बोस्टन तमु समाजद्वारा सहयोगीहरुलाई सम्मान

बोस्टन तमु समाजद्वारा सहयोगीहरुलाई सम्मान


बोस्टन तमु समाजका सम्मानित सक्रिय आमा तथा बाबा समूह ।

अमेरिकाको बोस्टन सहरमा रहेको ‘बोस्टन तमु समाज’ ले संस्थाको गरिमा बढाउन महत्वपूर्ण भूमिका खेल्नेको ठहर गर्दै सहयोगीहरुलाई सम्मान गरेको छ। गत डिसेम्बर २९ तारिख सुक्रवारका दिन संस्थाद्वारा आयोजित ‘२२औं बोस्टन तमु ल्होसार’ कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नेहरुलाई उनीहरुको योगदानको कदर गर्दै प्रशंसासहित सम्मान गरेको हो। संस्थाले गत जनवरी ६ तारिख आइतवारका दिन बोस्टनमा एक कार्यक्रमको आयोजना गरी सम्मानित हुने व्यक्तिहरुलाई खादा लगाएर प्रशंसा-पत्र प्रदान गरेको थियो। सम्मानित हुनेहरुमा ‘२२औं बोस्टन तमु ल्होसार’ कार्यक्रममा सक्रिय कलाकारहरु, नृत्य निर्देशकहरु, कार्यक्रमलाई प्रभाकारी ढंगबाट सफलतापूर्वक सम्पन्न गर्न अहम भूमिका खेल्ने विभिन्न समितिहरुका संयोजकहरु, संस्थाका पूर्व अध्यक्षहरु, पदाधिकारी तथा सदस्यहरु, आमा समूह, बाबा समूह, सहयोगी संघ संस्थाहरु, प्रायोजकहरु, फोटोग्राफर, पत्रकार, डिजे, प्रवासी नेपाली समुदायका अग्रज व्यक्तित्वहरुलगायत रहेका छन्।

बोस्टन तमु समाजद्वारा सञ्चालित ‘नेपाली क्लास बोस्टन’का सहयोगी तथा स्वयंसेवकहरु ।

कार्यक्रमका सहसंयोजक तथा कार्यक्रम सञ्चालक राजु गुरुङले कार्यक्रमलाई औपचारिक, सहयोगीहरुलाई प्रशंसासहित सम्मान र खानपान तथा नाचगान गरी तीन चरणमा बाढेर सञ्चालन गरेका थिए। औपचारिक कार्यक्रमको अध्यक्षता ग्रहण गरेकी संस्थाकी अध्यक्ष निरा गुरुङले आमन्त्रित सहभागीहरुलाई संस्थाको तर्फबाट स्वागत गरेकी थिइन्। अध्यक्ष गुरुङले संस्थाद्वारा आयोजित ‘ल्होसार’ कार्यक्रम भव्यताका साथ सम्पन्न भएको र त्यसले संस्थाको गरिमा निकै बढाएको बताउदै त्यसको श्रेय महत्वपूर्ण भूमिका खेल्ने सबै सहयोगीहरुलाई जाने जिकिर गरिन्। उनले उक्त सफलताले आफूहरुलाई थप उत्प्रेरणा र उर्जा मिलेको तर्क गर्दै अमूल्य योगदान पुर्याउने सबैलाई धन्यवाद ज्ञापन गरिन्। सांस्कृतिक कार्यक्रमकी संयोजक कन्चन गुरुङ र नृत्य निर्देशक अर्पण गुरुङले सहभागीहरुको स्वागतका लागि प्रस्तुत गरेको आकर्षक नृत्यले मनोरञ्जनमा निकै रौनक ल्याएको थियो।

कार्यक्रमका सहसंयोजक तथा कार्यक्रम सञ्चालक राजु गुरुङ

नेपाली र अमेरिकन राष्ट्रिय गानसंगै अगाडि बढाइएको कार्यक्रममा, संस्थाका संस्थापक अध्यक्ष धन कुमार गुरुङले संस्थाका बारेमा प्रकाश पारेका थिए। यस क्रममा उनले संस्थाको स्थापना, उद्देश्य, क्रियाकलापहरु, उपलब्धिहरु, अवसर तथा चुनौतीहरुलगायतका बारेमा संक्षिप्त जानकारी दिएका थिए। संस्थाले स्थापना कालदेखि नै विविधतामा एकताको विशेषता भएको नेपाली समाजलाई जीवन्त राख्न सबै जातजाति तथा भाषाभाषीहरुलाई सक्दो समेट्ने प्रयास गर्दै आएको उनको भनाइ थियो। अनेकताका बिचको एकता नै नेपाली पहिचान र शान भएको तर्क गर्दै संस्थापक अध्यक्ष गुरुङले प्रवासी नेपाली समाज थप एकताबद्ध हुनु पर्नेमा जोड दिएका थिए।

औपचारिक कार्यक्रमको दौरानमा संस्थाका कोषाध्यक्ष उमन गुरुङले कार्यक्रमलाई प्रायोजन गरी सहयोग गर्ने प्रायोजकहरुको संक्षिप्त परिचय प्रस्तुत गर्दै संस्थाको तर्फबाट विशेष धन्यवाद ज्ञापन गरेका थिए। संस्थाकी सचिव कला गुरुङले सहयोगीहरु सबैलाई धन्यवाद ज्ञापन गरेपछि औपचारिक कार्यक्रमलाई बिट मारिएको थियो। सचिव गुरुङले संस्थाले आयोजना गरेको कार्यक्रममा प्रत्यक्ष परोक्ष रुपमा साथ दिने तथा सहयोग गर्ने सबैलाई धन्यवाद दिदै आगामी दिनहरुमा पनि आवश्यक साथ सहयोगका लागि अपिल गरेकी थिइन्।कार्यक्रमको दोश्रो चरणमा संस्थाकी अध्यक्ष निरा गुरुङ, उपाध्यक्ष रोबिन गुरुङ, सचिव कला गुरुङलगायतले सम्मानित व्यक्तित्वहरुलाई खादा लगाएर प्रशंसा-पत्र प्रदान गर्दै सम्मान प्रकट गरेका थिए।

गुरुङ समुदायको पहिचान बोकेको बहु चर्चित ‘घाटु नाँच’ मा नृत्य प्रस्तुत गर्ने कलाकार द्वय आइयाना ज्ञवाली र प्रिसु गुरुङ सम्मान ग्रहण गर्दै ।

कार्यक्रमको अन्तिम चरणमा सांगीतिक माहोलको शृजना भएको थियो। ‘रोधी घरमा नाचगान तथा खानपान’ नाम दिइएको यस चरणमा, संस्थाका संस्थापक अध्यक्ष धन कुमार गुरुङले ‘वारी जमुना… पारी जमुना …’ बोलको लोकप्रीय गीतमा गरेको नृत्यले निकै वा…वाही पाएको थियो। कलाकार बिराज गुरुङले चर्चित नेपाली गीतहरु गाएर सांगीतिक माहोल तताउदा सहभागीहरु नाच्दै गाउदै रमेका थिए। डिजे सन्दिप भट्टाराईले प्रस्तुत गरेको डिजेले सांगीतिक कार्यक्रमलाई सुनमा सुगन्ध थपिदिएको थियो। सहभागीहरुले मौकाको सदुपयोग गर्दै ल्होसार र अंग्रेजी नयाँ वर्षको शुभकामना आदानप्रदानसमेत गरेका थिए। कार्यक्रममा भोजका लागि नेपालीपन, पहिचान र स्वादका मिष्ठान परिकारहरुको पनि व्यवस्था गरिएको थियो।

यस पटक गुरुङ समुदायले ‘हि ल्हो'(बिरालो वर्ग) वर्षलाई बिदाइ गर्दै ‘मुप्र्ही ल्हो'(गिद्ध वर्ग) नयाँ वर्षको स्वागत गरेका छन्। नेपाली पात्रो अनुसार पौष १५ गते अर्थात डिसेम्बर ३१ तारिख आइतवारका दिन ‘तमु ल्होसार’ परेकाले नेपाल र नेपाल बाहिर पनि विविध कार्यक्रमहरु गरेर ‘ल्होसार’ पर्व मनाइयो।

संस्थापक अध्यक्ष धन कुमार गुरुङ ‘वारी जमुना… पारी जमुना …’ गीतमा नृत्य प्रस्तुत गर्दै ।

यसै सिलसिलामा न्यू इंग्ल्याण्ड क्षेत्रमा बसोवास गर्ने प्रवासी गुरुङहरुको संस्था ‘बोस्टन तमु समाज’ले पनि ‘तमु ल्होसार’ विशेष कार्यक्रमको आयोजना गरी मनाएको हो। यस संस्थाले सन् २००१ देखि नै विविध सामाजिक कार्यहरु गर्नुका साथै ‘तमु ल्होसार’ पर्व भव्यताका साथ मनाउदै आइरहेको छ।

सांस्कृतिक कार्यक्रमकी संयोजक कन्चन गुरुङ र नृत्य निर्देशक अर्पण गुरुङ स्वागत गीतमा नृत्य गर्दै ।